वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाईदिन्छु भन्दै नगद १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका–३ घर भई हाल ललितपुरको ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४६ वर्षीय एकराज नेम्बाङ रहेका छन्।
वैदेशिक रोजगारीमा स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख रूपैयाँ लाग्छ, स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्छु, मासिक २ लाख रूपैयाँ भन्दा बढी तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट उक्त रकम ठगी गरेका प्रहरीले जनाएको छ।
फरार भएका नेम्बाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया