ad ad

कारोबार


भारतीय सेनामा १६ वर्ष र इराकमा ३ वर्ष बिताएपछि कृषक बने बमबहादुर

‘मकैबारीमा पोखरी बनाउँदा गाली गर्नेहरू धेरै थिए’
भारतीय सेनामा १६ वर्ष र इराकमा ३ वर्ष बिताएपछि कृषक बने बमबहादुर

बमबहादुर गुरुङको कृषि फार्म


नेपालखबर
साउन २६, २०८० शुक्रबार ११:२३, बागलुङ

उमेरले ५८ वर्ष पुगेका बागलुङ गलकोट दुदिलाभाटीका बमबहादुर गुरुङ व्यावसायिक कृषिमा रमाउन थालेको १५ वर्ष भयो। मकै फल्ने बारीमा माछापालन र सुन्तला खेती गरेका उनले यतिबेला कृषिबाट राम्रो आम्दानी गरिरहेका छन्। 

जीवनको ऊर्जावान् समय भारतीय सेना र इराकमा बिताएपछि उनी व्यावसायिक कृषि आबद्ध भएका हुन्। गलकोट–१ दुदिलाभाटीस्थित कटौदेका गुरुङले भारतीय सेनामा १६ वर्ष बिताएपछि २०६१ सालमा अवकास लिए। त्यसपछि वैदेशिक रोजगारीका लागि इराक पुगेका उनले त्यहाँ तीन वर्ष त्यहाँ बिताए। त्यसपछि २०६४ सालमा गाउँ फर्किएका गुरुङले २०६५ सालदेखि मकै फल्ने बारीमा व्यावसायिक कृषि सुरु गरेका हुन्। 

‘मकैबारीमा पोखरी बनाउँदा गाली गर्नेहरु धेरै थिए’, गुरुङले भने, ‘तीन रोपनीमा माछापालन र तीन रोपनीमा गरिएको सुन्तला खेती यतिबेला आम्दानीको भरपर्दो स्रोत बनेको छ।’ उनका अनुसार यतिबेला माछापालन र सुन्तला खेतीबाट वार्षिक औसत रु पाँच लाख बचत भइरहेको छ। 

‘तत्कालीन समयमा सोखका हिसाबले माछापालनका लागि पोखरी खनेँ, सुन्तलाका विरुवा पनि रोपे’, उनले भने, ‘अहिले यो व्यावसायिक भयो, आफैँ पसिना बगाउँछु, जति लगानी गर्नुपर्ने हो त्यो बेलै गरेँ, अहिले आम्दानीको भरपर्दो स्रोत भएको छ। सबै रकम बचत भइरहेको छ।’

गुरुङले माछापालनको सोच भने भारतीय सेना कार्यरत हुँदा नै बनाएको सुनाए। अहिले आम्दानीका लागि पेन्सनसमेत भएकाले आफू र पाहुनाका लागि छुट्याएपछिको मात्रै माछा बिक्री गरिरहेका छन्। जसबाट वार्षिक रु तीनदेखि चार लाखसम्म बचत हुने उनको भनाइ छ। घरैअगाडि सुन्तलाको बगैँचा र बीचमा माछापोखरी हुँदा घर छाडेर अन्यत्र बसाइसराइँ गर्न मन नलाग्ने उनले सुनाए। 

‘पहिला सोखले सुन्तला र माछापालन थालेको थिएँ, पछि माछापालनको क्षेत्र बढाएर तीन रोपनी पुर्‍याएँ, अहिले घरमै माछा खोज्न ग्राहक आउँछन्’, गुरुङले भने, ‘सुन्तलाको यसवर्ष एकमुस्ट रु दुई लाख आम्दानी गरेँ, केही सुन्तला आफन्तलाई कोसेली पठाएँ, श्रीमतीले घर नजिकैको सरस्वती माध्यमिक विद्यालयमा अध्यापन गर्छिन्, फुर्सदको समयमा श्रीमतीले समेत सुन्तला बगैँचाको स्याहार गर्छिन्।’

गुरुङले मगरात एकीकृत कृषि फार्म दर्ता गरी खेती गरिरहेका छन्। अहिले माछाको बजारभाउ प्रतिकेजी रु ६ सयमा बिक्री भइरहेको गुरुङको भनाइ छ। उनले माछा नजिकको हटिया र बागलुङ बजारमा बिक्री हुने गरेको सुनाउँदै सुन्तला भने एकमुस्ट बिक्री हुने बताए। सुन्तलाका बिरुवा बढाउने र पोखरीलाई थप व्यवस्थित गर्ने योजनामा गुरुङ छन्। 

दुदिलाभाटीको चिसो पानीमा हुर्केका ग्रासकाप र सिल्भर कापका माछाको स्वाद मीठो भएकाले यहाँको माछा ग्राहकको रोजाइमा परेको उनको भनाइ छ। मकैबारी मासेर पोखरी बनाउँदा गाली गर्नेहरूले अहिले आफ्नो व्यावसायिक सोचबाट प्रेरित भएको देखेर आफूलाई सुन्तुष्टि मिल्ने गुरुङको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .