ad ad

कारोबार


कृषि बैंकले साढे २ करोडको ऋणपत्र निष्काशन गर्ने

कृषि बैंकले साढे २ करोडको ऋणपत्र निष्काशन गर्ने

नेपालखबर
माघ ५, २०७६ आइतबार ११:५४,

कृषि विकास बैंकले दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरेको छ। बैंकले आगामी ७ वर्षका लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुन आउने दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशनको अन्तिम तयारीमा रहेको आइतबार जानकारी दिएको हो।

कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिने उद्देश्यले स्थापना भएको कृषि विकास बैंक ५३औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित एक कार्यक्रममा उक्त जानकारी गराएको हो। त्यस्तै, बैंकले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी करिब एक हजार होमस्टे आबद्ध भएको होमस्टे एसोसिएसनसँग सम्झौता गरी उक्त क्षेत्रमा सरल होमस्टे कर्जा प्रवाह गर्ने कार्यक्रम बनाएको छ।

बैंकका सीईओ अनिलकुमार उपाध्याय उक्त कार्यक्रममा भने, ‘हामीलाई थाहा छ, हाम्रो एक करोडभन्दा माथिको कर्जाको भार कुल कर्जामा एक प्रतिशतभन्दा न्यून छ। दश लाखभन्दा कम कर्जाको भार ८४ प्रतिशत रहेको र यी सबैजसो कर्जा ग्रामीण भेगका कृषक, मजदुर र साना तथा मझौला कर्जाका रुपमा रहेका छन्। हामीले यो विश्वासलाई अझ बलियो बनाउन कृषक र ग्रामीण भेगका जनतालाई ‘बैंकले लिन मात्रै होइन, दिन पनि जान्दछ भन्ने नारासहित अघि बढेको छ।’

कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिने उद्देश्यले स्थापना भएको कृषि विकास बैंक ५३औं वर्षमा प्रवेश गरेको छ। कृषिलाई नछोड्ने, अरुलाई जोड्ने नीति लिएको यो बैंकले यो वर्ष समयमै वार्षिक साधारणसभा सम्पन्न गरी सेयरधनीहरुलाई ३० प्रतिशतको आकर्षक मुनाफा वितरणसमेत गरेको छ। बैंकले आइतबार पत्रकार सम्मेलन गरी बैंकको प्रगति र योजनाबारे जानकारी दिएको छ।

कार्यक्रममा बैंकका सीईओ उपाध्यायले ५३ वर्षको यात्रामा कृषि विकास बैंक एउटा सबल र सक्षम बैंकको रुपमा स्थापित भएको बताए। उनले कृषि विकास बैंकको पाँच दशक लामो इतिहासलाई ‘इन्जिन अफ रुरल ट्रान्सफरमेसन’को रुपमा हेर्न सकिने बताए। उपाध्यायले ग्रामीण तथा कृषि क्षेत्रको विकासको लागि सरल र सुलभ कृषि कर्जामा आफूहरु केन्द्रित रहेको पनि बताए।

बैंकले साना किसान विकास आयोजनामार्फत सामूहिक प्रणालीमा आबद्ध हुने, शैक्षिक एवं स्वास्थ्य कार्यक्रम, बचत परिचालन र सामूहिक जमानीमा कर्जा कारोबार गर्दै उक्त आयोजना समूहलाई नै सञ्चालन गर्ने क्षमता अभिवृद्धि गर्दै सहकारीमा रुपान्तरण गरी सुदृढ बनाउने प्रयास गर्दै आएको जनाएको छ।

बैंकले २०४१ सालमा नेपालमा पहिलोपटक कम्प्युटरयुक्त बैंकिङ, सीमित सेवा (निक्षेप कारोबार, कर्जा तथा जमानत, फ्याक्स कारोबार)सहितको बैंकको रुपमा स्थापित भई बैंकको शाखा सञ्जाल र साना किसान विकास आयोजनामार्फत कृषि तथा कृषि क्षेत्रसँग आबद्ध क्षेत्र मूल्य शृंखलामा लगानी गर्दैै आएको छ।

बैंक समस्याग्रस्त हुँदै गएपछि २०६२÷०६३ मा एसियाली विकास बैंकको प्राविधिक सहयोगमा ‘बैंक तथा वित्तीय क्षेत्र सुधार कार्यक्रम’अन्तर्गत सुधार अघि बढाइएको कृषि विकास बैंक अहिले भने सफल र व्यावसायिक बैंकको रुपमा स्थापित भएको छ। बैंकका सीईओ उपाध्यायले अब यस बैंकलाई समग्र बैंकिङ क्षेत्रकै अग्रणी बैंकको रुपमा स्थापित गर्ने प्रतिबद्धतासमेत जनाए। सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशतको सेयर रहेको यस बैंकमा अधिकांश कृषकहरु सेयरधनी छन्।

बैंकको करिब १२ लाख निक्षेपकर्ता, करिब एक लाख ४५ हजार ऋणी, छ हजार इन्टरनेट सेवाग्राही, दुई लाख ६२ हजार मोबाइल बैंकिङका उपभोक्ता, १ हजार भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेका छन् भने ट्रेड फाइनान्स, एसी, फरेक्स, डिम्याट, सिआस्बा, आईपीएस, गोएएमएलजस्ता सेवाहरुसमेत प्रदान गर्दै आएको छ।

सीईओ उपाध्यायले सरकारको ‘सबै नेपालीको बचत खाता, खोलौं बैंक खाता’अन्तर्गत ५२ हजारभन्दा बढी जनताको खाता खोल्न सफल भएको बताए। आफूहरुले खराब कर्जालाई नियन्त्रण गर्दै गुणस्तरीय सेवाका माध्यमबाट बढीभन्दा बढी ग्रामीण क्षेत्रमा आफ्नो बैंकिङ, कारोबारलाई प्रविधिमैत्री एवं डिजिटल पद्धतिमा जोड दिने नीति लिएको बताउँदै उनले यस वर्ष निर्धारित समयमै आफ्नो १३औं साधारणसभा सम्पन्न गरी ३० प्रतिशतको उत्साहजनक लाभांश उपलब्ध गराउन सफल भएको बताए।

आगामी वर्षमा पनि यसलाई निरन्तरता दिन आफूहरुको प्रयास रहने उपाध्यायले बताए। बैंकको निक्षेप गत वर्ष पुससम्मको तुलनामा यो वर्ष सोही अवधिमा १५ दशमलव ४४ प्रतिशत बढेर एक खर्ब २७ अर्ब पुगेको छ भने कर्जा १० दशमलव २३ प्रतिशत बढेर एक खर्ब १७ अर्ब पुगेको छ।

त्यस्तै खराब सोही अवधिमा १० दशमलव ३१ प्रतिशतले कमी आई शून्य दशमलव ८२ प्रतिशत कायम भएको छ। पुससम्म बैंकको नाफा १६ दशमलव ९९ प्रतिशतले वृद्धि भएर दुई अर्ब तीन करोड कायम भएको छ भने ईपीएस २ दशमलव ३७ कायम भएको छ ।

गत वर्षको पुससम्मको तुलनामा यो वर्ष पुससम्म मोबाइल बैंकिङ प्रयोग गर्ने उपभोक्ता दुई हजार ६ सय ४२ प्रतिशतभन्दा बढीले बढेको कृषि विकास बैंकको तथ्यांक छ। अहिलेसम्म यो सुविधा लिनेको संख्या दुई लाख ६२ हजार ४ सय ३७ पुगेको जनाइएको छ।

यी तथ्यांकहरुले आफरुहरुलाई उत्साह थपेको बताउँदै सीईओ उपाध्यायको भनाइ छ। उनले गएको एक वर्षमा सहुलियतपूर्ण कृषि अनुदान कर्जामा करिब दुई हजार पाँच सयभन्दा बढीलाई करिब पाँच अर्ब ५८ करोड रकम लगानी गरेको जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .