रसुवागढी नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ। यसअघि आंशिकरुपमा सञ्चालन हुँदै आएको सो नाका आजबाट दुईतर्फी सञ्चालनमा आएको हो।
नाका पूर्ण रूपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्।
चिनियाँ राजदूत चेन सोङले बधाई दिँदै यसले द्वीपक्षीय सहयोगलाई अझै प्रगाढ बनाउने उल्लेख गरेका छन्।
‘बधाई छ! जिलोङ (रसुवा) बन्दरगाहमा आजदेखि यात्रु ओसारपसार सुचारु भएको छ। रसुवा पुल पार गरेर चीन प्रवेश गरेका नेपाली साथीहरूको पहिलो समूहलाई स्वागत,’ उनले भनेका छन्, ‘यसले द्विपक्षीय सहयोगलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु।’
भिडिओः
नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताएका छन्।

उक्त नाकाबाट आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ।
रसुवागढी–केरुङ नाकाबाट हुने व्यापारमा पनि चीनले लामो समय रोक लगाएको थियो। ३ वर्षयता ठप्प भएको उक्त नाका गत पुस १३ बाट सञ्चालनमा आएको थियो।
सोही दिन ६ वटा कार्गो ट्रक नेपाली सामान बोकेर चीनको केरुङ प्रवेश गरेका थिए। तर व्यापारमा भने उल्लेख्य सुधार देखिएको भने छैन।

Shares

प्रतिक्रिया