कारोबार


एनसेलले ०७७ असारसम्ममा चार किस्तामा सबै कर तिरिसक्ने, ताकेता गरिराख्न सांसदकाे माग

एनसेलले ०७७ असारसम्ममा चार किस्तामा सबै कर तिरिसक्ने, ताकेता गरिराख्न सांसदकाे माग

नेपालखबर
माघ १९, २०७६ आइतबार ९:३६,

राजस्व सचिव शिशिरकुमार ढुंगानाले एनसेलले चार किस्तामा पुँजीगत लाभकर तिर्ने व्यवस्था मिलाइदिन ठूला करदाता कार्यालयलाई पत्राचार गरेको बताएका छन्।

संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा राजस्व सचिव ढुंगानाले सर्वोच्च अदालतको आदेशपछि निर्धारण भएको करको २० प्रतिशत रकम भुक्तानी गरिसकेको र बाँकी ८० प्रतिशत जुन महिनाभित्र चार किस्तामा तिर्ने प्रतिबद्धतासहितको पत्र ठूला करदाता कार्यालयमा पठाएको बताएका हुन्।

उनले सर्वोच्च अदालतको २०७६ भदौ ९ गतेको आदेशले २०७६ मंसिर १९ गते आयकर ऐन २०५८ को दफा १ सय २० बमोजिम पुँजीगत लाभकरबापत २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार ९ सय ५५ रुपैयाँ ५ पैसा निर्धारण गरेको बताए। त्यससँगै २०७६ पुस ६ गते एनसेललाई लाभकर बुझाउन ठूला करदाता कार्यालयले पत्राचार गरेको र २०७६ पुस १५ गते एनसेलले ४ अर्ब ५० करोड बुझाएको उनले जानकारी दिए। त्यससँगै एनसेलले बाँकी रकम सन् २०२० को जुन महिनासम्म किस्तामा तिर्नपाऊँ भनी पत्र पठाएको समेत उनले बताए।

उनले एनसेलले मार्च महिनाको अन्त्यमा ४ अर्ब ५४ करोड रुपैयाँ, अप्रिल महिनाको अन्त्यमा ४ अर्ब ५४ करोड रुपैयाँ, मे र जुन महिनाको अन्त्यमा पनि चार अर्ब ५४ करोड रुपैयाँको दरले गरी चार किस्तामा कुल १८ अर्ब १८ करोड रुपैयाँ भुक्तानी गर्ने समयसूचीसहितको पत्र पठाएको तर ठूला करदाता कार्यालयले त्यसको जवाफ नपठाएको बताए। उनले एनसेलले समयमा लाभकर भुक्तानी नगरेकाले भुक्तानी गर्न बाँकी रकममा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने समेत बताए।

बैठकमा सांसदहरुले एनसेलले तिर्न बाँकी लाभकरमध्ये २० प्रतिशत भुक्तानी गरेको र बाँकी रकम किस्तामा तिर्ने बताए पनि असुल हुने सुनिश्चितता भए/नभएको जानकारी गराउनुपर्ने बताएका थिए। सांसद प्रेम बहादुर आलेले एनसेलले किस्तामा भुक्तानी गर्ने बताए पनि त्यसको सुनिश्चितता नभएसम्म ताकेता गरिरहनुपर्ने बताए।

सांसद राजेन्द्र कुमार केसीले ठूला करदाता कार्यालयले कर निर्धारण फरक फरक गरिरहेको आरोप लगाएका थिए। ‘ठूला करदाता कार्यालयले कहिले ४२ अर्ब कहिले ६८ अर्ब कहिले ६३ अर्ब कर निर्धारण गरिरहेको छ। तर अहिले फेरि २२ अर्ब निर्धारण गरेको छ। अदालतले निर्धारण गरिदिएको या ठुला करदाता कार्यालयले आफैँ निर्धारण गरेको हो स्पष्ट भएन’, सांसद केसीले भने। उनले कर निर्धारण फरक फरक हुनुको जवाफ मन्त्रालयले दिनुपर्ने समेत बताए।

सांसदहरुको प्रश्नको जवाफ दिँदै राजस्व सचिव ढुंगानाले ठुला करदाता कार्यालयले निर्धारण गरेको ६२ अर्ब ६३ करोड लाभकरमध्ये एनसेलले २०७४ जेठ २१ गतेसम्म २३ अर्ब ५७ करोड रुपैयाँ तिरिसकेको र बाँकी ३९ अर्ब ६ करोड रुपैयाँ भुक्तानी गर्दिन भन्दै सर्वोच्च गएपछि सर्वोच्च अदालतको पूर्णपाठले कर कार्यालयले लगाएको दफा १ सय २० ‘क’ को व्यवस्थाअनुसारको थप जरिवाना नलगाउन आदेश दिएको बताए।

सोहीअनुसार एनसेललाई १७ अर्ब ९५ करोड रुपैयाँ थप जरिवाना नलगाई २१ अर्ब ११ करोड रुपैयाँ कर निर्धारण गर्दाको दिनसम्मको बाँकी रकमको ब्याज समेत हिसाब गरी निर्धारण गर्न आदेश भएअनुसार २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार ९ सय ५५ रुपैयाँ ५ पैसा लाभकर निर्धारण भएको राजस्व सचिव ढुंगानाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .