ad ad

कारोबार


ह्वावे कन्क्लेभ : डिजिटल रुपान्तरणका लागि डिजिटल क्षमता मापन गर्ने प्रयास

ह्वावे कन्क्लेभ : डिजिटल रुपान्तरणका लागि डिजिटल क्षमता मापन गर्ने प्रयास

नेपालखबर
असार ८, २०८० शुक्रबार १७:४९, काठमाडौँ

आईसीटी फाउन्डेसन नेपालले ह्वावेसँगको सहकार्यमा आयोजना गरेको ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आज औपचारिक रुपमा शुभारम्भ भएको छ।

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ भन्ने नारा रहेको यस कन्क्लेभको उद्देश्य नेटवर्किङ र डिजीटल्ली सहकार्यको लागि सार्थक वातावरण तयार पार्ने रहेको छ। उक्त कार्यक्रम आज र भोलि गरी २ दिनसम्म सोल्टी होटल, काठमाडौंमा चल्नेछ। साथै सोही स्थानमा ह्वावे मोबाइल नेपाल कंग्रेसको पनि आयोजना गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थिती रहेको थियो। यस्तै, कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, पूर्वमन्त्री गणेश शाह, नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल सरकारका उच्च पदस्थ अधिकृतहरु, विभिन्न संगठनहरुका प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुका साथै सूचना प्रविधिको क्षेत्रमा हाल कार्यरत विभिन्न व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो।  

कन्क्लेभको उद्घाटन पश्चात् प्रधानमन्त्रीले ह्वावे नेपाल कंग्रेस २०२३ को अवलोकन गरका थिए। उक्त कंग्रेसमा प्रदर्शित नवीनतम समाधानहरु जस्तै फाइभ जि, ग्रीन डाटा सेन्टर, ह्वावे क्लाउड लगायत अन्य नवीन प्रविधिहरु र डिजिटल नेपाल निर्माणको लागि ह्वावेको प्रयासलाई उनले गहनता पूर्वक अध्ययन गरेका थिए।

कार्यक्रमा स्वागत मन्तव्य राख्दै आईसीटी फाउन्डेसनका अध्यक्ष र कार्यक्रमका सभापति राजन लम्सालले भने, ‘यो २ दिने कन्क्लेभ डिजिटल रुपान्तरणका लागि डिजिटल क्षमताहरु मापन गर्ने प्रयासको रुपमा आयोजना गरिएको छ। यो कार्यक्रम केवल कार्यक्रममात्र नभई उपलब्धिमुलक होस् भन्ने तर्फ हामीहरु सजग रहेका छौं।’

कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘डिजिटल क्षमता विकास गर्न पूर्वाधारहरुमा जोड दिन जरुरी भएकोले नेपालमा डिजिटल प्रणालीहरुको विकास गर्न भनेर नै वर्तमान सरकारले यस आ.व.को बजेटमा चालु पूँजी तर्फको १ प्रतिशत रकम विनियोजन गरेको छ। डिजिटल नेपाल निर्माणको लागि आवश्यक नीति, नियम, कानुनहरु चाँडै नै कार्यान्वयनमा ल्याइनेछ।’

उनले सामाजिक र राजनैतिक परिवर्तनमा प्रविधिको महत्वपूर्ण भूमिका हुने र समाज रुपान्तरणको लागि सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएको समेत बताए।

उनले नेपालका उद्योगीहरु र सरोकारवालाहरुमाझ आईसीटीको विकासको बारेमा जानकारी गराउन यस प्रकारको कन्क्लेभको आयोजना गरेकोमा आईसीटी फाउन्डेसन र ह्वावेलाई धन्यवाद पनि व्यक्त गरेका थिए।

उद्घाटन कार्यक्रमको दौरानमा नै सञ्चालन गरिएको विशेष सत्र अन्तर्गतको फायर साइड पावर सम्वादमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा हालै सूचना प्रविधिको विकासमा भैरहेको विकासको बारेमा आफ्नो भनाई राख्दै सोचमा समेत परिवर्तन आएको बताइन्।

पहिले सूचना प्रविधिको क्षेत्र केवल मनोरन्जनको लागि भनेर बुझ्ने गरिएकोमा हाल आएर यो उत्पादन उद्योग र डिजिटल इकोनोमीको लागि पनि हो भनेर बुझिएको छ। नेपाल सरकार डिजिटल प्रविधिको प्रयोग अभिवृद्धि गर्न र यसको लागि आवश्यक जनशक्तिहरुलाई नेपालमा नै उचित सुविधा प्रदान गर्न लागी परेको बताइन्।

ह्वावे साउथ एशिया रिजनल कार्यालयका अध्यक्ष पान जिनफेङले भने, ‘डिजिटल नेपालको अनुभूति पूर्वाधारको स्तरोन्नति र औद्योगीक डिजिटल रुपान्तरणबाट भिन्न छैन। ह्वावेले नेपालको आइसिटि डोमेनमा विगत २३ वर्षभन्दा अघिदेखि काम गर्दै आइरहेको छ। नेपालको लागि नेपालमै भन्ने लक्ष्यका साथ हामीहरु सक्षम डिजिटल नेपाल निर्माण गर्न आईसीटी विकासमा समर्पित हुन र स्थानीय आईसीटी प्रतिभाहरु र इकोसिस्टमको विकास गर्न कटिबद्ध छौं। ह्वावे एमएनसी र डिजिटल नेपाल कन्क्लेभले उद्योगको विकास गर्नमा मद्दत पुग्नेछ।’

२ दिनसम्म चल्ने कन्क्लेभमा विभिन्न देशबाट आएका आईसीटी विज्ञहरुसहित ७० भन्दा बढी स्रोत व्यक्तिहरुको सहभागिता रहेको छ। कार्यक्रममा विभिन्न ६ वटा विषयहरुमा १५ वटा सत्रहरु सञ्चालन हुनेछन्। कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशका विषयगत विज्ञहरुले आ–आफ्नो धारणा प्रस्तुत गर्नेछन्। साथै विज्ञहरुले कार्यपत्रहरु पनि प्रस्तुत गर्नेछन्।

कार्यक्रमको पहिलो दिन ह्वावे एशिया प्रसान्त क्षेत्रका सिनियर इण्डस्ट्री सोलुसन्स एक्सपर्ट ली यु सेङ्गले सार्वजनिक सेवाहरुको डिजिटल रुपान्तरणलाई सक्षम बनाउने विषयमा आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए। र, वल्र्ड लिंकका अध्यक्ष दिलिप अग्रवालले डिजिटल क्षमताहरुमा कार्यपत्र पेश गरेका थिए।

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ भन्ने नाराका साथ आयोजना भैरहेको उक्त कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता एवं आवश्यक नीतिहरु र त्यसको कार्यान्वयनमा जोड दिनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .