ad ad

कारोबार


हवाइ यातायातलाई चुस्त बनाउन विमानस्थल विकासमा ३ खर्ब ३५ अर्ब आवश्यक

हवाइ यातायातलाई चुस्त बनाउन विमानस्थल विकासमा ३ खर्ब ३५ अर्ब आवश्यक

बसन्त अर्याल
माघ २२, २०७६ बुधबार १२:८,

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा भएका विमानस्थलको विकासको लागि ५ वर्षमा ३ खर्ब ३५ अर्ब लगानी गर्नुपर्ने जनाएको छ। प्राधिकरणले विमानस्थलहरुको अवस्था सार्वजनिक गर्दै तिनलाई सञ्चालनयोग्य बनाउन कम्तीमा ३ खर्ब ३५ अर्ब लगानी आवश्यक रहेको बताएको हो।

अन्तर्राष्ट्रिय विमानस्थलहरुको जग्गा अधिग्रहणको लागि मात्रै ३३ अर्ब लाग्ने भएको छ। त्यस्तै, आन्तरिक विमानस्थलको जग्गा अधिग्रहणको लागि १ अर्ब आवश्यक पर्ने प्राधिकरणले जनाएको छ।

भौतिक पूर्वाधारतर्फ अन्तर्राष्ट्रिय विमानस्थलको लागि २ खर्ब ५० अर्ब र आन्तरिक विमानस्थलको लागि ४६ अर्ब लगानी आवश्यक पर्नेछ। प्राधिकरणका निर्देशक प्रदिप अधिकारीले सबै विमानस्थललाई केन्द्रबाट पैसा दिन नपर्ने गरी विकास गर्न लागेको जानकारी दिए।

‘विमानस्थलहरुले आफूसँग भएको सम्पत्तिको उच्चतम प्रयोग गर्दै विमानस्थलको लागि आवश्यक पर्ने खर्च आफैँ उठाउनुपर्छ’, उनले भने, ‘अझ तराईका विमानस्थलले त आफ्नो खर्च मात्रै होइन बचत गर्ने गरी योजना बनाउनुपर्छ।’

साढे २ वर्षमा ८७ अर्ब खर्च
विगत साढे दुई वर्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणले कुल ८७ अर्ब खर्च गरेको उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थलको लागि ८० अर्ब खर्च भइसकेको छ भने आन्तरिक विमानस्थलमा ७ अर्ब खर्च भएको प्राधिकरणको भनाइ छ। यसमा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहणको लागि मात्रै ३३ अर्ब खर्च भएको छ।

प्राधिकरणका अनुसार आन्तरिक विमानस्थलतर्फ एक अर्ब खर्च भएको छ। त्यस्तै पूर्वाधारतर्फ अन्तर्राष्ट्रिय विमानस्थलका लागि ४९ अर्ब र आन्तरिक विमानस्थलको लागि ६ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ वर्षमा व्यावसायिक उडान
पाँच वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्ने प्राधिकरणले लक्ष्य राखेको छ। उक्त विमानस्थलको ‘फेन्सिङ कन्स्ट्रक्सन’, जग्गा अधिग्रहणलगायतको काम सकिसकेको छ भने टाँगिया बस्ती हस्तान्तरणको काम भने अझै बाँकी छ। आईकाओले ‘फोर एफ’ प्रमाणीकरण गरेको विमानस्थल हुनेछ।

nijgadh airport copy 1

त्रिभुवन विमानस्थलमा रन वे पुनस्र्थापनासँगै चारवटा जहाज पार्किङ गर्न मिल्ने पार्किङ वेको काम सकिएको प्राधिकरणले जनाएको छ। ठूला जहाज पार्किङ गर्न मिल्ने दक्षिणतर्फको वे १ को ८५ प्रतिशत भौतिक प्रगति भइसकेको छ। बुटिक एयरपोर्ट बनाउने काम भइरहेको छ। एयरपोर्ट परिसर बगैँचामा फूल, रंगरोगन, बुद्धको मूर्तिलगायतका सौन्दर्य संरचनाको काम सकिएको छ। त्यस्तै, डिजाइनको नवीकरणको काम सुरु हुन लागेको छ भने पाँच वर्षमा समानान्तर ट्याक्सी वे, ह्याङ्गर एप्रोन, नयाँ टर्मिनल बिल्डिङ निर्माण गरी ९२ लाख यात्रु वार्षिक बोक्नसक्ने क्षमताको हुने प्राधिकरणले लक्ष्य राखेको छ।

bhairahawa airport

गौतम बुद्ध विमानस्थलमा जग्गा अधिग्रहणको काम सकिएको छ। विमानस्थलको ८५ प्रतिशत काम हुँदा उपकरण जडानको काम बाँकी छ। भैरहवामा कार्गो टर्मिनिल बिल्डिङ, सेक्युरिटी बिल्डिङ, आउटर पेरिफेरी रोड, तिनाउ खोला व्यवस्थापनको काम भइरहेको प्राधिकरणले जनाएको छ। पाँच वर्षमा यो विमानस्थल सबै भौतिक पूर्वाधार तथा उपकरण जडित बन्नेछ। विमानस्थलमा समानान्तर ट्याक्सी वे, पार्किङ, बोर्डिङ ब्रिजसहित थप १० पार्किङ वे बनाउने प्राधिकरणले लक्ष्य राखेको छ। उक्त विमानस्थलबाट वार्षिक ६० लाख यात्रु आवतजावत गर्नेछन्।

त्यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलतर्फ २ अर्ब ३० करोड खर्च गरी जग्गा अधिग्रहणको काम सकिएको छ। भौतिक प्रगतिको काम ५४ प्रतिशत सकिएको प्राधिकरणले जनाएको छ। पाँच वर्षभित्र वार्षिक ८० लाख हवाइ यात्रु बोक्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको बताएको छ।

pokhara airport 22

प्राधिकरणका निर्देशक अधिकारीले आन्तरिक विमानस्थलहरु एटीआर ४२ का जहाज उड्न सक्ने क्षमताको रुपमा विस्तार गर्नलागेको जानकारी दिए। रन वेलाई विस्तार गर्ने हो भने जुम्ला, जोमसोम, दाङ, रामेछाप, ताप्लेजुङ, सिमिकोट, साफेबगर, रुम्झाटार, तुम्लिङटार, पालुङ्टार, टीकापुर, खिजी, बझाङ, इलाममा ४२ सिटे जहाज उडाउन सकिने बताए।

नेपालमा कुल ५४ वटा एयरपोर्ट रहेकोमा ३२ वटा विमानस्थल मात्रै सञ्चालनमा रहेका छन् भने २२ वटा एकपटक सञ्चालनमा आए पनि अहिले बन्द अवस्थामा छन्। १३ वटा नयाँ प्रस्तावित विमानस्थल छन्। अहिले भरतपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र त्रिभुवन विमानस्थलमा राति पनि उडान अवतरण गर्नसक्ने सुविधा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .