कारोबार


जसले सगरमाथाबाट हाम फाल्ने साहस गरे, ५ सयभन्दा बढीलाई प्याराग्लाइडिङ पाइलट बनाए (भिडिओ)

जसले सगरमाथाबाट हाम फाल्ने साहस गरे, ५ सयभन्दा बढीलाई प्याराग्लाइडिङ पाइलट बनाए (भिडिओ)

२२ हजार घण्टा आकासमा बिताइसकेका सानोबाबु सुनुवार अहिले विदेशीलाई प्याराग्लाइडिङ पाइलट पढाइरहेका छन् (तस्बिर: सरोज बैजु)


सम्झना घिमिरे
असार ७, २०८० बिहिबार ६:४४, काठमाडौँ

सिनो खाइरहेको गिद्धको खुट्टा समाएर उड्न खोज्नु र नसकेर बारीमै पछारिनु। अनि उठेर फेरि उही कान्लाबाट छाता लिएर हाम फाल्नु। यो उपद्रो रामेछापका सानोबाबु सुनुवारले ६/७ वर्षको उमेरमै गरे। 

अबोध मष्तिकमै चराजस्तै उड्ने चाहनाका कारण उनले यस्तो हर्कत गरेका थिए। उड्ने प्रयासमा उनले कहिले कान्लाबाट हाम फाले, कहिले रुख त कहिले घरको छानाबाट।

‘चराजस्तै आकासमा स्वतन्त्र उड्ने रहर मेरो बालमस्तिकमै अंकुराइसकेको रहेछ, बाआमाले बदमासीको नाम दिए,’ उनी भन्छन्। 

सानोबाबु सुनुवारलाई अचेल बाल्यकालका ती उपद्रो उति उट्पट्याङ लाग्दैनन्। बरु त्यही पाइलट तथा साहसिक यात्री सानोबाबु बन्ने आधार भएको उनी बताउँछन्।

उतिबेला कान्लाबाट हाम फालेका उनी अहिले सगरमाथाको चुचुरोबाट हाम फाल्छन्। उतिबेला भुइँमा पछारिएका उनी अहिले घण्टौँ प्यारासुटको भरमा हेलिइरहन्छन्। 

सन् २०११ मा हजार मिटरको उचाइबाट प्याराग्लाइड र कायाकिङ गर्दै समुद्रसम्म पुगेपछि उनी नेपालमा मात्र होइन, विश्वमाझ चिनिए। यसरी ‘समिट टु सी’ मिसन पूरा गरेर गिनिजबुकमा रेकर्ड राखेका उनलाई त्यतिबेलै नेसनल जियोग्राफिक टेलिभिजनले प्रदान गर्ने ‘एड्भेन्चरर्स अफ दि इयर’को उपाधि दिएको थियो।

उड्ने हुटहुटी पूरा गर्न सुनुवारले कहिले चुचुराबाट हाम फाले, कहिले उडेरै पहाडहरु पार गरे। उनले हालसम्म २२ हजार घण्टा आकासमा बिताइसकेका छन्। 

सगरमाथाबाट हाम फालेर विश्वका ध्यान खिचेका सुनुवारलाई अब फेरि चराजस्तै आकासमै हराइरहनु छैन। न त उनलाई फेरि सगरमाथाबाटै हाम फाल्नु नै छ। 

‘म चरो बनिसकेँ। अब अरुलाई किन नबनाउने? किन नदेखाउने विदेशीलाई हाम्रा नदेखिएका चुचुरा अनि फाँटहरु?’ उनी भन्छन्।

साहित्यिक लवजमा बोल्ने उनी मुस्कुराउँदै आकासमा व्यवसाय गर्न कस्सिएका सुरुवाती दिनहरु कहन्छन्। 

‘म घण्टौँ उडेर नेपालका हिमाल, पहाड र तराई तीनवटै क्षेत्र नियाल्न सक्छु। अब मपछि कसले गर्ने भन्ने मूल कुरो हो। सीप हस्तान्तरण कसरी गर्ने, यो प्रश्न मेरो मनमा गढेको थियो,’ उनी थप्छन्, ‘म आफैँ युरोप, अमेरिकालगायतका विभिन्न ठाउँमा तालिम लिन गएको थिएँ। नेपालमै भएको भए जानैपर्दैन थियो। मेरो पैसा मेरै देशले लिन्थ्यो। म आफ्नै देशमा सिक्न पाउँथेँ।’

तालिम गर्नकै लागि विदेश चहारेका उनी आफैँ प्याराग्लाइडिङ स्कुल खोल्न तम्सिए। फलस्वरुप २०१४ मा स्याङ्जामा जन्मियो द बाबु एडभेन्चर्स इन्टरनेसनल प्याराग्लाइडिङ स्कुल।

‘सन २०१४ मा स्कुल सञ्चालन गरे पनि सुरुमा कसलाई कसरी सिकाउने भन्ने प्रश्न थियो। तर अपेक्षा गरेभन्दा बढी विद्यार्थी पढ्ने र उड्ने हुटहुटी लिएर आए,’ उनले सुनाए।

त्यसयता उनी आफ्ना विद्यार्थीहरुलाई आकासमा उडान भर्न सिकाइरहेका छन्। गएको ८ वर्षमा नेपाली र विदेशी गरेर उनले ५ सयभन्दा धेरैलाई प्याराग्लाइडिङ पाइलट नै बनाइसकेका छन्। जसमा व्यावसायिक रुपमा ३ सय पाइलट स्कुलबाट उत्पादन भइसकेका छन् भने २ सय जनाले एडभान्स्ड लेबलको तालिम पूरा गरिसकेका छन्। 

विदेशीहरु खासगरी सोलो र एडभान्स्ड लेबलका प्याराग्लाडिङ गर्न नेपाल आउने बताउँछन् उनी। 

‘सोलो प्याराग्लाडिङ गर्नेहरु १५ देखि २० दिनसम्म हामीकहाँ बस्छन्। एडभान्स्डमा भने लामो समयसम्म बस्ने गर्छन्,’ उनी भन्छन्।

स्कुलले १५ दिने अधारभूत तालिमका लागि नेपालीबाट १ लाख ८० हजार रुपैयाँ शुल्क लिन्छ भने विदेशी विद्यार्थीबाट २४ सय युरो अर्थात ३ लाख ३४ हजार २ सय नेपाली रुपैयाँ शुल्क लिँदै आएको छ। 

‘हामीले सिकाउने मात्रै हो। यसको शुल्क मात्रै हामी लिन्छौँ। विदेशीले प्याराग्लाडिङ पाइलट पढ्न नेपाल आउँदा स्कुलमा ३० प्रतिशत खर्च गर्दा बाहिर ७० प्रतिशतसम्म खर्च गर्छन्। यसले समग्र पर्यटन क्षेत्रलाई नै फाइदा पुर्‍याउँछ,’ उनले भने, ‘सरकारले यो पाटोलाई बेवास्ता गर्न भएन।’

नोपाली आकास प्याराग्लाइडिङका लागि सुरक्षित भएकै कारण वर्षको ३ सय दिनसम्म उडान भर्न सकिने सुनुवार बताउँछन्। 

‘युरोपमा एक महिना मात्रै प्याराग्लाडिङ गर्न मिल्छ र यसबाट सरकारले आम्दानी मनग्य गरिरहेको छ भने हामी किन नगर्ने?’ उनी भन्छन्। 

कतारी राजकुमारी आस्था अलथानीदेखि थुप्रै चर्चित व्यक्तिहरुलाई उनले नेपाली आकासमा उडाइसकेका छन्। अब आफूजस्तै सगरमाथाबाट उड्ने सपना देख्ने विदेशीहरुलाई पनि उडाउन प्रयासरत छन् उनी।

सपना पूरा गर्दागर्दै त्यसैलाई व्यवसाय बनाएका उनी यतिबेला नेपाली मात्र नभएर विदेशीहरुका लागि पनि भरपर्दा शिक्षक बनेका छन्। त्यसका लागि विश्वास चाहिने उनको तर्क छ।

‘तपाईंले विश्वास नगरी एडभेन्चर्सको मजा कसरी लुट्नुहुन्छ?’ उनी प्रश्न गर्छन्।

नेपालमा प्याराग्लाइड गर्न आउने विदेशी पर्यटकको संख्या दिनहुँ बढ्दो छ। सुनुवार यस्तो संख्या अबको ३ वर्षमा दोब्बर हुने तर्क गर्छन्। तर प्याराग्लाडिङ पाइलटहरु उत्पादन गर्न नसकेको खण्डमा सरकारले चाहेर पनि यस क्षेत्रबाट लाभ उठान नसक्ने उनको भनाइ छ।

भन्छन्, ‘अबको तीन वर्षमा हामीले दक्ष पाइलटको संख्या ५० प्रतिशतले बढाएनौँ भने उड्न चाहनेको माग धान्न सक्दैनौँ। फलतः यो क्षेत्र पुनः पछाडि धकेलिने सम्भावना रहन्छ।’

बढ्दो मागलाई मध्यनजर गर्दै उनले दोस्रो स्कुल सञ्चालनमा ल्याउँदैछन्। मकवानपुरको चित्लाङमा निर्माणाधीन उनको दोस्रो प्याराग्लाडिङ स्कुल यही भदौबाटै सञ्चालनमा आउँदैछ।

सुनुवार सरकारले व्यावसायिक प्याराग्लाडिङ उडानलाई नीतिगत रुपमै सहजीकरण गरिदिने हो भने आफू मात्रै नभएर अन्य व्यवसायीहरुले पनि दक्ष पाइलट उत्पादन गर्न सक्ने धाराणा राख्छन्। 

भन्छन्, ‘सुरक्षित आकास छ, भौगोलिक रुपले पनि प्याराग्लडिङ उपयुक्त छ तर बुझ्ने कसले?’ 

सरकारले साहसिक पर्यटनलाई पनि प्राथामिकतामा राखेर पूर्वाधार निर्माण गर्ने हो भने नेपाल हिमाल चढ्न आउनेहरुको मात्रै नभएर उड्न आउनेहरुको पनि प्रमुख गन्तव्य बन्नसक्ने उनको तर्क छ।

‘सुनको थाल प्रकृतिले नै दिएको छ,’ उनी भन्छन्, ‘हामी सुनको थाल थापेर भीख मागिरहेका छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .