ad ad

कारोबार


कुलमानको दोस्रो ‘इनिङ’को मध्यावधि : घट्न थाल्यो नाफा, विद्युतीयकरण ६ प्रतिशत बढ्यो

कुलमानको दोस्रो ‘इनिङ’को मध्यावधि : घट्न थाल्यो नाफा, विद्युतीयकरण ६ प्रतिशत बढ्यो

कुलमान घिसिङ। तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन २५, २०८० बिहिबार १८:४२, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको दोस्रो कार्याकालको मध्यावधि भएको छ। 

मन्त्रिपरिषद्को २०७८ साल साउन २५ गतेको निर्णयबाट घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरिएको थियो। 

दोस्रो कार्यकालबारे कुलमान भन्छन्
उनले संस्थाको नाफा बढाउँदै मुलुककै अब्बल बनाउने बताएका छन्।

‘संस्थाको नाफा बढाउँदै लगेर मुलुककै सबल, अनुशासित तथा सम्मानित संस्था बनाउने, विद्युत उत्पादन बढाउने र चुहावट घटाउने, अधिकतम ग्राहकसम्म पहुँच विस्तार गर्ने, वित्तीय खर्च घटाउने,  प्रसारण तथा वितरण लाइन तथा सब–स्टेशन विस्तार र सुधार गर्ने, प्रशासन सुधार्न क्रियाशील छु’, उनले भनेका छन्। 

ग्राहकलाई नियमित, गुणस्तरीय, भरपर्दो, पर्याप्त विद्युत् उत्पादन गर्न र अहोरात्र क्रियाशील रहेको उनले  बताएका छन्। 

२ वर्ष अघि करिब ८९ प्रतिशत विद्युतीकरण भएकोमा अहिले ९५ प्रतिशत पुगेको उनले बताए। अर्थात् ६ प्रतिशतले विद्युतीयकरण बढाएको उनले बताए। 

घिसिङ दोस्रो कार्यकालका लागि आएपछि प्राधिकरणले संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका प्रमुख ११ सहरहरुमा सन् २०५० सम्म हुने विद्युत् माग प्रक्षेपण गरी चरणबद्ध रुपमा ४००, २२० र १३२ केभीका प्रसारण लाइन तथा सब–स्टेसन निर्माण अगाडि बढाएको छ। 

सेवा प्रवाहलाई आधुनिक तथा स्वचालित बनाउन डिजिटल एनइए कार्यक्रमअन्तर्गत प्रसारण तथा वितरणतर्फका सब–स्टेसनलाई स्वचालित बनाउन गरिसकेको जनाएको छ।  

आयोजना निर्माणलाई तीव्रता दिन लामो समयदेखि अलपत्र विद्युत् प्रसारण र वितरणतर्फका केही आयोजनाको ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का लगाएको छ। 

प्राधिकरणको वित्तीय क्षेत्र हेर्दा नाफा आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेकोमा आ.व. २०७८÷७९ मा खुद नाफा फेरि बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो।  

तर अहिले भने नाफामा गिरावट आएको छ। आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ छ। वित्तीय प्रतिवेदनले नाफा घट्न थालेको देखिएको हो। 

नाफा घट्नुको कारण गत आ.व.मा सुख्खायामको समय बढेर नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको प्राधिकरणले जनाएको छ।  

प्राधिकरणले विद्युत् विक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्व १८ अर्व रुपैयाँ पुगेको छ। प्राधिकरणको संचित नाफा ११ अर्बबाट बढेर ३६ अर्व ६७ करोड रुपैयाँ पुगेको छ।  

यो बीचमा प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङ्कन कार्य सम्पन्न गरिएको छ। प्राधिकरणको तेश्रो वित्तीय पुनर्संरचना तयार गरी प्राधिकरण ऐन बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारि गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

संस्थाको क्रेडिट रेटिङ प्राप्त गर्न सफल भएको छ। उपयुक्त स्थानम उपयुक्त व्यक्ति भन्न अवधारणाका आधारमा जिम्मेवारी दिई ग्राहकलाई दिने सेवामा सुधार गर्न, विद्युत चुहावट नियन्त्रण, विद्युत् महशुल वक्यौता असुली लगायतलाई मानक मानी कार्यसम्पादनको व्यवस्थालाई निरन्तरता दिएको प्राधिकरणले बताएको छ।  

विगत दुई वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट करिब  ४८ अर्व बराबरको रकम प्रसारण एवं वितरण प्रणालि विस्तार र सुधारमा लगानी गरेको समेत जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .