ad ad

कारोबार


दूध बिक्री नभएपछि भैँसी बेच्दै किसान

दूध बिक्री नभएपछि भैँसी बेच्दै किसान

नबीनबाबु अधिकारी
पुस २९, २०७६ मंगलबार १०:०,

भैँसीपालन गर्ने व्यावसायिक किसानले दूध बिक्री नभएको गुनासो गरेका छन्। दूधौली नगरपालिका–६ हर्षाही, ढोडेनीका किसानले दूध बिक्री नभएको गुनासो गरेका हुन्। हर्षाहिका पर्मिला कार्कीले आफ्नै लगानीमा भैँसीपालन त गरिन्, तर दूध बिक्री नहुँदा समस्यामा परेको सुनाइन्। पर्मिलाले भनिन्, ‘आफ्नै लगानीमा भैँसी पालेर दूध बिक्रीबाट राम्रै आम्दानी गर्ने सोचेको थिएँ, तर दूध नै बिक्री नभएर समस्या थपिएको छ।’

उनका अनुसार दैनिक ६० लिटर दूध उत्पादन हुन्छ तर बजार भने छैन। लगानी डुबिसकेको र दूधको बजारीकरणका लागि सहयोग गरिदिन दूधौली नगरपालिकालाई आग्रह गरिए पनि सुनुवाइ नभएको उनको भनाइ थियो। उनी भन्छिन्, ‘अब विस्तारै भैँसी नै बिक्री गर्ने योजना पो बनाएको छु।’

दैनिक दूध दिने ११ भैँसी पाल्ने योजना बनाएर पर्मिलाले व्यवसाय शुरु गरेकी थिइन्। सात भैँसी बेचेपछि अहिले पाँचवटामा सीमित भएको छ। ‘दूध बिक्री नभएपछि भैँसी नै बेचे, स्थानीयस्तरमै कृषि व्यवसाय गरौँ भन्ने सपना सफल हुन सकेन अब के गर्ने अन्योल भएको छ’, उनले भनिन्।

भैँसीको दूध बिक्री नहुँदा डोरकुमारी कार्की पनि समस्यामा परेकी छन्। उनले भनिन्, ‘दूध उत्पादन हुन्छ, तर न बजार छ न मूल्य, बरु भैँसी नै बेच्न सजिलो भन्ने बित्तिकै बिक्री भइहाल्छ।’ दूध बेचेको पैसाले घर चलाउने सोच राखेपनि खर्चका लागि जोहो गरेको पैसा कटाएर भैँसी पाल्नुपरेको उनले सुनाइन्। यसमा सम्बन्धित पक्षले नै चासो नदेखाएको उनको भनाइ थियो। सो क्षेत्रमा घाँस पर्याप्त भएकाले पशुपालनको राम्रो सम्भावना छ। बजार नहुँदा भने कोसँग गुहार माग्ने भन्ने चिन्ता थपिएको छ। ‘गाउँघरमा एक÷दुई माना दूध बेचेर टिक्न मुस्किल भयो’, उनले दुखेसो पोखिन्।

किसानहरु मिलेर दुग्ध उद्योग सञ्चालकसँग कुरा गरेपनि दूध नियमित नलिएको उनीहरुको भनाइ थियो। ‘भैँसीले नियमित दूध दिन्छ, कसरी दूधको व्यवस्थापन गर्ने, दूध तताएर दही बनायौँ, मोही बनाएर घ्यू निकालौँ भने पनि काम गर्ने जनशक्ति हुँदैन, नगरपालिकामा छिमेकी जिल्लाको दूध आउँछ तर स्थानीय उत्पादन बिक्री हुँदैन’, उनको गुनासो छ।

यस्तै जगतबहादुर कार्कीले पनि चार भैँसीको दूध बिक्री नभएर दुई वटा बेचे। बाँकी पनि बेच्ने योजना उनको छ। दूध बिक्री भए भैँसी धेरै पालेर व्यवसायी बन्ने योजना बनाएको जगतबहादुरले बजार नै नपाएपछि भैँसी पालेर मात्र काम नभएको बताउँछन्। ‘आफूजस्ता धेरै किसानको यही समस्या छ’, उनले भने, ‘अन्तका किसानले एउटा भैँसीको बिहानको दूध बेचेर घर खर्च चलाएको र बेलुकाको दूध घरायसी प्रयोजनका लागि राख्ने गरेको सुनेको थिएँ, आफूले बिहान–बेलुकाको दूध बेच्ने र व्यवसायी बन्ने सोचअनुसार चार भैँसी पालेँ, तर सकिँदोरहेनछ, बजार नै भेटिएन।’

दूध बिक्री नहुँदा समस्या भोगिरहेका सो क्षेत्रका यी प्रतिनिधि किसान मात्र हुन्। अधिकांश भैँसीपालक किसानको समस्या उस्तै छ। उत्पादन भएको दूध बिक्री नहुँदा आफैँलाई भैँसी पालेको सजाय पाएको किसानको दुःखेसो छ।

दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले दूध बिक्री नभएको सम्बन्धमा कुनै जानकारी नआएको बताए। नगरपालिकाका अन्य स्थानमा संकलन केन्द्र स्थापना गरी दूध बिक्री भइरहेको बताउँदै ढोडेनीका किसानको समस्या समाधान गर्न आफूले तत्कालै पहल गर्ने उनले बताए। नगरपालिकाले दूधमा आफूलाई आत्मनिर्भर बन्ने योजना अघि सारेको र किसानलाई प्रोत्साहन गरिरहेको अवस्थामा त्यस क्षेत्रका किसानको समस्या समाधान गर्न आफू लाग्नेसमेत नगरप्रमुख राउतले बताए।

नगरपालिकाका अन्य स्थानमा घरबाटै न्यूनतम प्रतिलिटर रु ६० भन्दा बढीमा बिक्री भइरहेको र प्रतिलिटर रु ५२ सस्तो भएको भन्दै मूल्यमा एकरुपता, चिस्यान तथा संकलन केन्द्रको स्थापना र बजारीकरणमा नगरपालिका तयार रहेको उनले बताए। यस्तै सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले किसानले दूध बिक्री नभएको गुनासो गरेको र उन्नतशील कृषि तथा उद्यमशील सहकारी संस्थाले केही प्रतिशत रकम लगानी गरे आफूले स्थानीयस्तरमा नै चिस्यान केन्द्रको स्थापना गर्न सहयोग गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .