कारोबार


काठमाडौंलाई ट्रान्जिट बनाएर आजदेखि भैरहवाबाट हङकङ र दिल्ली उडान हुने

काठमाडौंलाई ट्रान्जिट बनाएर आजदेखि भैरहवाबाट हङकङ र दिल्ली उडान हुने

नेपालखबर
भदौ १२, २०८० मंगलबार ७:३१, काठमाडौँ

नेपाल वायुसेवा निगमले आजदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि हङकङ तथा दिल्ली उडान गर्ने भएको छ। 

काठमाडौँलाई ट्रान्जिट बनाएर यो उडान गर्न लागिएको निगमले जनाएको छ।

निगमले आज (१२ भदौ) देखि नियमित रूपमा उडान भर्ने गरी बुकिङ खुला गरेको छ।

सुरुमा भैरहवाबाट हप्ताको एक उडान मात्र हुनेछ। हरेक मंगलबार हुने यो उडान बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार बढाउँदै जाने योजना निगमले बनाएको छ।

उडान तालिकाअनुसार आज बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौँमा अवतरण गर्नेछ।

तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्नेछन्।

मंगलबार ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई  गन्तव्य देशमा पठाउने तयारी छ। 

यसअघि निगमले भैरहवाबाट सिधै दिल्ली उडानको तयारी गरे पनि  भारतले उडान अनुमति दिएको छैन।

यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा पुगेर लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

निगमले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा हङकङ र दिल्ली उडान सुरु गर्न लागिएको जनाएको छ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल मलेसियालगायतका राष्ट्रमा उडान हुने गरेका छन्। मलेसियाको उडान नेपाल एअरलाइन्सले गर्दै आएको छ।

गत जेठमा विमानस्थल उद्घाटनकै दिनदेखि कुवेतको जजीरा एअरवेजले पनि यो विमानस्थलबाट उडान भर्न सुरु गरेको थियो। तर, त्यसको केही समयपछि यो उडान बन्द छ।

त्यस्तै, हिमालय एअरलाइन्सले केही समय त्यहाँबाट मलेसियाको क्वालालम्पुरका लागि उडान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad