कारोबार


अर्थमन्त्री महतले भने : अर्थतन्त्रमा सकारात्मक संकेत देखिए, राजस्व पनि बढेको छ

अर्थमन्त्री महतले भने : अर्थतन्त्रमा सकारात्मक संकेत देखिए, राजस्व पनि बढेको छ

अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्बिर : अर्थमन्त्रीको सचिवालय


नेपालखबर
असार १९, २०८० मंगलबार १३:१६, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा रहेको बताएका छन्। तर उनले अझै समस्यामुक्त भइनसकेको पन स्वीकारे। 

मंगलबार संसदको अर्थसमितिको बैठकमा बोल्दै डा. महतले यस्तो बताएका हुन्। ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन। समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ’, उनले भने।  

उनले नेपालमा २००७ पछि भौतिक विकासको चरण सुरु भएको पनि बताएका छन्। 

‘हामीले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेका हौँ। यो कालखण्डमा हामीले राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले हामी भौतिक विकासमा हामी धेरै पछाडि छौँ’, उनले भने।  

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री डा. महतले अर्थतन्त्र चलायमान बनाउन काम भइरहेको बताए। 

‘अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालय समन्वयकारी भूमिकामा छ। केही ठाउँमा यसले अगुवाइ पनि गरेको छ’, उनले  भने, ‘सबैको समन्वय र क्रियाशीलताले समस्या हामी न्यून गर्दै जान्छौं। समस्या न्यून गरियो भने हामी विकास र समृद्धिको बाटोमा अगाडि बढ्न सक्छौँ।’ 

राजस्व उठ्ने विषयमा समस्या देखिए पनि प्रगति भएको उनले बताए।

‘राजस्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकेका छैनौँ, प्रगति भएको छ। हामीले गत वर्षभन्दा ०.५२ प्रतिशत बढी उठाउन सक्छौँ’ मन्त्री डा. महतले भने, ‘कसिलो मौद्रिक नीति राष्ट्र बैंकले अपनायो, जसले गर्दा आवश्यक मुद्रा प्रवाह हाम्रो अर्थतन्त्रमा भएन। ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पूँजीगत खर्च त्यही रुपमा हुन सकेन। जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन।’ 

उनले आउँदो वर्ष हाम्रो अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको बताए। ‘मौद्रिक नीतिका लागि हामीले राष्ट्र बैंकलाई भनेका छौं, समयसीमाभित्र बजेट कार्यान्वयनका लागि हामीले कर्मचारीलाई निर्देशन गरिसकेका छौं’, उनले भने।  

महतले नेपालको क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च भइरहेको पनि बताए। 

‘पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई हामी सामाजिक सुरक्षा खर्च दिन्छौँ। यसबाट हामी पछाडि फर्किन सक्दैनौं,’ उनले भने, ‘अब निर्णय गर्दा विचार गर्नुपर्छ, अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्यांक आउँदैछ, जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्छौं।’ 

प्रशासनिक खर्च घटना हामी सबै समर्पित लाग्न मन्त्री डा. महतले आग्रह गर्नुभयो। उहाँ भन्नुभयो, ‘साना–साना बचतबाट हामीले ठूलो बचत गर्न सक्छौं। बचत गर्ने काममा हामी सबै गम्भीर भइयो भने ठूलो बचत हुन्छ। यो ठूलो बचतलाई हामी सही ठाउँमा उपयोग गर्न सक्छौं। यसो भयो भने श्रोत र साधनको हाहाकार रहँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .