ad ad

कारोबार


नेपाल टेलिकमको नाफा तीन महिनामा करिब ९ प्रतिशतले घट्यो

नेपाल टेलिकमको नाफा तीन महिनामा करिब ९ प्रतिशतले घट्यो

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार १६:४८, काठमाडौँ

नेपाल टेलिकमको यस आर्थिक वर्षको पहिलो तीन महिनाको आम्दानी साढे ३ प्रतिशतले घटेको छ। खुद नाफा भने झण्डै ९ प्रतिशतले घटेको छ।

अधिकांश हिस्सा सरकारी स्वामित्व रहेको टेलिकमले गत साउनदेखि असोजसम्म १० अर्ब ६४ करोड ८७ लाख रुपैयाँ कमाएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो रकम ३ दशमलव ५४ प्रतिशतले कम हो।

गत वर्षको यही अवधिमा टेलिकमले ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ कमाएको थियो। यसपालि टेलिकमको आयमा ३९ करोड १२ लाख ९७ हजार रुपैयाँले कमी आएको छ।

टेलिकमको तीन महिनाको खुद मुनाफा २ अर्ब २ करोड ७४ लाख रहेको छ। उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा १९ करोड ८० लाख ७४ हजार रुपैयाँ कम हो। अर्थात्, टेलिमको नाफा ८ दशमलव ९० प्रतिशतले घटेको छ। 

गत वर्ष यही अवधिमा २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको प्रतिसेयर आम्दानी यस त्रैमासिक अवधिमा ४५ दशमलव ५ रहेको छ। 

ओटीटीमा सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत कमी आएको, आर्थिक मन्दीको कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मक रुपमा कमी आएको, विदेशी विनिमय दरमा भएको परिवर्तन, प्रतिकूल मौसमका कारण विद्युत आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेको लगायत कारणले आम्दानी घटेको टेलिकमले जनाएको छ।

यस्तै, विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, नान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापनका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुगेको र नेटवर्क विस्तारमा समेत प्रभाव परेको टेलिकमले जनाएको छ। 

बैंक व्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी पनि घटेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .