कारोबार


मदन खरेललाई हटाउन सामूहिक राजीनामाको चेतावनी दिएका होइनौँः पाइलट

मदन खरेललाई हटाउन सामूहिक राजीनामाको चेतावनी दिएका होइनौँः पाइलट

नेपालखबर
माघ १०, २०७६ शुक्रबार ९:१६,

नेपाल वायुसेवा निगममा कार्यरत पाइलटहरुले पूर्वकार्यकारी अध्यक्ष मदन खरेललाई हटाउन र नेपाल भ्रमण वर्षलाई असर पार्न आफूहरुले राजीनामाको चेतावनी नदिएको बताएका छन्।

एक्कासि राजीनामाको समाचार बाहिरिएपछि कतिपयले तत्कालीन कार्यकारी अध्यक्ष खरेललाई हटाउन पाइलटहरुको राजीनामा पत्रलाई कारण मानिरहेका बेला पाइलटहरुले त्यसको खण्डन गरेका हुन्। उनीहरुले राजीनामा चेतावनी पत्रलाई राजीनामा नै दिएको भनेर दुष्प्रचार गरिएको समेत बताएका छन्।

उक्त पत्रमा हस्ताक्षर गरेका वरिष्ठ पाइलट रवीन्द्र कुमार शेरचनले नेपालखबरसँग भने, ‘यो राजीनामा हैन, नेपाली र विदेशी पाइलटबीच लगातार भएको विभेदका विरुद्ध हामीले सामूहिक रुपमा आवाज मात्रै उठाएका हौँ।’

खरेललाई हटाउन राजीनामा पत्रको नाटक गरिएको हो कि भन्ने नेपालखबरको प्रश्नमा उनले त्यसलाई नकार्दै आफूहरुको माग सेवासुविधाका लागि मात्रै भएको स्पष्ट पारे। उनीहरुले उक्त राजीनामा पत्र गत माघ ३ गते नै तयार पारेका थिए।

माघ ३ मै तयार गरिएकाे पाइलटकाे हस्ताक्षरसहितकाे पत्र।

यद्यपि बिहीबार मात्रै व्यवस्थापनमा दर्ता भएको थियो। व्यवस्थापनमा ११५६ नम्बरमा राजीनामा चेतावनी पत्र दर्ता भएको छ। यसअघि माघ ५ गते खरेलले राजीनामा दिएका थिए। सोही कारण खरेललाई हटाउन पाइलटलाई उचालिएको कतिपयको आशंका छ।

पर्यटनमन्त्री याेगेश भट्टराई पनि खरेलसँग असन्तुष्ट थिए। 

दुष्प्रचार भयो
समाचार बाहिरिएपछि धेरैले भ्रमण वर्षको मुखमा पाइलटहरुले सामूहिक राजीनामाको चेतावनीसहितको पत्र दिँदै भ्रमण वर्ष–२०२० को सुरुवातमै खराब सन्देश दिने र प्रभावित पार्न खोजेको आरोप लगाएका छन्। पाइलट शेरचनले निगमका विदेशी पाइलटले मासिक १० देखि १३ हजार डलरसम्म तलब खाँदै आएको र कर पनि सरकारले नै तिरिरहेको तर नेपाली पाइलटका हकमा भने ४–५ हजार डलरमात्रै तलब रहेको र त्यसबाट पनि करकट्टी हुने गरी आफूहरुमाथि विभेद गरिएको उनले बताए।

याे पनि
वायुसेवा निगमको कार्यकारी अध्यक्षबाट मदन खरेलको राजीनामा

सरकारले अहिले दिँदै आएको तलबमा करमात्रै नकाट्ने हो भने पनि आफूहरुको माग सम्बोधन हुने उनले बताए। भ्रमण वर्ष २०२० लाई प्रभावित गर्ने आफूहरुको सामूहिक राजीनामा दिएको भनी गरिएको दुष्प्रचारप्रति उनले चित्त दुखाए।

‘हामीले हाम्रा मागहरु सम्बोधन नभए राजीनामा दिनसक्छौं भनेका हौँ। राजीनामै दिन्छौं भनेका छैनौं। तीन महिनापछि दिन पनि सक्छौं नगर्नपनि सक्छौं,’ उनले भने, ‘व्यवस्थापनमा चलखेल, भ्रमणवर्ष प्रभावित गर्न गरियो भन्ने गरी यसलाई दुष्प्रचार गरियो।’

चेतावनीमात्रै हाे, असन्तुष्टि पाेख्नुभएकाे छः प्रवक्ता चन्द
निगमका २२ जना स्थायी दरबन्दीका पाइलटले सामूहिक राजीनामाको चेतावनी दिएको प्रवक्ता गणेश बहादुर चन्दले जानकारी दिए।

‘यो उहाँहरुको असन्तुष्टि मात्रै हो’, उनले भने, ‘विदेशी पाइलटसरह आफूहरुले पनि पाउनुपर्ने भन्दै उहाँहरुले असन्तुष्टिसहितको राजीनामा चेतावनी पत्र बुझाउनुभएको हो। यसको प्रक्रिया नयाँ एमडीले पदभार ग्रहण गरेपछि अघि बढ्छ।’

प्रवक्ता चन्दका अनुसार विदेशी पाइलट करारमा नियुक्त भएकाले १० देखि १३ हजार डलरसम्म तलब पाउँछन्। स्वदेशी स्थायी पाइलटले ५ देखि १० हजार डलरसम्म पाउँछन्। दुवैखाले पाइलटले उडानको आधारमा थपघट तलब बुझ्छन्।

एकैपटक अन्तर्राष्ट्रियतर्फका विमान उडाउने पाइलटले सामुहिक राजीनामाको चेतावनीसहितको पत्र बुझाएपछि त्यसबारे विभिन्न धारणाहरु सार्वजनिक भएका छन्। बिहीबार व्यवस्थापकलाई बुझाइएको उक्त पत्रमा आफ्ना मागहरु पूरा नभए तीन महिनापछि सामूहिक राजीनामा दिने उनीहरुको चेतावनी छ।

राजीनामा दिने चेतावनी पत्रमा पाइलटहरु श्रवण रिजाल, प्रदीप राजभण्डारी, सुवास रिजाल, प्रचण्ड खड्का, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, आरके शेरचन, सञ्जय पौडेल, मुकेश कुमार गुप्ता, सुनिल श्रेष्ठ, अर्पित श्रेष्ठ, प्रशान्त राईलगायतले हस्ताक्षर गरेका छन्।

निगमको प्रमुख कार्यकारीलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा चेतावनी पत्रमा उनीहरुले धेरै उडानमा नेपाल वायुसेवा निगमको पाइलटको स्थायी कर्मचारीका रुपमा काम गरेको उल्लेख गर्दै आफूहरुप्रति व्यवस्थापकीय पक्षले विभेद गरेकोले उल्लेख गरेका छन्।

सम्झौतामा आधारित रहेर काम गरिरहेका पाइलटको तुलनामा आफूहरुमाथि विभेद भएको उनीहरुको आरोप छ। पत्रमा उनीहरुले भनेका छन्, ‘नेपालका निजी क्षेत्रका र विदेशी एयरलाइन्सका पाइलटको तुलनामा हामीले निकै कम पारिश्रमिक पाएका छौँ, यो बारे व्यवस्थापनलाई अवगत नै छ।’ यसका बाबजुद व्यवस्थापनले आफूहरुलाई कुनै सूचनाविनै महिनाबारी तलबमा करसँगै अन्य पैसा समेत काट्न थालेकाले राजनीमा दिन बाध्य हुनुपरेको उनीहरुले बताएका छन्।

यसको तुलनामा निगमले सम्झौतामा काम गरिरहेका पाइलटहरुको भने सबै कर समेत तिरिरहेको उनीहरुको भनाइ छ। एक्स्प्याट (विदेशबाट आएका र सम्झौतामा काम गरिरहेका)हरुको तलब समेत राम्रो रहेको पाइलटहरुले पत्रमा उल्लेख गरेका छन्।

यसले स्थायी पाइलटलाई अपमान गरेको उनीहरुले बताएका छन्। महंगा पाइलटलाई निगममा ल्याउने तर यहाँ भएकालाई राम्रो पारिश्रमिक समेत नदिँदा आफूहरुमाथि विभेद भएको उनीहरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad