सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत् तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि ठाउँमा बाह्य विज्ञापन गर्न नपाइने भएको छ।
काठमाडौँ महानगरपालिकाको स्थानीय राजपत्रमा समावेश ‘काठमाडौँ महानगरपालिका बाह्य विज्ञापन नियमन निर्देशिका २०७९’ मा यससम्बन्धी व्यवस्था गरेको हो।
निर्देशिकामा बाह्य विज्ञापनसम्बन्धी व्यवस्था, विज्ञापन गर्न निषेध, विज्ञापन गर्न नहुने, ग्राह्य नहुने विषय, निषेधित क्षेत्र घोषणा गर्न सक्ने, विज्ञापन बोर्ड, परिचयपाटी, नियमन समिति गठनलगायत व्यवस्था छन् ।
नियमन समितिको काम, कर्तव्य र अधिकार, विज्ञापन करसम्बन्धी व्यवस्था, स्थानान्तरणसम्बन्धी व्यवस्था, विज्ञापन कल्याण कोष सञ्चालन, बाह्य विज्ञापनका लागि अनुमति दिन नसकिने, विज्ञापन खारेज, वातावरणमैत्री विज्ञापनको प्रवर्द्धन, प्रोत्साहनलगायत प्रबन्ध छन्।
प्रचलित कानुन तथा निर्देशिकाको प्रतिकूल हुने विज्ञापन सामग्रीलाई न्यायिक समितिले १ लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था निर्देशिकाले गरेको छ। महानगर क्षेत्रभित्र विज्ञापन गर्ने प्रयोजनका लागि कुनै पनि स्थानमा द्वार तथा स्टल निर्माण गर्ने, स्टिकर टाँस्ने, वाल पेन्टिङ, पोष्टरिङ, पम्प्लेटिङ, पर्चा वितरण, ब्यानर टाँस्ने माध्यमलाई अनुमति दिइनेछैन।
यसअनुसार विज्ञापनसम्बन्धी संघीय र प्रदेश कानुनविपरीत हुने, धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल, विश्व सम्पदा क्षेत्रमा सूचीकृत मौलिक संरचना वा संस्कृतिमा प्रतिकूल असर हुने विज्ञापन गर्न पाइँदैन।
महानगरपालिकाको नगर सभाबाट स्वीकृत नीतिले कुनै स्थान विशेषमा रोक लगाएको भए यस्तो स्थानमा विज्ञापन गर्न पाइँदैन।
विज्ञापन राख्ने ठाउँ १२ फिटभन्दा कम उचाइमा रहेमा, नक्सापास नभएको संरचनामा, प्राविधिक रुपमा सबल नभएको भवनमा, बाहिरी रुपमा रङ्गरोगन नगरिएको भवनमा, हेर्दा दुरुस्त नदेखिने भवनमा विज्ञापन बोर्ड राख्न पाइँदैन। कुनै घर वा भवनको बार्दली, झ्याल, ढोका, भेन्टिलेटर छेकेर हावा वा प्रकाश छेकेर बोर्ड राख्न पाइँदैन ।
मल, सुपर मार्केट र बहुतले व्यावसायिक भवनबाहेकका पुरातात्विक महत्वका क्षेत्र, प्रशासनिक क्षेत्र, सम्पदा क्षेत्र, कूटनीतिक क्षेत्रमा र त्यसको १ सय मिटरभित्रको दूरीमा बोर्ड राख्न पाइँदैन।
Shares

प्रतिक्रिया