कारोबार


एक महिनायता विमानस्थलबाट भित्रिरहेको थियो दैनिक १ क्विन्टल अवैध सुन

एक महिनायता विमानस्थलबाट भित्रिरहेको थियो दैनिक १ क्विन्टल अवैध सुन

नेपालखबर
साउन ४, २०८० बिहिबार १०:४०, काठमाडौँ

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अनुमानित १ सय किलाे सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको छ।

सुनको परिमाण यकिन गर्न बाँकी छ। बिहीबार बिहान विभागले सुन जोख्न नेपाल राष्ट्र बैंक लगेको छ।

उक्त घटनासँगै विगत एक महिनायता दैनिक १ क्विन्टल अवैध सुन त्रिभुवन विमानस्थल हुँदै भित्रिने गरेको खुलेको छ। हङकङसहितको ट्रान्जिट हुँदै हवाई मार्गमार्फत् उक्त परिमाणको अवैध सुन दैनिकजसो विमानस्थल भन्सारबाट भित्रिरहेको सूचना राजस्व अनुसन्धान विभागसम्म पुगेको थियो।

बुधबार पनि सय केजी आसपासमा अवैध सुन भित्र्याउन लागिएको सूचना आएसँगै विभागका अधिकारीहरू अलर्ट भएका थिए।

स्कुटर र मोटरसाइकलको पार्ट्ससँगै सुन लुकाएर ल्याएको सूचनापछि विभागले विमानस्थल क्षेत्रमा एउटा टोली बुधबार बिहानैदेखि परिचालन गरेको थियोे।

विभागमा प्राप्त गोप्य सूचनाअनुसार नै बुधबार हङकङ हुँदै करिब सय केजी आसपासको परिमाणको सुन भन्सारबाट जाँचपास भएर सजिलोसँग भित्रियो। उक्त सुन भन्सारबाट पास भएर ट्याक्सीमा लैजाने क्रममा समातिएको हो।

विमास्थलबाट एक महिनायता दैनिक एक सय केजी सुन पास भइरहेको सूचना केही दिनदेखि आएपछि त्यही आधारमा अपरेसन गरिएको राजश्व अनुसन्धान विभागका एक अधिकारीले बताए। 'पछिल्लो समय हरेक दिन सय केजी अवैध सुन विमानस्थल भन्सारबाट पास भइरहेको सूचना पाएपछि विभागले छापा मारेको हो,' एक अधिकारीले भने, 'भन्सार जाँच पास भइसकेपछि बाहिर निकालिसकेको अवस्थामा समातिएको हो।'

उक्त सुन बरामद प्रकरणमा ४ जनालाई पक्राउ गरिएको छ। राजस्व स्रोतका अनुसार सुन ओसारपसारमा संलग्न आरोपमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र पुरानो दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका हुन्।

सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको छ। 

राजस्व अनुसन्धान विभागका एक अधिकारीका अनुसार भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको हो। उनीहरू सुनको भन्सार पासमा संलग्न देखिएकाले निलम्बन गरिएको विभागले जनाएको छ। 

निलम्बित नायब सुब्बाकाे भने नाम खुल्न बाँकी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .