ad ad

कारोबार


नेपालमा पहिलो पटक व्यावसायिक ‘मोटोक्रस रेसिङ च्याम्पियनसिप’

नेपालमा पहिलो पटक व्यावसायिक ‘मोटोक्रस रेसिङ च्याम्पियनसिप’

नेपालखबर
चैत १४, २०८० बुधबार २२:०, काठमाडौँ

धुलिखेलस्थित नेपालको पहिलो र एक मात्र मोटोक्रस रेसट्र्याक डर्ट टेम्पलले, डिटी९७७ एमएक्स च्याम्पियनसिप सिरिजको सुरुवात गरेको छ।

जनवरीदेखि सुरु भएको यो च्याम्पियन सिरिज नेपालको पहिलो व्यावसायिक मोटोक्रस रेसिङ च्याम्पियनसिप हो। पाँचवटा रेससम्मको यस सिरिजले नेपाली मोटोस्पोर्टसलाई उचाइँमा पुर्याउन र नेपाली रेसिङ प्रतिभाको नयाँ पुस्तालाई प्रबर्दन गर्ने प्रयास गरेको छ।

यस च्याम्पियन सिरिजको तेस्रो रेस सम्म पुरा भइसकेको छ। चौथौँ रेस मार्चको २८ र ३० गते हुने छ भने फाइनल अर्थात पाँचौँ रेस एप्रिलको २५ र २७ गते धुलिखेलमा हुने छ। हालसम्मको रेसमा रिजन खड्की ६३ पोइन्टले अगाडी रहेका छन् भने खुलामा अनमोल सापकोटा ९४ पोइन्ट्स ल्याएर अग्रपंग्तिमा रहेका छन्।

डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिजले रेसरहरूलाई उनीहरूको सीप, प्रतिभा, र धैर्यशीलतालाई चुनौती दिने दृश्य प्रस्तुत गरेको छ। अभ्यास सत्र, क्वालिफायर र फाइनल रेससहित एप्रिलमा यस च्याम्पियनसिप पुरा हुने छ। यसका लागि निरन्तर प्रतिस्पर्धा र अभ्यास भइरहेको आयोजकले बताएका छन्।  

‘यो च्याम्पियनसिप नेपाली मोटोस्पोर्टसका लागि महत्वपूर्ण उपलब्धि हो,’ डर्ट टेम्पललका इजब बरुण भन्छन्, ‘हामी स्थानीय रेसरहरूलाई उनीहरूको क्षमता देखाउने मञ्च उपलब्ध गराउने मात्र नभएर हाम्रो देशमा मोटोक्रसको विकास र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने बाटो प्रशस्त रहेको देखाउन पनि पहल गरिहेका छौँ।’

यस सिरिजमा दुई वर्ग रहेका छन्। खुला वर्गका लागि स्टक २५० सिसी मोटरसाइकलमा चढ्ने नयाँ रेसरहरू छन् भने एलिट वर्गमा प्रोफेसनल रेसरहरू छन्। २९ जना रेसरहरूमध्ये एलिटमा ९ जना र २० जना खुला वर्गमा रहेका छन्। उनीहरुले रेसपछि उपाधी र क्यास प्राइजहरु जित्नेछन्। साथै एलिट वर्गको एक विजेताले भने क्रसफायर ट्र्याकर २५० मोटरसाइकल पाउनेछन्।

डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिज डर्ट टेम्पलको युट्युब च्यानलमार्फत लाइभ प्रसारण पनि हुने छ। साथै धुलिखेलमा खानाका स्टलहरू र मनोरञ्जनात्मक कार्यक्रमहरू समेता आयोजना गरिने आयोजकले बताएका छन्।

यस सिरिजलाई क्रसफायर मोटरसाइकल्स नेपाल, रिस मोटो, एमएके लुब्रिकेन्ट्स नेपाल, आईएमई पे, वर्ल्डलिंक, प्याराडाइम स्पोर्ट्स नेटवर्क, र रेडबुल नेपालले प्रायोजन गरेका छन्। डर्ट टेम्पल रेसर विकासमा केन्द्रित रहनुका साथै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै र नेपालको मोटोक्रस क्षेत्रलाई विश्व स्तरमा पुर्याउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .