ad ad

कारोबार


यातायातमन्त्री भन्छन् : पूर्व–पश्चिम होइन, अब उत्तर–दक्षिण सडकलाई प्राथमिकता

यातायातमन्त्री भन्छन् : पूर्व–पश्चिम होइन, अब उत्तर–दक्षिण सडकलाई प्राथमिकता

नेपालखबर
माघ ४, २०८० बिहिबार १५:२७, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार अब उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुने बताएका छन्। 

बिहीवार सिंहदरबारस्थित संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले पूर्व–पश्चिम राजमार्गको काम पर्याप्त भइसकेको दाबी गर्दै अब सरकारको काम उत्तर–दक्षिण राजमार्गमा केन्द्रित हुने बताएका हुन्। 

मन्त्री ज्वालाले सो राजमार्ग व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले यसलाई उच्च प्राथमिकता दिएर सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे। उनले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग जनतालाई सास्ती पनि नहुने र विकास निर्माणको काम पनि अघि बढ्ने हिसावले अघि बढाउने आवश्वासन समेत दिए।

मन्त्री ज्वालाले भने, ‘माननीयजीहरुसँग म के कुरामा सहमत छु भने पूर्व–पश्चिम सडक चाँही अलि पर्याप्त भइसके भन्ने लाग्छ मलाई। कम्प्लिट गर्नुपर्ने त छ नै। पूर्व–पश्चिम राजमार्ग छँदै छ। त्यसलाई हामीले स्तरोन्नतिको काम गरिरहेका छौँ। कुनै सेक्टरमा वल्र्ड बैंकले सहयोग गरेको छ। कुनैमा एडीबीले सहयोग गरेको छ। यसलाई पनि हामीले ४ लेन र ६ लेनमा स्तरोन्नति गर्ने। त्यसो भयो भने धेरै ठूलो भइहाल्छ।’ 

उनले हुलाकी राजमार्ग, भित्री मधेशलाई लक्षित गरेर बनाइएको मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग सबै पूर्वपश्चिम केन्द्रित भएको बताए। 

‘पूर्व–पश्चिम यातायातको सन्दर्भमा धेरै ठूलो समस्या अब हुन्छ जस्तो लाग्दैन, त्यसैमा फेरि जो पूर्व–पश्चिम रेल वे छ। अब हामीले यसको निकास निकाल्नुपर्छ’, उनले भने, ‘अब बजेट पनि नआउने, अगाडि बढाउन पनि नसकिने, काम गर्न पनि नसकिने अनि जनताको जग्गाचाहिँ होल्ड गरेर पनि राख्ने अवस्था लामो समयसम्म नहुने गरी हामी काम गर्छौँ।’ 

उनले अब ध्यान दिनुपर्ने भनेको उत्तर–दक्षिण करिडोरमै रहेको बताए। 

‘किनकि उत्तरदक्षिण करिडोर भनेको आर्थिक करिडोर पनि हो। व्यापारिक मार्ग पनि हो’, उनले थपे, ‘यो दक्षिण सीमानादेखि उत्तरी सीमानसम्म पनि हो । यी त्रिदेशीय लिंक रोडहरु पनि हुन। त्यसैले व्यापारिक उद्देश्यले अथवा उत्पादित खाद्यन्न लगायतका वस्तुहरु पहाडमा पु¥याउनु पर्दा, पहाडमा उत्पादित जडिबुटी, फलफूल लगायतका वस्तुहरु दक्षिण पु¥याउनुपर्ने अवस्थामा उत्तर–दक्षिण सडकहरुलाई अब हामी उच्च प्राथमिकतामा राख्छौँ।’ 

अब बनिरहेको १६ औं योजनामा पनि हामी त्यही ढंगले आयोजनाहरु तय गर्ने उनको भनाइ छ। 

बैठकमा बोल्दै समितिका सदस्यहरुले जनतामा आशा जगाउने खालका पूर्वाधार विकासमा जोड दिन सरकारलाई सचेत गराएका थिए। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले विदेश पलायन हुने क्रम रोक्ने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिए। 

उनले मुलुकप्रतिको विश्वास जगाउने गरी सरकारले सडकलगायतका पूर्वाधार विकासको कामलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याए।

सांसद राईले भने, ‘अहिले मान्छेले मुलुकप्रतिको आशा र विश्वास बिस्तारै हराउँदै गएको छ । र, विकास, निर्माणको काम सोचेअनुसार नै हुने हो भने साँच्चै मान्छेहरु आशावादी हुन्छन्। मुलुकप्रति विश्वास गर्छन्। र, मुलक छोडने क्रम पनि न्युनिकरण हुन्छ । त्यसैले यी कामहरुमा जोड दिनुपर्दछ।’

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद  गोपीबहादुर सार्की (आछामी) ले  देश र जनतालाई छिटो प्रतिफल दिने विकास आयोजनाको काममा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराए। उनले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अघि बढाउनेबारे निर्णय लिन ढिलाई नगर्न पनि सरकारलाई दबाब दिनुपर्ने बताए।

सांसद आछामीले जनतालाई सास्ती हुने र मुलुकमा आर्थिक भार मात्रै पर्ने आयोजनालाई सरकारले अहिले तत्काल अघि बढाउन नहुने उनको भनाइ छ। ल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .