अब ठूला जहाज नेपालका विमानस्थलमा अवतरण गर्न नसक्दा भारत जानुपर्ने बाध्यता हटेको छ।
भारतले भैरहवामा मौसम खराब हुँदा जहाज ल्यान्ड गर्न सकिने इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) उपकरण सञ्चालनमा अनुमति दिएसँगै नेपालको बाध्यता हटेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भैरहवा विमानस्थलमा जडित आईएलएस प्रयोगमा अनुमतिले नेपाले भोग्दै आएको समस्या हटेको छ।
एक वर्षअघि सञ्चालनमा आएको विमानस्थल आईएलएस सञ्चालन गर्दा त्यसको सिग्नल सिमापारी भारतीय भूमिसम्म पुग्छ। गौतम बुद्ध विमानस्थलले त्यसको लागि सरकारमार्फत भारतसँग विभिन्न चरणमा वार्ता गरेपनि टुंगो लाग्न सकेको थिएन।
आईएलएस सञ्चालनमा नआउँदा मौसम प्रतिकूल हुँदा जहाज अवतरण गर्न समस्या भैरहेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा अवतरण गर्न नसक्ने जहाजले अब भैरहवामा अवतरण गर्नसक्ने दाबी गर्दै आएको थियो। तर भिजिबिलिटी कम हुँदा भैरहवामा अन्तर्राष्ट्रिय मात्रै नभई आन्तरिक उडानसमेत नियमित हुन रोकिएका थिए।
भिजिविलिटी कम हुँदा आईएलएस सञ्चालनमा नभएकाले भैरहवामा उडान गर्ने जजिरा एयरवेज र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान नै बन्द गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त पत्रकार सम्मेलनमा नयाँ बनेको भैरहवा विमानस्थलमा जडान गरेको आईएलएस प्रयोग गर्न दिएको जानकारी दिए।
‘बोर्डर नजिकै रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अनुमति दिएकोमा हामी भारतलाई कदर गर्न चाहान्छौं,’ पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भने, ‘आईएलएस सञ्चालन अनुमतिले एरोनोटिकल इन्फोरमेसन पब्लिकेसन, सुरक्षा र हवाई उडानमा सहज हुने छ।’
प्रधानमन्त्रीको भारत भ्रमणमा आईएनएससँगै हवाइ रुट मुख्य मुद्दा रहेको थियो। आईएलएस सञ्चालन अनुमति दिन भारतले सहमति जनाएपनि हवाइ रुटको विषय छलफलमा मात्रै सिमित रह्यो।
अहिलेकै अवस्थामा पश्चिमबाट आएका जहाज सिमरा पुगेर मात्रै भैरहवा अवतरण गर्न सक्छन्।
‘अब ८ सय मिटर भिजिविलिटी हुँदा जहाज अवतरण गर्न सक्छ’
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तराई क्षेत्रमा रहेकाले हिउँदको समयमा बढी हुस्सु लाग्छ। जसले आईएलएस बिना जहाजलाई नियमित अवतरण गर्न अप्ठेरो पर्छ।
हाल त्रिभुवन विमानस्थलमा भिजिविलिटी (जहाजदेखि धावनमार्गको दुरी) कम हुँदा अवतरण गर्न नसकेका जहाज भारतका विभिन्न विमानस्थलमा डाइभर्ट भई अवतरण गर्दै आएका थिए। भैरहवा विमानस्थल सञ्चालनमा आएसंगै काठमाडौंमा अवतरण गर्न नकसेका जहाज भैरहवा सहज रुपमै अवतरण गर्न सक्ने प्रधिकरणले दावी गर्दै आएको छ।
‘त्रिभुवन विमानस्थलमा आइएलएसको प्रयोगगरी १५ सय मिटरको भिजिविलिटी हुँदा जहाज अवतरण गर्न सक्छन्,’ प्राधिकरणमा उपमहानिर्देशक जगनाथ निरौलाले भने, ‘गौतमबुद्ध विमानस्थलमा ८०० मिटर भिजिविलिटीमा जहाज अवतरण गर्न सक्छन्।’
Shares
प्रतिक्रिया