कारोबार


रोल्पाका दुई विकट गाउँमा पनि पुग्यो बिजुली, वर्षमान पुनले गरे उद्घाटन

रोल्पाका दुई विकट गाउँमा पनि पुग्यो बिजुली, वर्षमान पुनले गरे उद्घाटन

नेपालखबर
माघ २२, २०८० सोमबार ११:३८, काठमाडौँ

रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ। 

सुनछहरी गाउँपालिका वडा नम्बर–३ र वडा नम्बर–४ मा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली पुगेको हो। 

३३ केजी प्रसारण लाइनमार्फत वितरित उक्त बिजुलीले दुवै गाउँमा गरी हजारभन्दा बढी घरमा विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जामन्त्री वर्षमान पुन अनन्तले स्विच दबाएर बिजुलीको उदघाटन गरे।  

गाउँमा उज्यालोसँगै नयाँ विकास, नयाँ सभ्यता र नयाँ संस्कार आउने उनले बताए।

गाउँमा बिजुली आएसँगै दैनिक जनवीजनका धेरै काममा सहजता आउने तथा स्थानीय उद्योग स्थापना गर्न सकिने उनको विश्वास छ।

‘यसअघि गाउँमा बाटो आयो, सहरको सामान सस्तोमा गाउँ आउन थाल्यो। गाउँमा उत्पादन भएका अन्न, तरकारी र फलफूल बजार जान थाले’, उनले भने, अहिले बिजुली आयो अब विद्यार्थीलाई टुकी बालेर पढ्नुपर्दैन। दाउरा वा ग्यासमा खाना पकाउनुपर्दैन अब बिजुलीबाटै खाना पकाउन सकिन्छ। घरमै मोबाइल चार्ज गरेर आफन्तसँग मज्जाले कुरा गर्न सकिन्छ।’

पुनले राजनीतिककर्मी र राज्य सञ्चालनको भूमिकामा रहेकाहरुले साधन स्रोतको समुचित वितरणमार्फत देशका सबै क्षेत्रमा सन्तुलित र समानुपातिक विकासमा ध्यान दिनुपर्ने धारणा राखे।

विकासका काममा अति राजनीतीकरणको समस्या देखिएको भन्दै उनले दल र विचार फरक भए पनि विकासका काममा गाउँदेखि राष्ट्रिय स्तरसम्म समान धारणा र समझदारी हुनुपर्नेमा जोड दिए।

‘पार्टी फरक हुन सक्छ। विचार फरक हुन सक्छ। तर, विकासको फल सबैले पाउनुपर्छ। सबै पार्टी मिलेर आफ्नो ठाउँ  देशकै विकास गर्नुपर्छ’, उनले भने, ‘गाउँमा विकास भएन भने माओवादी, कांग्रेस, एमाले सबैलाई असुविधा हुने हो। म माओवादीका तर्फबाट निर्वाचित सांसद हुँ। मेरो पहलमा भएको विकासको प्रतिफल जिल्लामा भएका सबै राजनीतिक दलका नेता कार्यकर्ता र मतदाताले निर्वाध उपयोग गर्ने भएकाले विकासका काममा राजनीति गर्नु हुँदैन। किनकी जति पनि सडक, बिजली, सञ्चार र खानेपानीका क्षेत्रमा काम भएका छन् ती सबै राज्यको स्रोतबाट भएका हुन्।’

गाउँमा सडक, बिजलुी, खानेपानी, सिंचाईको व्यवस्था गर्ने तथा शैक्षिक संस्थाको गुणस्तर सुधार गर्ने नेताहरुको जिम्मेवारी र कर्तव्य भएको उनले बताए। 

पुनले आफू ऊर्जामन्त्री हुनुअघि जिल्लामा २० प्रतिशत ठाउँमा मात्र बिजुली पुगेको उल्लेख गर्दै अहिले ८० प्रतिशत घरमा बत्ती बलेको बताए। बाँकी २० प्रतिशत घरमा पनि आगामी डेढदेखि २ वर्षभित्र बिजलुी पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको जानकारी उनले दिए।

एसिएन इन्फ्रा स्टक्चर बैंक र युरोपियन इन्भेस्टमेन्ट बैंकबाट ऋण र सहयोग लिएर रोल्पामा विद्युत् वितरणको काम अघि बढाएको पुनले जानकारी दिए। 

नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख अषेश्वर साहले रोल्पामा विद्युतीकरणको काम तीव्र गतिमा भएको बताए। एसिएन इन्फ्रा स्टक्चर बैंक र युरोपियन इन्भेस्टमेन्ट बैंकका दुई आयोजनामार्फत जिल्लाका सुनछहरी, लुंग्री,  सुनिल स्मृति, थवाङ, गंगादेव र परिवर्तन गाउँपालिका तथा रोल्पा नगरपालिकाका विभिन्न वडामा विद्युतीकरणको प्रक्रिया अघि बढेको जानकारी उनले दिए।

केही महिनाको बीचमा लुंग्री गाउँपालिकाको वडा नम्बर–१,  रुण्टीगढी गाउँपालिकाको वडा नम्बर १ र ८, थवाङ गाउँपालिकाको वडा नम्बर–३, गंगादेव गाउँपालिकाको वडा नम्बर– १ र ३ माडी गाउँपालिकाको वडा नम्बर–१ र २, त्रिवेणी गाउँपाकिलाको वडा नम्बर– ६ मा बिजुली बालिएको जानकारी साहले दिए।

‘बाँकी २० प्रतिशत स्थानमा आगामी दुई वर्षभित्र बत्ती बाल्ने र जिल्लालाई उज्यालो बनाउने गरी काम भइहरेको छ’, उनले भने, ‘बिजुलीका पोलहरु ठाउँठाउँमा झार्ने काम सुरु हुँदै छ।’

भौगोलिक विकटता तथा बस्तीमा छरिएर रहेका घरहरुका कारण सहरी वा तराई क्षेत्रमा जस्तो पहाडी क्षेत्रमा छिटो विद्युतीकरण गर्न असहज हुने अनुभव साहले सुनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad