ad ad

कारोबार


हिमालयन बैंकमा रहेको हबिबको साढे ३ अर्बको सेयर किन्दै हिमालयन रि इन्स्योरेन्स

हिमालयन बैंकमा रहेको हबिबको साढे ३ अर्बको सेयर किन्दै  हिमालयन रि इन्स्योरेन्स

नेपालखबर
मंसिर १८, २०८० सोमबार १३:३६, काठमाडौँ

हिमालयन बैंकमा रहेको हबिब बैंकको संस्थापक सेयर हिमालयन रि इन्स्योरेन्सले किन्ने भएको छ ।  

यसअघि बेलायतको एक लगानी नियोगले पाकिस्तानी बैंक हबिबको सेयर खरिद गर्न चाहेको थियो।

उक्त प्रयास सफल नभए पनि अन्ततः हिमालयन रि इन्स्योरेन्सले नै बैंकको सेयर किन्ने भएको हो। 

हिमालयन बैंकको सञ्चालक समितिले पनि हिमालयन रि इन्स्योरेन्सलाई हबिबको सेयर बिक्री दिने सिफारिस गरेको छ।

हिमालयन बैंकले सिभिल बैंकलाई गाभेको थियो। मर्जरअघि हिमालयनमा हबिबको २० प्रतिशत सेयर स्वामित्व थियो। 

सिभिललाई प्रतिसेयर ८१ रुपैयाँ हाराहारीमा गाभेपछि हबिबको सेयर स्वामित्व साढे ११ प्रतिशत हाराहारीमा खुम्चिएको छ। यही सेयर हिमालयन रि इन्स्योरेन्सले खरिद गर्न लागेको हो। यो भनेको साढे तीन अर्ब हाराहारी हो।

तीन दशक लामो साझेदारी टुंग्याउँदै हबिब हिमालयन बैंकबाट बाहिरिन खोजेको हो। 

हाल प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको हिमालयन रिले उक्त सेयर प्रतिकित्ता १३० रुपैयाँमा किन्न लागेको हो।

हिमालयन रिले यसको लागि अनुमति माग गर्दै गत सातामात्रै राष्ट्र बैंकलाई औपचारिकरुपमा पत्र पठाएको छ। 

बैंकको संस्थापक सेयर खदिर गर्ने लगानीकर्ता कम्पनीको राष्ट्र बैंकले ‘फिट एण्ड प्रोपर टेस्ट’ गर्छ। यसमा योग्य कम्पनीलाई मात्रै राष्ट्र बैंकले सेयर किन्न अनुमति दिन्छ।

राष्ट्र बैंकले फिट एण्ड प्रोपर टेस्टको प्रक्रिया बढाएको छ। यदि योग्य देखियो भने सेयर खरिदको लागि कम्पनीले अनुमति पाउनसक्नेछ। 

देशका ठूला व्यापारिक घराना संस्थापक रहेको हिमालयन रि इन्स्योरेन्स पछिल्लो समय आफ्नो पोर्टफोलियो बढाउन आक्रामक ढंगले लगानी विस्तारको रणनीति बनाएको छ।

हिमालयन रिमा ग्रोल्छा ग्रुपका प्रमुखसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा अध्यक्ष छन्।

गोल्छा महासंघको अध्यक्ष हुँदा हिमालयन रिले लाइसेन्स पाएको थियो। शंकर ग्रुपका शाहिल अग्रवाल सञ्चालक छन्। यो कम्पनीमा अन्य ठूला व्यापारिक घरानासँगै व्यवसायी दिपक भट्टको पनि लगानी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .