ad ad

कारोबार


लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्छ : अर्थमन्त्री महत

लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्छ : अर्थमन्त्री  महत

नेपालखबर
बैशाख २४, २०८० आइतबार १३:२२, काठमाडौँ

अर्थमन्त्री प्रकाशशरण महतले लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्ने बताएका छन्।

अर्थमन्त्री महतले बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको भन्दै लचिलो मौद्रिक नीति आवश्यक रहेको बताएका हुन्।

 ‘हामीले बित्त नीतिबाट पुँजी परिचालन गर्न सकेनौँ, अर्को कोरोना महामारीको क्रममा मौद्रिक उपकरणमार्फत अत्यधिक कर्जा प्रवाह छ’ उनले भने, ‘त्यसैले अर्थतन्त्रमा शिथिलता देखिएको छ। आज देखिएको समस्या समाधान बित्त नीति भन्दा पनि मौद्रिक नीतिले गर्न सक्छ।’

उनले थपे, ‘अहिले हामीसँग फिस्कल स्पेस छैन। फिस्कल स्पेस पनि बढाउनु पर्छ। तर, अहिले मोनिटरी स्पेसमार्फत अर्थतन्त्र चलायमान हुन सक्छ।’

राष्ट्र बैंकका अधिकारीहरुले यो महिनाको अन्त्यसम्ममा मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिने उनको भनाई छ। राष्ट्र बैंकले लचिलो मौद्रिक लियो भने ब्याजदर घट्ने मन्त्री महतको विश्वास छ।

फिस्कल स्पेसमार्फत पुँजी परिचालन गर्न सक्ने अवस्था नभएकाले लचिलो मौद्रिक नीति लिँदै मौद्रिक उपकरणमार्फत आर्थिक गतिविधि बढाउनु गर्ने देखिएको उनले बताए।

उनले भने, ‘पूँजी प्रवाहका लागि मौद्रिक नीति छिटो ल्याउन जरुरी छ। आर्थिक नीतिमार्फत हामीले पूँजी प्रवाहलाई व्यापक बनाउनुपर्नेछ। आउँदो वर्ष हामीले अर्थतन्त्रलाई गतिशीलताको बाटोमा लगे पनि राजश्वमा व्यापक वृद्धि हुने अवस्था छैन। राजश्व अवश्य बढाउँछौं, तर हामीले सोचजस्तो एक वर्षभित्रमै व्यापक वृद्धि सम्भव हुन्छ भन्ने लाग्दैन।’

अर्थतन्त्रकै गतिशीलताका आधारमा राजस्व वृद्धि हुने उनको बुझाई छ।

‘लगानी आउन थाल्यो, उद्योग व्यावसाय बढ्यो, रोजगारी सिर्जना भयो, आम्दानी बढ्न थाल्यो भने मात्र राजस्व बढ्छ। राजश्व वृद्धिका लागि केही समय लाग्छ। यसका लागि अथक प्रयास सरकारले गर्छ’ डा. महतले भने, ‘पूँजीगत खर्च हामीले विनियोजन गर्छौं, त्यसको प्रभावकारिता बढाउन सरकारले सम्पूर्ण ध्यान केन्द्रित गर्छ।’

उनले कामप्रति भएको उदासिनता स्वीकार्य नहुने बताए। बजेट विनियोजन गरेको पहिलो दिनबाटै काम गर्न सुरु गर्नुपर्ने आवश्यता रहेको उनको भनाई छ।

‘तेस्रो चौमासिक सकिँदा पनि खर्च शून्य छ। अब पूँजीगत खर्च गर्नुपर्यो, अब ठेक्का लगाउनु पर्यो, अब बजेट सुनिश्चित गर्दिनु पर्यो भनेर मन्त्रालयबाट आफूकहाँ फाइल आएको आएइ छ’ उनले भने, ‘हामीले पहिलो दिनबाटै काम गर्नुपर्ने आवश्यकता छ। कामप्रति जुन उदासिनता छ, त्यो स्वीकार्य छैन।’

सरकार आफैँले सबै कुरा गर्न सम्भव छैन भन्दै उनले निजी क्षेत्रको सहयोग, बैंकिङ क्षेत्रको सहयोग र सबै क्षेत्रको सहयोगबाट हामी फराकिलो र समावेशी आर्थिक वृद्धि, रोजगारी सिर्जना गर्न सम्भव हुने बताए। यसमध्ये पनि बैंकिङ क्षेत्रको ठूलो भूमिका रहने उनको भनाई छ ।

उनले भने, ‘बचत र ऋणको जुन स्पेस छ, त्यसमा पुनर्विचार गर्नुपर्ने आवश्यकता छ। बचत ब्याज घटिसकेको छ, ऋणको ब्याज पनि चाँडै घटाउनु हुनेछ भन्ने  विश्वास छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .