एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महिलालाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मान गर्दैछ।
यो वर्ष यस विधाको अवार्डका लागि कुल ३४ जना मनोनयनमा परेका थिए। यी मनोनयनहरुबाट सूचना प्रविधिको क्षेत्रमा पुर्याईएको योगदानका आधारमा तीन चरणको मुल्याङ्कन पश्चात अवार्डका लागि ७ जना महिलाहरु छनोटमा परेका छन्।
यही शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने इनड्राइभ आईसीटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रममा ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गरिने कम्पनीले जनाएको छ।
प्रत्येक वर्ष, आईसीटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीले संयुक्त रुपमा आइसिटी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्वहरु, नवप्रवर्तन र संघ संस्थाहरूलाई आइसिटी अवार्ड प्रदान गर्दै आएको छ। ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गर्नका लागि एनसेलले आइसिटी अवार्डसँग सहकार्य गर्दै आएको छ।
महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले आइसिटी अवार्डमा आवद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ। यो पुरस्कारको राशी नगद ३ लाख रहेको छ।
हरेक वर्ष प्रदान गरिने आईसीटी अवार्डमा आफ्नो सहकार्यलाई निरन्तरता दिँदै, एनसेलले विगत ३ वर्षदेखि महिलाहरूको योगदानलाई सम्मान र प्रोत्साहन गर्दै यो एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको छ।
गतवर्ष यो अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको थियो। सन् २०२१ मा गुण केशरी प्रधानले यो अवार्ड पाएकी थिइन्।
त्यसैगरी, सन् २०२० मा प्राध्यापक तिमिला यमी थापाले यो अवार्ड पाएकी थिईन्।
Shares

प्रतिक्रिया