कारोबार


कम्प्युटर इन्जिनियरको बाख्राफार्म: ८० लाख लगानी, वार्षिक २० लाख आम्दानी

कम्प्युटर इन्जिनियरको बाख्राफार्म: ८० लाख लगानी, वार्षिक २० लाख आम्दानी

कम्प्युटर इन्जिनियर त्रिभुवन न्यौपाने आफ्नो बाख्रा फर्ममा/तस्बिर रासस


नेपालखबर
भदौ १, २०८० शुक्रबार १२:४८, स्याङ्जा

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गरिरहेका छन्। 

भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गरेका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गरेका हुन्।

भारतमा पढाइ सकेर विसं २०६९ मा नेपाल फर्किएका न्यौपानेले यतिबेला बाख्रापालनबाट वार्षिक १५ देखि २० लाखसम्म आम्दानी गर्दै आएका छन्। 

‘सुरुमा घरकै तरकारी बारी जोत्न हाते ट्रयाक्टर किनेको थिएँ,’ न्यौपानेले भने, ‘हाते ट्रयाक्टरको धेरै माग भएपछि आम्दानी पनि राम्रो भयो, त्यही आम्दानीबाट बाख्रापालन सुरु गरेको हुँ।’

न्यौपानेले विसं २०७० मङ्सिरमा ७७ हजारबाट बाख्रापालन व्यावसाय सुरु गरेका थिए। 

‘गाउँका कृषकको हाते ट्रयाक्टरले खेतबारी जोतेर कमाएको ७७ हजारले तीनवटा बोयर माउ र एउटा बोयर बोका किनेर ल्याएँ, चारवटा स्थानीय जातका माउबाख्रा घरमै थिए’, उनले भने, ‘आठवटा बाख्राबाट भूमिका कृषि तथा पशुपालन फार्म दर्ता गरेर औपचारिकरूपमै व्यवसाय सुरु गरेँ।’

न्यौपानेको बाख्रापालनमा अहिलेसम्म करिब  ८० लाख रुपैयाँ लगानी गरिसकेका छन्।

न्यौपानेसँग हाल १६ लाखमा निर्माण गरिएको आधुनिक बाख्राको खोरमा शुद्ध अष्ट्रेलियन बोयर बोकासहित शुद्ध बोयर माउ र खरी जातमा बोयर क्रस एक सयवटा बढी माउ तथा पाठापाठी छन्। 

न्यौपानेको फार्मबाट धेरैजसो बीउ उत्पादनका लागि बाख्रा बिक्री हुन्छ। यहाँ उत्पादित बाख्रा कास्की, पर्वत, धादिङ, पाल्पा, चितवन, रुपन्देहीबाट पश्चिम बर्दियासम्म र पूर्व झापासम्म निर्यात हुँदै आएको छ। 

फार्मबाट १५ हजारदेखि साढे दुई लाखसम्म पर्ने प्रतिबाख्रा बिक्री हुँदै आएका छन्।

न्यौपानेले करिब एक सय रोपनी जग्गामा मेन्दुला, भटमासे, डिस्मोडियम, मुलेट्रो, सिग्नल, नेपिएर सिओ थ्रि, सिओ फोर, सुपरनेपिएर, राई खनियो, निमारो, चुलेत्रो, तेजपत्ता, कपुर, बडहर, टाँकी, सुडान, जै, वर्षिम, लुसर्न, स्टाइलो, इपिलिपी, किम्बु, ग्वाटेमाला, सितलचिनीलगायत विभिन्न प्रकारका घाँसखेती गरेका छन्।

खोर व्यवस्थापन राम्रोसँग नगरिए बाख्रामा धेरै रोग लाग्ने न्यौपानेले बताए। बड्क्यौलाबाट निस्कने अमोनिया ग्यासबाट बाख्रामा रुघाखोकी, आँखामा कचेरा लाग्ने, तुहिने, थुनेलो, ख्याउटेलगायतका रोग लाग्ने गरेको उनको अनुभव छ।

‘भारतमा पढ्दै जागिर गर्थेँ, जति क्षमता प्रयोग गरे पनि जागिरमा हुने सीमित तलबले आर्थिक समृद्धि हुँदैन भन्ने लाग्यो’, न्यौपानेले भने, ‘व्यवसायमा सही तरिकाले क्षमता प्रयोग गर्न सकिएमा आर्थिकरूपमा बलियो बन्न सकिन्छ भनेर कृषि पेसामा आबद्ध भएको हुँ।’

अनुदानको नाममा पैसा दुरुपयोग भएको उनको बुझाइ छ। ‘किसानलाई पैसामा होइन उत्पादनका आधारमा प्रविधिका लागि अनुदान दिनुपर्छ’, उनले भने, ‘गाउँका कृषकका लागि बैंकमा कर्जा प्रक्रिया झन्झटिलो भयो, गाउँमा मेरो एक करोडको लगानी छ। मैले ऋण पाउँदिन तर सहरमा घरघडेरी हुनेलाई मात्र ऋण दिइन्छ।’

विदेशमा भएको प्रविधि नेपालमा भित्र्याउन सके कृषिमा अझ राम्रो हुने उनको विश्वास छ। 

बाख्रामा हाडनाता प्रजननमात्र रोक्न सके नेपाल सजिलै मासुमा आत्मनिर्भर बन्न सक्ने न्यौपानेको दाबी छ। 

‘कृषि विशाल विज्ञान हो, अध्ययन–अनुसन्धान र प्रयोग राम्रो गर्न सकियो भने नेपाल कृषिमा छिट्टै आत्मनिर्भर बन्न सक्छ’, उनले भने। 

विदेशमा गर्ने श्रम नेपालमै खर्च गर्ने हो भने स्वदेशमै राम्रो आम्दानी गर्न सकिने न्यौपानेले बताए। फर्केपछि पनि नेपालमै गर्न सकिने काम रोज्न विदेशिएकालाई उनको आग्रह छ।

न्यौपानेकी श्रीमती उर्मिलाले श्रीमान्ले बाख्रापालन व्यवसायमा पाउनुभएको सफलताले निकै गर्व महसुस हुने गरेको बताइन्। ‘समाजमा उदाहरणीय बन्छु भन्ने अठोटका साथ बाख्रा पाल्न सुरु गर्नुभएको थियो’, उनले भने, ‘सुरुमा सशङ्कित बने पनि अहिले सबैको प्रशंसा पाएका छौँ।’

हाल भूमिका कृषि तथा पशुपालन फार्म बाख्रापालक कृषकका लागि अध्ययन, अवलोकन र भ्रमणको माध्यम बनेको छ। 

न्यौपानेले बाख्रापालनबाट पाएको यो सफलताले आफूलाई आत्मसम्मान मिलेको बताए। 

युवाका लागि नमूना बाख्रागाउँ अभियानका प्रमुख सचेतक सुशील अर्यालले जिल्लामा बाख्रापालनको सम्भाव्यता राम्रो रहेको बताए। आफूले सल्लाह दिएर सञ्चालन भएका फार्म जिल्लामा उत्कृष्ट देखिएका उनको भनाई छ। 

अर्यालले युवालाई स्वरोजगार बनाउने र जिल्लालाई खसीबोकामा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको पनि बताए।

कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत देवेन्द्र पाण्डेले पालिकाभित्र कृषि पेशा गर्न चाहने सबैलाई गाउँपालिकाको सहयोग गर्ने जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad