ad ad

कारोबार


कामपाले उठायो पहिलो चौमासिकमा तीन अर्ब राजस्व

कामपाले उठायो पहिलो चौमासिकमा तीन अर्ब राजस्व

नेपालखबर
मंसिर ६, २०८० बुधबार १४:२६, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व सङ्कलन गरेको छ।

उक्त रकम गत आवको सोही अवधिको भन्दा १७ करोड रुपैयाँले बढी हो। कामपाले गत आवको पहिलो चौमासिकमा दुई अर्ब ७५ करोड ९८ लाख ६४ हजार रुपैयाँ राजस्व उठाएको काठमाडौँ महानगरपालिका राजस्व विभाग प्रमुख धुव्र काफ्लेले बताए।

उनका अनुसार चालु आवको चार महिनामा सबैभन्दा धेरै घरबहाल कर रु. ८१ करोड ९२ लाख र सम्पत्ति कर रु. ४१ करोड ८६ लाख सङ्कलन भएको छ।

कामपाले चालु आवका लागि १० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ। पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ।

‘गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन्। बहाल करतर्फ पनि करदाता उल्लेख्य रूपमा बढेका छन्’, काफ्ले भन्छन्, ‘पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन्।’

अहिले कामपामा तीन लाखभन्दा बढी करदाता रहेको काफ्लेले जानकारी दिए। राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय लामो समयदेखिको बक्यौता रकमसमेत उठ्न थालेको उनले बताए।

कामपाले ३२ वटै वडा कार्यालयबाट राजस्व सङ्कलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्न थालेको उनी बताउँछन्।

लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाका कारण तिर्न आनाकानी गरिरहेका करदाताका लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व सङ्कलनमा थप सहज भएको छ।

यसअघि राजस्व तिर्नका लागि वार्षिक तीन लाखसम्म सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढीका लागि कामपाको केन्द्रमा आउनुपर्ने व्यवस्था थियो। राजस्व विभाग प्रमुख काफ्लेका अनुसार हाल कामपाले सम्पत्ति, बहाल, मनोरञ्जन, व्यवसाय, विज्ञापनलगायत नौ शीर्षकमा कर सङ्कलन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .