रिबुक, एडिडास, फिला, नर्थफेस, नाईकी जस्ता विश्व प्रख्यात ब्राण्डमा बस्तु आयतमा राजश्व छली हुने गरेको पाइएको छ।
सागर एण्ड साधना बिजनेस प्रालिले उक्त ब्राण्डका दुई करोड २३ लाख रुपैयाँ मूल्य बराबरको जुत्ता राजश्व छली गरी भित्र्याएको पाइएपछि थप अनुसन्धान अघि बढाइएको छ।
लेखा नं ३०२६७२७४३० भएको सागर एण्ड साधना बिजनेस प्रालिले मेची भन्सार कार्यालयबाट ख्यातिप्राप्त ब्रान्डका जुत्तालाई सामान्य व्राण्डका र अर्कै मालवस्तु भनि ठुलो परिमाणमा राजस्व चुहावट गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ।
लिला बहादुर घिमिरे र गंगा बहादुर घिमिरे सञ्चालक रहेको सागर एण्ड साधना बिजनेस प्रालिले भन्सार एजेन्टसँगको मिलेमतोमा भन्सार कार्यालयबाट जाँचपास गराई सामान पैठारी गरेको हो। फ्ल्याट सोल जुत्ता र स्पोट्र्स जुत्तामा उत्पत्तिको मुलुक इन्डोनेशिया, भियतनाम हुनुपर्नेमा चीन देखिएको छ।
विभागले राजस्व चुहावट गर्ने दुरासय राखी मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, गुणस्तर एवं मालवस्तुको उत्पत्तिको मुलुक समेत फरक पारी यथार्थ कारोबार मुल्य भन्दा न्यून मुल्य घोषणा गरी मालवस्तुको भौतिक विशेषता, गुणस्तर फरक पारी राज्यलाई बुझाउनुपर्ने कर छल्ने प्रपन्च रचेको भन्दै सञ्चालकद्वय तथा भन्सार एजेन्ट विरुद्ध मुद्दा दायर गरेको छ।
विभागले भन्सार छलिका जुत्ता जफत गरी विगो रकमको दोब्बर चार करोड ६४लाख रुपैयाँ जरिवाना तथा दोषी उपर ३ वर्षसम्म कैद माग दावी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
फर्मका सञ्चालकसँगै राजस्व चुहावट गर्ने कार्यमा भन्सार एजेन्ट दिपेन्द्रराज पाण्डेको पनि संलग्नता देखिएको हुँदा भन्सार ऐन २०६४ को दफा ५३ अनुसार उनीमाथि पनि कारवाही माग गरिएको छ।
Shares

प्रतिक्रिया