कारोबार


नयाँ लगानीकर्ता भित्र्याएर पब्लिक कम्पनीमा रुपान्तरण हुँदै यती एयरलाइन्स

नयाँ लगानीकर्ता भित्र्याएर पब्लिक कम्पनीमा रुपान्तरण हुँदै यती एयरलाइन्स

दीपक भट्ट
असोज २३, २०८० मंगलबार १९:११, काठमाडौँ

यती एयरलाइन्स लगानीको नयाँ संरचनामा जाने भएको छ। नेपालको हवाई क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको यतीले प्रमोटर सेयरधनी नै नयाँ भित्र्याएर पब्लिक कम्पनी बन्ने तयारी गरेको हो।

यती एयरलाइन्स स्थापना भएको २५ वर्ष भैसकेको छ। आङ छिरिङ शेर्पाले यो एयरलाइन्सको स्थापना गरेका थिए। सन् १९९८ मे मा तत्कालीन हवाई विभागबाट अनुमतिप्राप्त कम्पनीले १९९८ सेप्टेम्बर २१ देखि आफ्नो व्यावसायिक यात्रा सुरु गरेको थियो।

स्थापना कालमा दुई वटा ट्विनअटरबाट उडान सुरु गरेको कम्पनीले आफ्नो निरन्तर विमानहरु थपेर सेवा प्रदान गरिरहेको छ। यस कम्पनीले डीएचसी–६ ३०० ट्विनअटर, डोर्नियर २२०, वाई–१२, ईएमबी–११०, ईएमबी–१२०, साब–३४० बी, जेटस्ट्रिम जे–४१, डीएचसी–६ ४०० ट्विनअटर तथा एटीआर–७२ ५०० जस्ता ४० भन्दा धेरै विमान नेपालमा ल्याएर सेवा प्रदान गरिरहेको छ।  

एक हजार जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको यस कम्पनीले नेपालमा धेरै प्राविधिक तथा दक्ष हवाई जनशक्ति समेत उत्पादन गरिसकेको छ। 

शेर्पा घरानाको मात्रै लगानी रहेको यतीले अब ४९ प्रतिशत सेयर बिक्री गर्ने भएको छ। नयाँ लगानीकर्ता ल्याउन यतीले एसियन लाइफ इन्स्योरेन्ससँग छलफल समेत अघि बढाइसकेको छ। 

करिब आधा सेयर एसियन लाइफ इन्स्योरेन्सलाई बेच्न राजी भएको यतीले सम्झौतामा हस्ताक्षर गर्न मात्र बाँकी छ।

यता एसियन लाइफले पनि यती एयरमा लगानी गर्न अनुमति लिइसकेको छ। बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट अनुमति लिएको हो। 

प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपालखबरसँग भने, एसियन लाइफले यती एयरलाइन्सको सेयर खरिदकै लागि भनेर आवेदन दिएको थियो। त्यसका लागि हामीले स्वीकृति समेत प्रदान गरिसकेका छौं।’

कुनै बीमा कम्पनीले संस्थापत रुपमा नै अन्यन्त्र लगानी गर्छु भन्यो भने त्यसको अधिकार हुने उनको भनाइ छ।

प्राधिकरणमा एसियन लाइफले राखेको प्रस्ताव अनुसार उसले १ सय ७० रुपैयाँ प्रतिकित्ताका दरले यतीको सेयर किन्नेछ। जस अनुसार अनुमति लिएको सबै सेयर एसियन लाइफले खरिद गर्ने हो भने डेढ अर्ब रुपैयाँभन्दा बढी खर्चिनुपर्ने हुन्छ।

एसियन लाइफ इन्स्योरेन्स २०६४ फागुन १५ गते बीमकको रुपमा इजाजतपत्र प्राप्त गरी २०६४ चैत २१ गतेदेखि सञ्चालनमा आएको जीवन बीमा कम्पनी हो।

एसियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब १५ करोड रुपैयाँ छ। कम्पनीका संस्थागत संस्थापक शेयरधनीहरुमा महालक्ष्मी विकास बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स लिमिटेड छन्। 

सञ्चालक समितिका सदस्यहरु र अन्य व्यक्तिगत लगानीकर्ता पनि अन्य पेसा तथा व्यवसाय जस्तैः बैंक, बीमा कम्पनीहरु, वित्तीय संस्थाहरु आदिमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकाहरु छन्। अहिले यस कम्पनीको अधयक्ष दीपककुमार श्रेष्ठ छन्। त्यस्तै, व्यवस्थापनतर्फको नेतृत्व सीईओ दिनेशलाल श्रेष्ठले गरिरहेका छन्।

यती एयरलाइन्सले भने एसियन लाइफललाई भित्र्याएपछि पब्लिक कम्पनी बनाउने योजना तयार गरेको छ।

दुई हप्ताअघि अर्थात् असोज ८ गते यती एयरलाइन्स २५ वर्ष पुगेको अवसरमा एक कार्यक्रम आयोजना भयो। एयर कम्पनीहरुको नियमन र प्रवद्र्धन गर्ने निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणमा नै आयोजना भएको कार्यक्रममा यती एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पाले यतीलाई निकट भविष्यमा पब्लिक कम्पनीमा लैजाने योजना रहेको बताए।

‘यती एयरलाइन्सको चाहना अब सर्वसाधारणको समेत लगानी रहेर अघि बढ्नु हो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .