सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकको गलत प्रचार गरिएको आरोप लगाएका छन्।
शुक्रबारदेखि राजधानीमा सुरु भएको क्यान महासंघको २६औं क्यान इन्फोटेकलाई सम्बोधन गर्दै उनले मुलुकलाई ‘डिजिटल इकोनोमी’मा रुपान्तरण गर्ने उद्देश्य राख्ने विधेयकलाई निजी क्षेत्रले गलत व्याख्या गरेको बताएका हुन्।
डिजिटल इकोनोमीलाई अगाडि बढाउने हो भने यो कानुन आवश्यक पर्ने उनको भनाइ छ। ‘डिजिटल इकोनोमीको कुरा गर्ने हो भने यसको सुरक्षाको प्रबन्ध हुनुपर्ने कि नपर्ने?,’ मन्त्री बाँस्कोटाले भने, ‘यसअघि बनेको विद्युतीय कारोबार ऐनभन्दा धेरै खुकुलो छ।’
अभिव्यक्ति स्वतन्त्रता भनेर बेस्सरी कराउने तर डिजिटल सुशासन हुन नदिने खेल भएको भन्दै यस विषयलाई क्यानले पनि बुझ्नुपर्ने उनले बताए। यो ऐनमा दण्ड सजाय अलि धेरै भएको र त्यसलाई कम गरिने उनले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै क्यान महासंघका अध्यक्ष नवराज कुँवरले सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन महासंघ तयार रहेको बताए। उनले नेपालमा सूचना प्रविधि शिक्षालाई स्कुलदेखि नै अनिवार्य गर्न आवश्यक भएको बताउँदै यो क्यान इन्फोटेकमा इनोभेसन र स्टार्टअपलाई प्राथमिकतामा राखिएको उल्लेख गरे।
शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेक बुधबारसम्म चल्नेछ। नेपालको सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६औँ संस्करण हो।
प्रदर्शनीमा १ सय ७४ वटा स्टल राखिएका छन् भने स्टार्टअप, इन्नोभेसनहरुलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ। त्यस्तै, सूचना प्रविधि (आईसीटी) पढाइ हुने कलेजहरुका प्रोजेक्टहरुलाई पनि अलग्गै पवेलियन राखेर प्रदर्शनीमा राखिएको छ।
नेपालको सूचना प्रविधिको क्षेत्रको मुख्य आकर्षणका रुपमा रहेको मोबाइल र ब्रोडब्यान्डलाई छुट्टै पवेलियनमा राखिएको छ। प्रदर्शनीमा कम्प्युटर एसोसिरिजिदेखि ब्रान्डिङदेखि सबै पक्षलाई समेटिएको क्यानका महासचिव नारायण थापाले बताए।
गत वर्ष करिब ३ लाख ७६ हजारभन्दा धेरैले अवलोकन गरेको यस प्रदर्शनीमा यो वर्ष ४ लाखभन्दा धेरै अवलोकनकर्ता आउने विश्वास आयोजकको छ। यस पटकको मेलामा प्रवेश टिकटलाई प्रभु पेले अनलाइनबाट दिने व्यवसस्था गर्न लागेको छ।
यसपालिदेखि क्यान महासंघले अहिलेसम्म प्रदेश १ को इटहरी, प्रदेश २ वीरगञ्ज, वाग्मती प्रदेशको चितवन र प्रदेश ५ को बुटवलमा सम्पन्न गरिसकेका छ। काठमाडौंमा सुरु भएको यो मेलापछि गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ कै नेपालगञ्ज र कर्णाली प्रदेशको सर्खेत र सुदूरपश्चिमको धनगढीमा पनि हुनेछ।

प्रतिक्रिया