कारोबार


बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न प्रभावकारी कनेक्टिभिटी आवश्यक : ढकाल

बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न प्रभावकारी कनेक्टिभिटी आवश्यक : ढकाल

नेपालखबर
जेठ ३०, २०८० मंगलबार १९:१७, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरुमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताएका छन्।

मंगलबार भारतको कलकत्तामा बिमस्टेक बिजनेस कन्क्लेभको अन्तर्राष्ट्रिय व्यापार मञ्च विशेष सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न राम्रा र प्रभावकारी सडक, जलमार्ग, रेलमार्ग जस्ता पूर्वाधारको आवश्यकता रहेको बताए।

‘यसका साथै, हवाई तथा डिजिटल कनेक्टिभिटी बढाउन, विद्यमान कनेक्टिभिटी पूर्वाधारमा सुधार गर्न र नयाँ पूर्वाधारहरु निर्माण गर्न बिमस्टेकमा रहेका देशहरुले संयुक्त रूपमा लगानी गर्न आवश्यक छ,’ उनले भने।

सहज ढुवानीका लागि सडक तथा बन्दरगाह जस्ता भौतिक पूर्वाधारको बृद्धि गर्नु आवश्यक रहेको बताउँदै उनले क्षेत्रीय मूल्य श्रृङ्खलाको विकासमा सहयोग पुर्याउन पूर्वाधारको विकास र स्तरोन्नति गर्न संयुक्त प्रयास गर्न सकिने पनि बताए।

‘उर्जासँग सम्बन्धित पूर्वाधारको विकास र ऊर्जा व्यापार सहित क्रस बोर्डर ऊर्जा सहयोग प्रवद्र्धनले क्षेत्रीय मूल्य श्रृङ्खलाहरूमा बढि मात्रामा ऊर्जा आवश्यक पर्ने उद्योगहरूको विकासलाई सहयोग पुग्न सक्छ’ उनले भने, ‘उदाहरणका लागि, नेपाल–बंगलादेश र भारतले नेपालको जलविद्युत बंगलादेशसम्म निर्यात गर्न जलविद्युत प्रसारण लाइनमा काम गरिरहेका छन् । यसले नेपालमा उत्पादित बिजुली भारत हुँदै बंगलादेशसम्म पुग्नेछ । यसलाई बिमस्टेकका अन्य राष्ट्र र त्यसभन्दा बाहिर पनि विस्तार गर्न सकिन्छ।’

कनेक्टिभिटी पूर्वाधारका अतिरिक्त, बिमस्टेक देशहरूले क्षेत्रीय व्यापार र लगानीलाई सहज बनाउन व्यापारमा लाग्ने विभिन्न गैर–भन्सार अवरोधहरू हटाउन र घटाउनु आवश्यक रहेको पनि उनले बताए।

बिमस्टेक राष्ट्रहरूले क्षेत्रीय मूल्य श्रृङ्खलाहरूको लागि अनुकूल वातावरण सिर्जना गर्न आफ्नो व्यापार र लगानी नीतिहरू सहज र सरल बनाउन सक्छन् भन्दै भन्सार प्रक्रियालाई सरल बनाउने, नीति नियमहरु सरल बनाउने र लगानी सहजीकरणका उपायहरु प्रवद्र्धन गर्ने जस्ता विषयहरु यसमा समावेश गर्न सकिनेमा ढकालले जोड दिए।

‘यस क्षेत्रको स्वतन्त्र व्यापार व्यवस्थाले सदस्य राष्ट्रहरूबीचको द्विपक्षीय र बहुपक्षीय व्यापार बढाउन सहज बनाउन सक्छ। नेपालले आफ्नो निर्यातमा लाग्ने कर हटाउने वा घटाएकोमा फाइदा लिन सक्छ, जसले गर्दा व्यापारको मात्रा बढ्छ र निर्यात आधारमा विविधीकरण हुन्छ’ उनले भने।

उनले क्षेत्रीय कनेक्टिभिटी र व्यापार सम्झौताले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न पनि मद्दत गर्ने बताए।

‘बिमस्टेक राष्ट्रहरुबीचको राम्रो कनेक्टिभिटी र व्यापार व्यवस्थाले एफडीआईलाई आकर्षित गर्न मद्दत गर्नेछ। बजार पहुँच सुधार गर्न तथा व्यापार अवरोधहरू कम गर्न सकेमा विदेशी कम्पनीहरूलाई अर्थतन्त्रका विभिन्न क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नेछ, जसले बिमस्टेक देशहरूमा आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्नेछ,’ उनले भने।

महासंघका अध्यक्ष ढकालले बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार र लगानीलाई प्रवद्र्धन गर्न बिमस्टेक बिजनेस फोरम गठन गर्न सकिने विचार पनि प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad