कारोबार


सर्वसाधारणका लागि ८ वर्षपछि खुल्यो तातोपानी नाका

सर्वसाधारणका लागि ८ वर्षपछि  खुल्यो तातोपानी नाका

शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट पैदल हिँडेर सर्वसाधारणसँगै चीनतर्फ प्रस्थान गर्दै प्रतिनिधिसभा सदस्य माधव सापकोटा


नेपालखबर
भदौ १५, २०८० शुक्रबार १०:४८, काठमाडौँ

आठ वर्षपछि आजबाट सिन्धुपाल्चोकको तातोपानी नाका सर्वसाधारणको लागि खुला भएको छ। 

चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबार बिहानदेखि सर्वसाधारणको लागि  खुला भएको हो। 

भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटासहितका ३० जना स्थानीयले चिनियाँ क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार बिहानबाट तातोपानी नाका खुला गरिएको हो।

नाका खुला भएसँगै लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका स्थानीय बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरे। त्यसक्रममा सांसद सापकोटा आफैं पनि मितेरी पुल तरेर चीनतर्फ प्रस्थान गरेका थिए। 

सांसद सापकोटासहितको टोलिलाई चिनियाँहरुले भव्य स्वागत गरेका छन्। 

‘यो ऐतिहासिक क्षणको साक्षी बनेर खुसी साट्न पाउँदा खुसी लागेको छ,’ सापकोटाले भने, ‘आजबाट नाका पूर्णरुपमा सञ्चालनमा आएको छ।’

गएको मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने गरी नाखा खुला गर्ने निर्णय गरेको थियो। 

निर्णय अनुसार आजबाट तातोपानी नाका स्थानीय सर्वसाधारणको लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। 

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएको थियो। भूकम्पपछि ०७६ साल फागुनमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो ।

तीन महिनाअघिदेखि तातोपानी नाकाबाट मालवाहक सवारीको आवतजावत खुला गरिएको थियो।

नाका खुला भएसँगै सिन्धुपाल्चोकका स्थानीयले अब आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad