सेयरबजारमा लगातार तेस्रो दिन गिरावट आएको छ।
नेप्से मंगलबार फेरि ५.२० अंकले घटेर १८६६.६८ विन्दुमा ओर्लिएको हो।
यसअघि आइतबार २३.२४ अंकले र सोमबार १६.९१ अंकले सूचक घटेको थियो।
सूचकसँगै कारोबार रकम पनि ओर्लिएको छ। आज ९१ करोड ७६ लाख रुपैयाँको मात्र कारोबार भएको छ। आइतबार कारोबार रकम १ अर्ब १६ करोड र सोमबार ९१ करोड ५१ लाख रहेको थियो।
योसँगै मंगलबार ११६ कम्पनीको सेयर घटेको, ८६ वटाको बढेको र १५ वटाको उही मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। नेप्सेका अनुसार तेस्रो कारोबार दिन २६४ कम्पनी कारोबारमा सामेल थिए।
मंगलबार पनि कालिञ्चोक दर्शनको सेयर ९.९८ प्रतिशतले बढ्दा लगानीकर्ताले २३.४० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। त्यस्तै सानिम ग्रोथ फन्डका लगानीकर्ताले पनि ८.९३ प्रतिशत आम्दानी गरेका छन्। बाँकी लगानीकर्ताले त्योभन्दा कम दरमा आम्दानी गरेको नेप्सेले जनाएको छ।
यता प्रभु बैंक डिबेन्चरका लगानीकर्ताले आज पनि धेरै गुमाएका छन्। ९.२९ प्रतिशतले सेयर मूल्य घटेपछि लगानीकर्ताले सर्वाधिक गुमाएका हुन्।
मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको हो।
Shares

प्रतिक्रिया