ad ad

कारोबार


‘अर्थतन्त्र कमजोर बन्नुमा निजी क्षेत्रको पनि धेरथोर हात छ’

‘स्थायी सरकार नआएसम्म अर्थतन्त्रलाई दौडाउने अवस्था आउँदैन’
‘अर्थतन्त्र कमजोर बन्नुमा निजी क्षेत्रको पनि धेरथोर हात छ’

नेपालखबर
फागुन ४, २०८० शुक्रबार १३:३१, पोखरा

पोखरामा जारी ११औँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार ‘अर्थतन्त्र : तङ्ग्रिन्छ कि लड्छ?’ भन्ने विषयमा छलफल भएको छ। छलफलमा सरोकारवालाले अर्थतन्त्रमा सुधार भइरहेको दाबी पेस गरे।  

व्यवसायी निरञ्जन श्रेष्ठ नेपालको अर्थतन्त्र विगत २ दकशदेखि धर्मराउदै तंग्रिरहेको बताए। 

‘फेरि धर्मराउँदै धर्मराउँदै एउटा विन्दुमा पुग्छ। ठोस रुपमा हामीले केही गरेनौँ भने यस्तै धर्मराउँछ’, उनले भने। 

अहिलेको भने निजी क्षेत्र निकै निराश रहेको उनको भनाइ छ। 

‘बजारमा व्यापार एकदम तल आएको छ। मागको कमी छ। माग कमी हुनुको मतलब व्यापार व्यवसायमा जो छ ऊ निश्चय नै निराश हुन्छ। सटर बन्दर भइरहेको छ भने निराश हुन्छ नै’, उनले बताए।

बाह्य क्षेत्र सुधार भए पनि आन्तरिक रुपमा माग बढाउने काम गर्नुपर्ने उनको धारणा छ।  ‘लगानीमा बैंकको ऋण मात्रै आधार हुदैन।

व्यवसाय भनेको चक्रको रुपमा बुझ्नपर्छ। बैंकबाट त पुँजी आयो तर त्यसपछि व्यवसाय गर्दा स्वयम पुँजी चाहियो। बजारमा आत्मविश्वास चाहियो’, श्रेष्ठले थपे, ‘अर्को कुरा सबभन्दा ठूलो कुरा आन्तरिक फिर्ता दर हेरिन्छ। अहिले फिर्ता कम छ। बैंकमा पुँजी छ भने लगानी गर्न हिच्किचाउँछ।’ 

अर्थतन्त्र कमजोर बन्नुमा निजी क्षेत्रको पनि धेरथोर हात रहेको श्रेष्ठ स्वीकार्छन्। उनी भन्छन्, ‘आत्मविश्वास बढ्यो भने अहिलेको अवस्थामा फरक आउँछ।’

सुधार भइरहेको छ : अर्थमन्त्रीका आर्थिक सल्लाहकार 
अर्थमन्त्रीको आर्थिक सल्लाहकारसमेत रहेका गुणाकर भट्ट अर्थतन्त्र सुधार भइरहेको बताउँछन्। २ वर्ष अगाडि विदेशी विनिमय सञ्चितीमा दबाब रहेको उनी सम्झन्छन्। ‘गतवर्ष पुसमा हेर्दा हामीसँग भएको विदेशी विनिमय सञ्चिति १० अर्ब २८ करोड डलर थियो।

अहिले आइपुग्दा १३ अर्ब ६९ करोड डलर विदेशी सञ्चिति छ। त्यसले १२.१ महिनाको बस्तु तथा सेवा आयत गर्न पुग्छ’, उनले भने, ‘ २ वर्ष अगाडि यही बेला नीति निर्मातादेखि व्यवसायी सबै आत्तिएको अवस्था थियो नेपाल कतै श्रीलंका त बन्दैन भनेर।  हामी त्यहाँबाट माथि उठेको अवस्था छ। एउटा महत्वपूर्ण आधार हो विदेशी विनिमय सञ्चिति।’

भट्टले अगाडि थफे, ‘हामी ३०० अर्बको पेट्रोलिय पदार्थ आयत गर्छौं। ४०० अर्बको हाराहारीमा खाद्यान्न आयत गर्छौं। त्यस्तो मुलुकमा विदेशी विनिमय सञ्चित थोरै पनि घट्ने वित्तिकै अर्थतन्त्र हल्लिन बेर लाग्दैन, त्यहाँबाट हामी निस्कियौं।’

डेढ २ वर्ष अगाडि बैंकहरुसँग कर्जा दिने पैसा नभएको उनले सुनाए। उनका अनुसार गत वर्ष माघमा कर्जाको औसत ब्याजदर १३ प्रतिशत थियो। अहिले कर्जाको औसत ब्याजदर ११ प्रतिशतमा झरेको छ। 

‘बैंकहरुसँग बढी भएको पैसा करिब १०० अर्ब राष्ट्र बैंकले तानेर राख्न परेको छ। ब्याजदर पनि तल आइरहेको छ’, अर्थतन्त्रबारेका विज्ञ भट्टले भने, ‘मौद्रिक क्षेत्र, वित्तिय क्षेत्र राम्रो अवस्था देखिएको छ तुलनात्मक रुपमा। गतवर्ष बैंकहरुले ६ महिना १३७ अर्ब कर्जा प्रवाहा गरेका थिए। अहिले ६ महिनाको कर्जा प्रवाहा १९३ अर्ब देखिएको छ।’ 

सरकारको वित्त व्यवस्थापन चुनौतीपूर्ण देखिरहेको उनले उल्लेख गरे। 

‘सरकारको राजस्व असुली गतवर्षको तुलनामा केही सुधार भएपनि अपेक्षित रुपमा हुन सकिरहेको छैन। आार्थिक गतिविधि अपेक्षित रुपमा विस्तार हुन सकेको छैन’, उनले भने, ‘पहिलो त्रैमासिकको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रह्यो। ६ प्रतिशतको अपेक्षा गरेका थियौं। आम मान्छेले महसुश गर्ने मुद्रास्फीति मूल्य वृद्धि पनि उच्च छ।’ 

सावधानी अपनाएकै कारण अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ। 

निक्षेप संकलनअनुसार कर्जा प्रवाह नहुनुले समस्या नै देखिन्छ : स्वतन्त्र विज्ञ
स्वतन्त्र विज्ञ भुवन दाहाल निक्षेप संकलन अनुसार कर्जा प्रवाह नहुनु अर्थतन्त्रको समस्याको रुपमा लिन्छन्। अर्थशास्त्रमा समस्या देखिएपछि प्रभाव बैंक तथा वित्तिय संस्थाको वित्तिय विवरणमा देखिने उनको भनाइ छ।

‘निष्क्रिय कर्जा बढेको देखिन्छ। यसले अर्थतन्त्रमा समस्या छ भन्नेमा कुनै शंका भएन। निजी क्षेत्र, नीति निर्माता सबैले आत्मसात् गरेर समस्या निराकमरणमा लाग्नुपर्नेछ’, उनले भने। 

उनले थपे, ‘दक्षिण एसियाको तथ्यांक हेर्‍यौँ भने प्रतिव्यक्ति आयमा हामी अफानिस्तानभन्दा माथि छौँ। बंगलादेशको कुरा गरौं भने पनि हाम्रो भन्दा दोब्बर छ। क्षेत्रफलको कुरा गर्ने हो भने हाम्रो र त्यहाँको एउटै हो। जनसंख्याको कुरा गर्ने हो भने हाम्रोभन्दा ५ गुण बढि छ।’ 

अर्थतन्त्र भताभुंग भइसकेको अवस्था नरहेको उनले दाहालले बताए। 

‘हामीकहाँ समस्याहरु छन्, समस्याका कारणहरु पनि थाहा छ। अर्थमन्त्रालय, राष्ट्रबैंक, निजी क्षेत्र, बैंकरहरु सबै बसेर एक हप्तासम्म के के गनपर्ने हो ? रोडम्याप कोरेर त्यो अनुसार काम गर्नुपर्नेछ’, उनको सुझाव छ। 

एक अर्कालाई आरोप लगाएर अर्थतन्त्र माथि उकास्न नसकिनेमा उनको जोड छ। अर्थतन्त्रको आकार कसरी बढाउनुपर्ने भनेर सोच्नुपर्नेमा उनको जोड छ। स्थायी सरकारको अवस्था नआएसम्म अर्थतन्त्रलाई दौडाउने अवस्था भने नआउने दाहालको तर्क छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .