कारोबार


मन्त्रिपरिषदले खाेल्याे नारायणी नदीमा मिनी पानीजहाज सञ्चालनको बाटो

मन्त्रिपरिषदले खाेल्याे नारायणी नदीमा मिनी पानीजहाज सञ्चालनको बाटो

नेपालखबर
माघ २३, २०७६ बिहिबार १२:३,

नारायणी नदीमा मिनी पानीजहाज सञ्चालनको बाटो मन्त्रिपरिषदले खुल्ला गरेको छ। पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नै नभएपछि सञ्चालनमा देखिएको अवरोध मन्त्रिपरिषदले खुल्ला गरिदिएको हो।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालि कम्पनी दर्ता भए पनि उद्योगका रुपमा दर्ता नभएका कारण नारायणीमा पानीजहाज चलाउन प्रक्रियागत कठिनाइ रहेको थियो। सोही कम्पनीले करिब १५ करोड खर्चेर ‘नेपाली क्रुज’ तयार गरिसकेको छ।

जहाज तयार भएलगत्तै कम्पनी उद्योग विभागमा दर्ताको लागि आएको थियो। तर त्यस्तो प्रकारको उद्योग दर्ताको लागि औद्योगिक व्यवसाय ऐनमा प्रावधान थिएन। त्यसको विकल्पको रुपमा लगानी तथा औद्योगिक प्रवद्र्धन बोर्डले औद्योगिक व्यवसाय ऐनमा उक्त व्यवस्था थप गराउने प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव गत पुस दोस्रो साता उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको थियो।

सो प्रस्ताव मन्त्रिपरिषदले पास गरेपछि उक्त ‘नेपाली क्रुज’ सञ्चालन गर्ने बाटो खुलेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जहाज सञ्चालन गर्न बाटो खुल्ला भएको जानकारी दिए।

बिहीबार मन्त्रिपरिषदको निर्णय सुनाउँदै उनले औद्योगिक व्यवसाय ऐन, २०७३ को अनुसूची ६ को पर्यटन उद्योगको सूचीमा जलयातायात (क्रुज), जलक्रीडा (वाटर इन्टरटेन्मेन्ट) तथा डुङ्गा सयर (बोटिङ) थप गरिएको जानकारी दिए।

यो व्यवस्थापछि अब उक्त प्रकारको उद्योग दर्तामा समस्या नभएको उद्योग विभागले बताएको छ।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले नारायणीमा पानीजहाज चलाउने भन्दै ‘नेपाली क्रुज’ निर्माण गरेर परीक्षण समेत गरिसकेको छ। यही पुस १४ गते बसेको बोर्ड बैठकले पानीजहाजसम्बन्धी उद्योग समेत सूचीकरण गर्ने गरी त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो।

याे पनिः 
नारायणीमा मिनी पानीजहाज चलाउन मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले भने पर्यटकलाई केन्द्रित गरेर सञ्चालन गर्न लागिएको मिनी पानी जहाज पूर्ण रुपले तयारी अवस्थामा राखिसकेको छ।

१०० फिट लम्बाइ र २५ फिट चौडाइको पानीजहाजमा दुईवटा इञ्जिन जडान भएको मिनी पानी जहाजको लागि कम्पनीले १५ करोड रुपैयाँ हाराहारीमा लगानी गरिसकेको छ। जहाजभित्र चेन्जिङ रुम, पानी ट्यांकीलगायत राख्ने काम भइरहेको राइनो इन्टरटेन्मेन्टले जनाएको छ।

जहाजको पहिलो तलामा ९० र दोस्रो तलामा सयजना यात्रु सिट क्षमता रहेको छ। पहिलो तलामा मनोरञ्जन लिने, सुटिङ गर्ने खुला ठाउँ छ। पर्यटकहरुले यो जहाजमा बसेर प्रतिघण्टा ३७ किलोमिटरको वेगमा काभ्रेघाट–देवघाट र देवघाट–गोलाघाट जलयात्रा गर्नसक्नेछन्।

बिहान यात्रा गर्नेले ब्रेकफास्ट लिन पाउने व्यवस्था गरिने राइनो इन्टरटेन्मेन्टले जनाएको छ। नारायणीमा उक्त पानीजहाजमा यात्रुले ३ घण्टाको यात्रा गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad