खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलवारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरु गरेको छ।
व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा सोमवार काठमाडौंमा ल्याएसँगै मंगलवारदेखि सहुलियत मूल्यमा बिक्री सुरु गरेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले व्यापार कम्पनीले बजार मूल्य भन्दा केही सस्तो मूल्यमा जनतालाई सहुलियत रुपमा खसीबोका बिक्री गर्न लागेको बताए।
उनले यो वर्ष ढुवानी भाडा महँगो भएपनि मूल्य वृद्धि नगरिएको बताउँदै उनले विगतको वर्षको जस्तै प्रतिकिलो जिउँदो खसीबोका र च्याँग्राको मूल्यमा १० रुपैयाँ छुट दिएर बिक्री गर्न लागेको बताए।
‘यो वर्ष सरकारले २ हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याउने बजेट थियो। त्यही बजेट अनुसार हेटौडाबाट र तुलसीपुर दाङबाट खसी बोका खरिद गरेर ल्याई रहेका छौं। धेरै जसो आईपुगि सकेको छन्। त्यस्तै च्याङ्ग्रा पनि आइसकेको छन्,’ उनले भने, ‘खसीबोका र च्याङ्ग्राको मूल्यको कुरा गर्दा ढुवानी भाडामा वृद्धि भए पनि जनतालाई सहुलियत होस् भनेर गत वर्षकै दरमा हामीले मूल्य निर्धारण गरेका छौ। त्यही अनुसार बिक्रि वितरण भइरहेको छ। खाद्यले खसी बोका खरिद गर्दा भेटनरी डाक्टरको रोहवरमा खरिद गछौं।’
उनले कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ५० रुपैयाँ प्रतिकिलो तोकिएको बताए। उनले खाद्यले यो वर्ष पनि २ हजार खसीबोका र १ हजार च्याङ्गा ल्याएको बताए। उनले खाद्यले ल्याएका खसीबोका स्वास्थ्य परीक्षण गरेर ल्याउने भएकाले स्वस्थ रहेको बताए।
‘खाद्यमा आइपछि डाक्टरले चेकजाँच गर्नुहुन्छ। अस्वस्थ खसी बोका भए बिक्रीवितरण गर्दैनौं। हेटौडा र दाङबाट ल्याएका खसीबोकाको रङ फरक लगाएका छौं। विगतमा सहकारी मार्फत धादिङबाट ल्याएका थियौं। तर यो वर्ष धादिङबाट ल्याउने सम्भावना कम भएर दाङबाट ल्याएका छौं। अहिले आएका खसीहरु स्वस्थ रहेका छन्। यो वर्ष खसीबोकामा मूल्यवृद्धि गरेका छैनौं,’ उनले भने, ‘बजार मूल्य भन्दा धेरै कम छ। बजारमा च्याङ्गा १४ सय रुपैयाँमा बिक्री भइरहेको छ भने १२५० मा बिक्री वितरण गरेका छौं। बजारमा खसीको ७ सय रुपैयाँ माथि छ तर हामीले ६७० रुपैयाँमा दिएका छौं।’
प्रमुख कार्यकारी अधिकृत चन्दले यो वर्ष हेटाँैडा र तुलसीपुरबाट खसीबोका र रसुवाबाट च्याङ्ग्रा ल्याएको बताए।
‘सरकारले बजारको मागलाई भन्दा पनि बजार मूल्य वृद्धि हुन नदिनको लागि आफै खसी बोका खरिद गरेर बिक्रीवितरण गरिएको हो। दसैँमा सबै खसीबोका र च्याङ्ग्रा बिक्री नभएसम्म बिक्री गर्छौं,’ उनले भने।
उनले सरकारले बजारको मागलाई पूरा गर्न भन्दा पनि बजार मूल्यवृद्धि हुन नदिनको लागि आफैं खसी बोका खरिद गरेर बिक्री वितरण गरिएको बताए।
Shares

प्रतिक्रिया