ad ad

कारोबार


बहुराष्ट्रिय कम्पनीहरुले समेत देखाउन सकेनन् लगानी ल्याएको प्रमाण

सूचनापछि प्रमाण नभएका ४ अर्ब ८९ करोड लगानी सरकारको सम्पर्कमा
बहुराष्ट्रिय कम्पनीहरुले समेत देखाउन सकेनन् लगानी ल्याएको प्रमाण

फाइल तस्बिर


दीपक भट्ट
जेठ १२, २०८० शुक्रबार ११:५९, काठमाडौँ

नेपालमा विदेशबाट लगानी भित्र्याएको प्रमाणपत्र देखाउन नसकेको ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको लगानी अहिले सम्पर्कमा आएको छ।

विभिन्न चरणमा लगानी भित्र्याएको बताएका बहुराष्ट्रिय कम्पनीदेखि नेपालमा चर्चित उद्योग व्यवसायहरुसँग समेत लगानी भित्र्याएको प्रमाण छैन।  

नेपाल सरकारले लगानी भइसकेकाको पूर्ण लेखाङ्कन गर्ने नीति अघि सारेको छ। नेपाल सरकारसँग अनुमति लिएर नै लगानी भएको तर प्रमाण नष्ट भएको वा प्रचलित कानुन बमोजिम विदेशी लगानी स्वीकृत गरी उद्योग दर्ता भई सेयर लागत समेत कायम भएका तर त्यसको प्रमाण नभएकाहरुलाई सम्पर्कमा आउन आग्रह गरेको थियो। 

सरकारले गत पुस ३ गते ३५ दिने सूचना जारी गरेर सम्पर्कमा आउन भनेको थियो। 

विशेषगरी विदेशी लगानी बापतको रकम नेपाल भित्र्याएको प्रमाण पेस गर्न नसकी नेपाल राष्ट्र बैंकबाट लेखाङ्कन तथा लेखाङ्कन समर्थन नभएका उद्योगको सेयर खरिद बिक्री पुनर्लगानी, लगानी फिर्ता लैजाने लगायतका प्रक्रिया अपनाउन सहजीकरणको लागि भन्दै नेपाल सरकारले सूचना जारी गरेको थियो। 

पुनर्लगानी, लगानी फिर्ता लैजानेलगायतका उद्योग प्रशासनका विषयहरुलाई नीतिगत तहमा समाधान गर्ने प्रयोजनार्थ उद्योग विभागले पुस ३ गते सूचना जारी गरेको थियो। ३५ दिने मिति तोक्दै जारी गरेको सूचना अनुसार अहिले ४ अर्ब ८९ करोड लगानी लेखाङ्कनको लागि आवेदन आएको छ। 

उद्योग विभागमा आएको विवरण अनुसार ८१ वटा कम्पनीमा भएको लगानीको लेखाङ्कन भएको छैन। यसरी प्रमाण नभएका कम्पनीहरुमा कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालदेखि याक एन्ड यती होटलसम्म छन्। 

लेखाङ्कन भएको अर्थात् विदेशी लगानी भित्र्याएको प्रमाण नभएका मुख्य कम्पनीहरुमा सोलार फार्म प्रालिमा ६६ प्रतिशत विदेशी लगानी छ। त्यसमा ३३ करोड लगानी नेपाल भित्रिएको प्रमाण छैन। बोटलर्स नेपालको कुल विदेशी लगानी ७६ दशमलव २ प्रतिशत छ। त्यसमा १९ करोड ४८ लाख विदेशी लगानी नेपाल ल्याएको प्रमाण छैन। 

त्यस्तै, डाबर नेपाल, जसको विदेशी लगानी ९७ दशमलब ५ प्रतिशत छ। त्यसमा ७ करोढ ९८ लाख रुपैयाँ लगानीको प्रमाण देखिँदैन। 

याक एन्ड यती होटल लिमिटेडमा शतप्रतिशत विदेशी लगानी छ। २ करोड ५१ करोड रुपैयाँ विदेशबाट लगानीको रुपमा ल्याएको रकमको प्रमाण छैन। 

तारागाउँ रिजेन्सी होटल लिमिटेडले हायात होटल सञ्चालन गरेको छ। त्यसमा १५ दशमलब ४ प्रतिशत लगानी विदेशी छ। त्यसमा १ अर्ब ८८ करोड रुपैयाँ विदेशबाट ल्याए पनि त्यसको प्रमाण देखिएको छैन। 

त्यस्तै, भृकुटी पल्स नवलपरासी, इस्टर्न सुगर, श्रीराम सुगर, होटल एभरेस्ट, टाइगर टप्स रिसोर्ट लगायत ८१ कम्पनीले आफूले विदेशबाट लगानी ल्याए पनि सबै रकमको प्रमाण नभएको बताएका छन्। 

यी लगानीलाई औद्योगिक प्रबर्द्धन बोर्डको बैठकमा लगेर लेखाङ्कन गराउने सरकारको तयारी छ। बोर्ड उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको नेतृत्वमा रहन्छ। उक्त बोर्डले लेखाङ्कनको निर्णय गर्न सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .