ad ad

कारोबार


राष्ट्र बैंकले भन्यो- बैंकिङ प्रणालीमा सर्वसाधारणको निक्षेप सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस्

केही व्यक्ति तथा समूहले भ्रामक अभिव्यक्ति दिँदै दुष्प्रचार गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण
राष्ट्र बैंकले भन्यो- बैंकिङ प्रणालीमा सर्वसाधारणको निक्षेप सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस्

नेपालखबर
फागुन ८, २०८० मंगलबार १६:३८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा सर्वसाधारण निक्षेपकर्ताको पैसा सुरक्षित रहेको हुँदा ढुक्कसँग नियमित कारोबार गर्न लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति तथा समूहले भ्रामक अभिव्यक्ति दिँदै दुष्प्रचार गरिरहेको भन्दै त्यसमा केन्द्रीय बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केन्द्रीय बैंकले देशमा सञ्चालित बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र सर्वसाधारणको डिपोजिट सुरक्षित रहेको जनाएको छ ।

‘बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड हो । नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुऱ्याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न यस बैंकलाई कानुनले स्पष्ट जिम्मेवारी दिएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘सोहीबमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा यस बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा यस बैंकबाट नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको व्यहोरा अवगत नै छ।’

‘नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ’ राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको केन्द्रीय बैंकले जनाएको छ ।

‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ,’ राष्ट्र बैंकले भनेको छ, ‘बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ ।’

पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू निर्देशनअनुरूप नै रहेको राष्ट्र बैंकले जनाएको छ ।

‘कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ,’ केन्द्रीय बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण र सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .