विश्वका धनाढ्य तथा अमेजनका प्रमुख जेफ बेजोसले १६ करोड ५० लाख डलर खर्चेर आलीशान बंगला खरिद गरेका छन्। सीएनएनका अनुसार उक्त रकम बेजोसले बेभर्ले हिल्स खरिदमा खर्चिएका हुन्। हलिउडमा प्रसिद्धि कमाएका डेभिड गेफेनसँग उक्त भव्य महल खरिद गरेका हुन्।
बेजोसको नयाँ खरिदबारे सर्वप्रथम वालस्ट्रिट जर्नलले समाचार लेखेपछि बाहिर सार्वजनिक भएको हो। अमेरिकी राज्य लस एंगलसमा उनले उक्त बंगलासँगै बाहिरपट्टि ९ करोड डलर खर्चेर प्लट समेत खरिद गरेको बताइएको छ। उक्त प्लट भने बेजोसले सन् २०१८ मा मृत्यु भइसकेका माइक्रोसफ्टका सहसंस्थापक पल एलनबाट खरिद गरेका हुन्। बेजोसको अमेजनबाहेक अन्य धेरै व्यवसायमा संलग्नता छ। चर्चित अमेरिकी पत्रिका द वासिङटन पोष्ट पनि बेजोसकै हो। यसबाहेक अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनमा पनि उनको स्वामित्व छ।
बेजोसले किनेको यो बंगला सन् १९३० मा वार्नर ब्रोदर्सका सहसंस्थापक ज्याक एल वार्नरले बनाएका थिए। ९ एकडमा फैलिएको यो घर १३ हजार ६ सय वर्गफुटको रहेको छ। यसमा टेनिस कोर्ट, स्विमिङ पुल, नाइन होल गल्फकोर्स र ग्यास पम्पयुक्त ग्यारेज रहेका छन्। यो बंगलाबारे सन् १९९२ मै आर्किटेक्चरल डाइजेस्ट म्यागजिनले समाचार लेखेको थियो।
बेजोसअघि जेफेनले सन् १९९० मा ४ करोड ७५ लाख डलरमा यो बंगला खरिद गरेका थिए। त्यतिबेलाको यो खरिदले कीर्तिमान कायम गरेको थियो। १ वर्षअघि मात्रै बेजोसले ८ करोड डलरमा न्युयोर्कको फिप्थ एभेन्युमा तीन वटा अपार्टमेन्ट किन्नलागेका समाचारहरु आएका थिए। वासिङटनमा पनि बेजोसको ठूलो घर रहेको छ। सन् २०१६ मा टेक्स्टाइल म्युजियम २ करोड ३० लाख डलरमा खरिद गरेका हुन्।
ब्लुमबर्गका अर्बपति सूचकांकअनुसार बेजोससँग १ खर्ब ३२ अर्ब अमेरिकी डलर सम्पत्ति छ।

प्रतिक्रिया