रिलायन्स इन्डस्ट्रिजले अध्यक्ष मुकेश अम्बानीका तीनै जना छोराछोरीलाई कम्पनीको बोर्डमा नियुक्त गरेको छ। एसियाका सबैभन्दा धनी व्यक्ति अम्बानीले बजार मूल्यांकनको आधारमा भारतको सबैभन्दा ठूलो यो कम्पनीमा व्यवस्थित रुपले उत्तराधिकार हस्तान्तरणको तयारी गरिरहेका छन्।
अम्बानीका ३१ वर्षीय जुम्ल्याहा इशा र आकाश तथा २८ वर्षीय अनन्त गरी तीन सन्तान छन्। सेयर होल्डरहरुले अनुमोदन गरेपछि उनीहरुले बोर्डको जिम्मेवारी सम्हाल्ने छन्। उनीहरुकी आमा नीता अम्बानी भने अब बोर्ड सदस्यबाट हट्ने भएकी छन्। त्यसपछि उनी रिलायन्सको च्यारिटीमा केन्द्रित हुनेछिन्।
अम्बानीले कम्पनीको उत्तराधिकार हस्तान्तरणमा निकै होसियारी अपनाइरहेका छन्। किनभने सन् २००२ मा बुबा धिरुभाइ अम्बानीको मृत्युपछि परिवारमा आएको फाटो यसपटक नआओस् भन्ने उनी चाहन्छन्।
त्यतिबेला अंशबण्डा नगरी धिरुभाइको मृत्यु भएपछि मुकेश र उनका भाइ अनिलबीच व्यावसायिक साम्राज्य हत्याउने विषयमा किचलो भएको थियो। त्यो किचलो उनीहरुकी आमाको मध्यस्थतामा २०१० मा मात्र साम्य भएको थियो।
मुकेश अम्बानीले आउँदो पाँच वर्ष रिलायन्सको अध्यक्षका रुपमा कम्पनीको नयाँ पुस्ताको नेतृत्व तयार गर्नमा गुजार्ने बताएका छन्।
अम्बानी परिवारका कम्पनीहरुसँग रिलायन्सको सेयरको ५०.४ प्रतिशत हिस्साको स्वामित्व छ।
मुकेशका छोरा आकाश यसअघि नै कम्पनीको डिजिटल सब्सिडिअरी रिलाान्स जिओ इन्फोकमका अध्यक्ष हुन्। जसमा ४५ करोड प्रयोगकर्ता भएको मोबाइल नेटवर्क समेत छ।
त्यस्तै, छोरी इशा रिलायन्सको खुद्रा व्यापार गर्ने कम्पनीको नेतृत्व गर्छिन्। तर, उनलाई त्यसको अध्यक्ष बनाइएको छैन। यो आम्दानीका आधारमा भारतकै ठूलो सपिङ प्लाटफर्म हो।
अनन्त भने रिलायन्सको उर्जा व्यवसायमा संलग्न छन्। जसले तेलखानीदेखि सोलार प्यानल निर्माणसम्मको काम गर्छ।
रिलायन्सको वार्षिक साधारण सभाका क्रममा मुकेशका तीन सन्तान बोर्डमा नियुक्त भएको घोषणा गरिएको हो। यसले कम्पनीको कारोबारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। एजेन्सी
Shares

प्रतिक्रिया