ad ad

कारोबार


स्याङ्जाकाे मिर्मीमा नयाँ सबस्टेसन सञ्चालनमा

स्याङ्जाकाे मिर्मीमा नयाँ सबस्टेसन सञ्चालनमा

नेपालखबर
माघ १६, २०७६ बिहिबार ११:६,

नेपाल विद्युत् प्राधिकरणले स्याङ्जाको मिर्मीमा नयाँ सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ। ने.वि.प्रा. योजना तथा प्राविधिक सेवा विभागअन्तर्गतको विस्तारित विद्युत् वितरण आयोजना र वितरण प्रणाली सुदृढीकरण आयोजनाको संयुक्त प्रयासमा उक्त सबस्टेसन निर्माण गरिएको हो।

कालीगण्डकी जलविद्युत् केन्द्रको ड्यामसाइटनजिक रहेको कर्मचारी आवास क्षेत्रको छेउमा साबिकको इटाली चोकमा रहेको पुरानो जीर्ण सबस्टेसनमा ३३/११ के.भी. १.५ एम.भी.ए. क्षमताका दुईवटा पावर ट्रान्सफर्मरबाट लाइन वितरण गरिएको थियाे। उक्त सबस्टेसनको स्तरोन्नति गरी ३३/११ के.भी., ६/८ एम.भी.ए.को पावर ट्रान्सफर्मर जडान गरिनुका साथै करिब १२ किलो मिटर ११ के.भी. लाइन समेत निर्माण गरिएको छ।

२०६८ देखि उक्त स्थानमा एसियाली विकास बैंकको सहयोगमा सबस्टेसन निर्माण कार्यको थालनी गरिए पनि उक्त ठेक्का लिएको भारतीय निर्माण कम्पनी अरावली इन्फ्रा पावर लिमिटेडले निर्धारित समयमा काम सम्पन्न नगरेको कारण उसले सम्पन्न गर्न बाँकी रहेको काम बंगलादेशको इनर्जी प्याक इन्जिनियरिङ लिमिटेडले पूरा गरेको हो। हाल उक्त स्थानमा सञ्चालन गरिएको सबस्टेसनबाट स्याङ्जाको मिर्मीलगायत सेतिबेनी, बिर्घा र गल्याङको केही भाग, गुल्मी जिल्लाको केही भाग, पर्वतको केही भाग लगायत रुरु क्षेत्रमा समेत विद्युत् सेवाको गुणस्तरमा सुधार र वितरण प्रणालीमा सहज भई करिब ९ हजार घरधूरीले गुणस्तरीय र भरपर्दो विद्युत् प्रयोग गर्न पाएको स्याङ्जा वितरण केन्द्रका प्रमुख इ. दिलिप मरासिनीले बताए।

हाल उक्त नयाँ सबस्टेसनबाट बिर्घा र सेतीबेनी फिडर सञ्चालन गरिएको छ भने थप अर्को ११ के.भी. फिडरको लागि लाइन वितरण गर्ने संरचना समेत तयारी अवस्थामा राखिएको आयोजनाका सहायक इन्जिनियर दुर्गादत्त सुवेदीले बताए। उक्त सबस्टेसन निर्माणको क्रममा साबिकको ठेकेदार कम्पनीले प्राधिकरणको स्वामित्वको जग्गामा निर्माणकार्य जारी राखेको समयमा केही स्थानीय बासिन्दाबाट काममा रोकावट भई काम हुन नसकेकोमा हाल उक्त स्थानमा कालीगण्डकी गाउँपालिका, स्याङ्जा वितरण केन्द्र र कालीगण्डकी जलविद्युत् केन्द्रको समन्वयमा उक्त नो लाइट भवनको बाँकी काम समेत अबको १ महिनाभित्र सम्पन्न हुने गरी निर्माणकार्यलाई अगाडि बढाइएको आयोजना प्रमुख बोधराज ढकालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .