राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्यालेस्टाइनी जनता र नेपालीको पीडा उस्तै भएको बताएका छन्।
सोमबार काठमाडौंको शान्तिवाटिकामा आयाजित विरोध सभालाई सम्बोधन गर्दै महासचिव भट्टले प्यालेस्टाइनीहरु इजरायलविरुद्ध लडेजस्तै नेपाली जनता भारतीय साम्राज्यवादविरुद्ध स्वाधिनताको लडाइँ लड्नुपरेको बताए।
‘प्यालेस्टाइन र नेपालको पीडा उस्तै उस्तै छ’ उनले भने, ‘प्यालेस्टाइनी जनता आफ्नो देशको स्वाधीनताका लागि लडिरहेका छन्, हामी पनि हाम्रो देशको स्वाधीनताका लागि लडिरहेका छौँ ।’
महासचिव भट्टले कालापानी, सीमा अतिक्रमणलगायतका विरुद्ध नेपाली जनताले भारतीय साम्राज्यवादका विरुद्ध लडिरहेको उल्लेख गरे।
उनले उस्तै उस्तै पीडा भएकाले प्यालेस्टाइनी जनतासँग नेपाली जनतासँग भाइचारा सम्बन्ध रहेको बताए।
‘हामी दुवै देशका जनता साम्राज्यवादको विरुद्ध लडिरहेको हुनाले हाम्रामाझमा भाइचारा सम्बन्ध कायम भएको छ’ उनले भने सन् १९४७ सम्म विश्व मानचित्रमा इजरायल नरहेको बताउँदै उनले अहिलेको इजरायल नै पहिलेको प्यालेस्टाइनी भूमि भएकाले प्यालेस्टाइनी जनताद्वारा आफ्नो भूमिका लागि सङ्घर्ष गर्नु जायज भएको तर्क गरे।
‘जसरी हामीले कालापानी फिर्ता गर्नका लागि निरन्तर आवाज उठाइरहेका छौँ’ महासचिव भट्टले भने, ‘त्यसै गरी प्यालेस्टाइनी जनताले आफ्नो मातृभूमि फिर्ता ल्याउनका लागि सङ्घर्ष गर्नु जायज छ।’
नेता भट्टले हमास र त्यसले अपनाएको सङ्घर्षको रूपप्रति आफूहरूको विमती रहेको बताए।
प्यालेस्टाइनी जनताको मानवअधिकारको पक्षमा र युद्धको विरोधमा राष्ट्रिय जनमोर्चा काठमाडौंले विरोध कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विक (तुलप्रसाद विश्वकर्मा)ले दोस्रो विश्वयुद्धमा हिटलरको फासिवादबाट बच्च देश छोडेकाहरू प्यालेस्टाइनमा गएर बसेको बताउँदै अमेरिकी साम्राज्यवाद र बेलायती साम्राज्यवादले तिनैका लागि प्यालेस्टाइनी जनतालाई लखेटेर एक्कासि इजरायल देश खडा गरेको बताए।
सांसद विश्वकर्माले नेपालमा पनि अमेरिकी सहयोग परियोजना एमसीसी मार्फत प्यालेस्टाइन बनाउन खोजिएको दाबी गरे।
Shares

प्रतिक्रिया