ad ad

खेल


अब्बल क्षमताले ‘खुसी’ बनेकी न्यु डायमन्डकी नम्सार

अब्बल क्षमताले ‘खुसी’ बनेकी न्यु डायमन्डकी नम्सार

नम्सार रानामगर। तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
जेठ ११, २०८१ शुक्रबार १०:७, काठमाडौँ

चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड भलिबल क्लबकी सेटर नम्सार रानामगरलाई साथीहरु खुसी भनेर बोलाउँछन्। भलिबल कोर्टमा उनी यही नामले परिचित छिन्।

घरेलु भलिबलमा उमेरसमूहमा नम्सार एक उदीयमान खेलाडी हुन्। सानै उमेर भए पनि उनीसँग कोर्टभित्र दबाबकै बीच टोलीलाई खुसी दिनसक्ने क्षमता छ। यसैले उनलाई ‘खुसी’ बनाएको छ। 

यही जेठ पहिलो हप्ता न्यु डायमन्ड एकेडेमीको १७औँ वार्षिकोत्सव तथा सातौँ भलिबल दिवसमा आयोजित न्यु डायमन्ड कप यू–१८ खुला भलिबल प्रतियोगितामा उनकै टोलीले उपाधि उचाल्यो। उनी उत्कृष्ट सेटर घोषित भइन्। 

चन्द्रागिरि नगरपालिका न्यु डायमन्डबाट खेलेकी उनको टोलीले डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा हरायो। आफूले उपाधि जिते पनि विपक्षी टोलीका खेलाडी रोएको देखेर नमज्जा लागेको खुसीले सुनाइन्। 

डायमन्डले आफ्नो स्थापना दिवस पारेर एकेडेमीमा भलिबल सिकिरहेकालाई दुई समूहमा विभाजन गरेर खेलाएको थियो। बाँकी दुई टोली विद्यालयका थिए। 

बुबाको सपनामा अघि बढेको भलिबल यात्रा 
कक्षा ४ मा पढ्ने बेलामा खुसीले आफ्नो बुबालाई गुमाइन्। त्यसपछि नै उनको भलिबल यात्रा अघि बढेको हो। खुसी आफ्नो भलिबल यात्रालाई बुबाको सपनाको रुपमा लिन्छिन्। यही कारण हो सानै उमेरमा पनि उनमा देखिएको परिपक्वता।  

खुसीका बुबा प्रेमराज राना मगर धनकुटामा नै भलिबल खेल्थे। उनका बुबाले राष्ट्रिय टोलीसम्मको यात्रा त तय गर्न सकेनन् तर धनकुटामा भने राम्रै चर्चा पाएका थिए। खुसीले बुबाको भलिबल खेल हेर्न त पाइनन् तर आफन्त र आमाको मुखबाट भने खुबै चर्चा सुनिन्। अनि सुरु भयो उनको भलिबल यात्रा।  

खुसी अहिले न्यु डायमन्ड एकेडेमीमा कक्षा ८ मा पढ्छिन्। उनी तीन कक्षामा हुँदा डायमन्ड आएकी हुन्। धनकुटाको हिले बजारमा जन्मिएकी खुसी अध्ययनलाई निरन्तरता दिन काठमाडौं आएकी थिइन्। 

डायमन्ड आएको सुरुको १ वर्ष उनले खेलिनन्। दोस्रो वर्ष अर्थात् कक्षा ४ मा पुगेपछि भने उनी खेल्न थालिन्। 

खुसीका बुबा बितेपछि उनको भलिबल यात्रा अघि बढेको हो। खुसीकी आमा अहिले टर्कीमा छिन्। प्रतियोगिताको उपाधि चन्द्रागिरिले उपाधि जित्दा उनकी आमा टर्कीबाट नै प्रत्यक्ष प्रसारण हेरिरहेकी थिइन्। 

आमाले डायमन्डका प्रशिक्षक कुमार राईको मोबाइलमा फोन गरिन् र छोरीसँग कुरा गरिन्। 

आमा टर्कीमा हुँदा खुसी डायमन्डको होस्टल बस्छिन् भने उनका भाइ आफन्तकहाँ बस्छन्। भलिबलको छोटो समयमा पनि उनको यात्रा उतारचढावपूर्ण रह्यो। बीचमा उनले खेल्न छाडिन्। कहिले विद्यालय परिवर्तन गर्ने सोचमा त कहिले आफन्तकहाँ गएर बस्थिन्। स्कुल परिवर्तन गर्ने भनेर उनी खेल्न गइनन्। तर पछि उनले डायमन्डमा नै पढाइलाई निरन्तरता दिँदै खेल्न थालिन्।  

मेलिसा भार्गसकी ‘फ्यान’
तर अब भलिबललाई नै निरन्तरता दिने योजनामा उनी छिन्। डायमन्डकै सिनियर दिदीका खेल हेर्न उनी कभर्डहलसम्म पुगेकी छिन्। डायमन्डमा उनलाई प्रगति नाथ एकदमै मन पर्छ। उनको सपना पनि छ प्रगति जस्तै बन्ने। 

डायमन्डबाहेक उनलाई एपीएफकी सरस्वती चौधरी, निरुता ठगुन्ना, आर्मीको सुनिता र पुलिस क्लबकी उषा भण्डारी राम्रो लाग्छ। यीमध्ये उनी सरस्वतीसँग मात्र बोलेकी छन्। 

अन्तर्राष्ट्रियस्तरमा भने उनलाई टर्किस भलिबल खेलाडी मेलिसा भार्गस मन पर्छ। 

डायमन्डबाट सुरुमा उनी वैकल्पिक खेलाडीको रुपमा टोलीसँग पनि हिँडिन्। गत वर्ष उनले राष्ट्रपति रनिङ शिल्डमा प्लेइङ सेटमा स्थान बनाइन्। 

पोखराको लामाचौरमा भएको महिला भलिबल प्रतियोगितामा उनी वैकल्पिक खेलाडीको रुपमा पुगेकी थिइन्। उनी भन्छिन्, ‘त्यो बेला खेल्न त पाइन तर धेरै कुरा सिक्न पाएँ।’ 

वैकल्पिक खेलाडीको रुपमा बाहिर हुँदा पनि उनी दबाब महसुस गर्छिन्। सेटमा परेर खेल्दा बिगार्न हुँदैन, राम्रो खेल्नुपर्छ भन्ने सोच्छिन्। बाहिर हुँदा त्यो ठाउँमा म भएको भए राम्रो गर्थेँ भन्ने सोच उनमा आउँछ। 

त्यसो त खुसीलाई प्रशिक्षकले आवश्यकताअनुसार टोलीमा प्रयोग गरिरहेका छन्। मिडल ब्लकरमा खेल्ने भए पनि उनलाई ओपन खेल्न मनपर्छ।

भलिबल खेल्न सुरु गर्दाको समयमा उनलाई निकै गाह्रो भयो तर खेल्दै जाँदा सहज भएको उनको अनुभव छ। अहिले उनी यसमा नै रमाउन थालेकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .