ad ad

कारोबार


प्रधानमन्त्रीको भारत भ्रमणले लगानी बढाउँछ, निजीक्षेत्र उत्साहित छ : चन्द्र ढकाल

प्रधानमन्त्रीको भारत भ्रमणले लगानी बढाउँछ, निजीक्षेत्र उत्साहित छ : चन्द्र ढकाल

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल। तस्बिर : रासस


नेपालखबर
जेठ १९, २०८० शुक्रबार १२:९, काठमाडौँ

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणले नेपालमा लगानी बढाउने बताएका छन्। 

भारत भ्रमणका क्रममा दुवै देशका उद्योगी व्यवसायीको साझा मत र साझा चासोलाई एकै ठाउँमा राख्ने अवसर पनि पाएको उनले  बताएका छन्। 

 नेपाल र भारतीय उद्योगी-व्यवसायीको साझा प्रयासबाट नेपाल बिजनेस समिट आयोजना गरिएको थियो। समिटमा प्रधानमन्त्री दाहालसँगै भारतका उद्योगमन्त्री पियुष गोयल पनि उपस्थित थिए। 
  

ढकालले राष्ट्रिय समचार समितिसँग कुरा गर्दै  सरकारले निजी क्षेत्रलाई लगानीका लागि अभिप्ररित गरेको छ बताए। उनले निजी क्षेत्रबिना विकासप्रक्रिया अगाडि बढ्न नसक्ने भएकाले सरकारले पनि उत्साहित गर्ने काम गरेको बताएका छन्। 

‘आन्तरिक र बाह्य लगानीलाई थप सहजीकरण नगर्दासम्म मुलुकको विकास र समृद्धिले अपेक्षित गति लिन सक्दैन भन्ने कुरा त स्पष्ट नै छ र यो बुझाइ आमरूपमा सतहमा आएकै छ,’ उनले भने,‘यसबाट हामी उत्साहित पनि छौँ, देश निर्माणमा हामीले आफूलाई जिम्मेवार महसुस पनि गरिरहेकै छौँ।’

 प्रधानमन्त्री प्रचण्डले बिजनेश समिटमा भारतीय लगानीकर्तालाई जसरी खुल्ला हृदयसहित नेपालमा लगानी गर्न  आग्रह गरेका थिए। 
 
नेपालमा लगानी गरेका भारतीय कम्पनीले प्रगति  गरेको बताउँदै ढकालले सबैभन्दा बढी कर तिर्ने पाँच ठूला कम्पनीमध्ये तीनवटा भारतीय लगानीकै भएको उल्लेख गरे। 

‘भारतीय लगानीका कम्पनीले राम्रो प्रतिफल दिएका छन्। नेपालमा ठूला करदाता पनि उनै छन्’, उनले भने, ‘त्यसमा एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, डाबर नेपाल र युनिलिभरलगायत छन्। कुल राजस्वमा योगदान गर्नेमा पनि विदेशी कम्पनी धेरै छन्।’

नेपालमा जलविद्युत्, पर्यटन, सेवा क्षेत्र, भौतिक पूर्वाधार जहाँ लगानी गरे पनि हुने उनले बताए। ‘कृषि वा सेवा क्षेत्र जताततै लगानी गर्न सकिन्छ’, उनले भने, ‘वास्तवमा भन्ने हो भने हाम्रो जलविद्युत् क्षेत्रमा जुन खालको लगानीको अवसर छ, त्यसमा हालसम्म एक प्रतिशत पनि काम भएको छैन।’

नेपाल र भारतबीचको व्यापार तथा पारवहन सम्बन्ध अर्को विशिष्ट पाटो रहेको उनले बताए। ‘नेपालमा सामान उत्पादन गरेर भारतमार्फत निर्यात गर्दा पनि विश्वबजारमा प्राप्त भएका अनेकन लाभका हिसाबले पनि सहज छ’, उनले भने, ‘ड्युटी फ्रीका हिसाबले पनि उत्तिकै विशिष्ट छ। भारतीय लगानीकर्ताले नेपालमा लगानी गरे भने त असाध्यै ठूलो अवसर छ।’

 भारत भ्रमणका क्रममा व्यवसायीको चासो व्यापार घाटाको विषय पनि रहेको उनले बताए। जुन कुरालाई पछिल्लो सहमतिले ठूलो राहत दिने अध्यक्ष ढकाल बताउँछन्। 

‘जलविद्युत् क्षेत्रमा जुन खालको सहमति भयो, त्यसले अन्ततः निजी क्षेत्रको माग सम्बोधन गर्नेछ’, उनले भने, ‘भारत सरकारले १० वर्षमा १० हजार मेगावाट बिजुली ल्याउने जुन सहमति गरेको छ, त्यसले समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको छ।’

 अन्तरदेशीय प्रसारण लाइन, डिजिटल पेमेन्टका सम्बन्धमा भएको सहमतिले अर्को आयाम स्थापित गरिदिएको उनले बताए। 

‘एकीकृत जाँचचौकी, रेलमार्ग, पाइप लाइन, झुलाघाटमा पुल बनाउने सहमतिले धेरै राम्रो परिणाम दिन्छ’, उनले भने, ‘निजी क्षेत्रको मागलाई पनि यसले सम्बोधन गर्छ भन्ने लाग्छ।’

अन्तरदेशीयरूपमा भुक्तानीमा रहेको जटिलता पनि अब सहज हुने उनले बताए।

‘अब त्यसलाई यस खालको सहमतिले सहज बनाइदिएको छ। यसभन्दा पहिले निजी क्षेत्रका अन्य कम्पनीसँग यस खालको सहमति भए पनि सरकारीस्तरमा नहुँदा त्यसले गति लिनसकेको थिएन’, उनले भने, ‘आगामी दिनमा निजी क्षेत्रका अन्य कम्पनीलाई पनि यसमा थप काम गर्न सहज बनाउने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .