कारोबार


वर्ल्डलिंकले भित्र्यायो २ अर्ब विदेशी लगानी, इन्टरनेटमा अहिलेसम्मकै बढी

वर्ल्डलिंकले भित्र्यायो २ अर्ब विदेशी लगानी, इन्टरनेटमा अहिलेसम्मकै बढी

नेपालखबर
चैत ६, २०७९ सोमबार १७:४१, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले करिब २ अर्ब विदेशी लगानी भित्र्याएको छ।

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले वर्ल्डलिंकमा १ अर्ब ९८ करोड लगानी गर्ने भएका हुन्। 

सबैभन्दा बढी ग्राहक रहेको वर्ल्डलिंकले बेलायत सरकारको विकास वित्त संस्था बीआईआईबाट ८.४ मिलियन डलर अर्थात् १ अर्ब ८ करोड भित्र्याएको छ भने डोल्मा इम्प्याक्ट फण्डबाट ६.९ मिलियन डलर अर्थात् ९० करोड नेपाली रुपैयाँ भित्र्याएको हो। 

वर्ल्डलिंकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्टरनेट क्षेत्रमा अहिलेसम्मकै ठूलो विदेशी लगानी भित्र्याएको उल्लेख गरेको हो। 

वर्ल्डलिंकले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट सन् २०१९ मा १२ मिलियन डलर अर्थात् १ अर्ब ३५ करोड नेपाली रुपैयाँबराबरको लगानी कम्पनीले भित्र्याइसकेको छ । 

वर्ल्डलिंकका अनुसार पहिलेको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात् ३ अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ। 

वर्ल्डलिंक ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरु भएको सबैभन्दा ठूलो निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी हो । कम्पनीले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी देशभर इन्टरनेट विस्तारका गतिविधिहरुलाई गति दिने कार्य गरिरहेको जनाएको छ । 

वर्ल्डलिंकले देशको सबैभन्दा ठूलो रोजगार प्रदायक कम्पनी पनि भएको दाबी गरेको छ । कम्पनीमा हाल ५ हजार ५ सय कर्मचारीले रोजगारी पाएको जनाएको छ। 

वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्धनिर्देशक दिलिप अग्रवालले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्न र कर्मचारीहरुको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत गर्ने बताए। 

‘हाम्रा लगानीकर्ताको विश्वासमा आँच आउन नदिने कुरामा हामी प्रतिबद्ध छौँ,’ अग्रवालले भने,‘यस क्षेत्रमा हाम्रो २७ वर्षको हाम्रो समर्पण र दूरसञ्चार क्षेत्रमा विश्वासको परिणाम पनि यो लगानी हो भन्ने विश्वास छ।’

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले देखाएको हृदयपूर्ण सहायताले वर्ल्डलिंकलाई अन्तर्राष्ट्रिय स्तरको कम्पनीमा रुपान्तरण गर्ने लक्ष्य राखेको अध्यक्ष अग्रवालले बताए। 

‘यो साझेदारीले जुनसुकै बेला र जहाँ पनि जडान गर्ने हाम्रो उद्देश्यलाई अभिप्रेरित गरेको छ र नेटवर्कको थप विस्तारका लागि गति दिन थप उत्साह प्रदान गरेको छ,’ अग्रवालले भने। 

कर्णाली उच्च पहाडी र कम विकसित क्षेत्रमध्येको एक तथा कठिन भौगोलिक भूभाग भएपनि वर्ल्डलिंकको फाइबर टु दि होम (एफटीटीएच) मार्फत सेवा दिन सफल भएको जनाएको छ। कम्पनीसँग २० लाखभन्दा बढी होमपास (पोर्ट) को क्षमता छ।

वर्ल्डलिंकले साना तथा मझौला उद्यमी तथा घरपरिवारलाई भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने तथा गुणस्तरीय इन्टरनेटले उद्यमहरुको विकासलाई अन्तर्राष्ट्रिय बजारसँग पनि जोड्ने उनको भनाइ छ ।

कार्यक्रममा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टका प्राविधि र टेलिकमका प्रबन्ध निर्देशक अभिनव सिन्हाले वर्ल्डलिंकका अनुभवी संस्थापक र व्यवस्थापन टोलीको नेतृत्वमा कम्पनीको सेवा विस्तार र प्रभावबाट प्रभावित भइरहेको बताए। 

आफूहरुले सन् २०१९ देखि कम्पनीमा लगानी गरेसँगै उनीहरुले हजारौं घरपरिवार र व्यवसायहरुलाई इन्टरनेटमा जोड्दै उनीहरुको पहुँचमा उल्लेखनीय वृद्धि गरेको उनले बताए ।

‘हाम्रो दोस्रो लगानीले वर्ल्डलिंकलाई नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवाको साथमा पुग्न कठिन क्षेत्रमा थप प्रवेश गर्न, थप रोजगारी र स्थानीय अर्थतन्त्रमा वृद्धिलाई प्रोत्साहन गर्ने अवसरहरु सिर्जना गर्न सहयोग गर्नेछ,’ सिन्हाले भने ।
 
डोल्मा फण्ड म्यानेजमेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्राध्यापक टिम गोचर ओबीईका अनुसार छोटो अवधिको आर्थिक फड्को मार्ने नेपालको सबैभन्दा राम्रो मौका भनेको डिजिटल उद्योग नै हो । 

आफूहरुले प्रविधि लगानीमा असाधारण वृद्धि देखेको उल्लेख गर्दै उनले एआई सेवाहरुमा मात्र ५ हजारभन्दा बढी नेपालको लागि गुणस्तरीय रोजगारी रहेको बताए।

‘इन्टरनेटका कामहरु मुख्यतया सहरी क्षेत्रहरुमा सीमित छन्, जहाँ ब्रोडब्यान्ड छिटो र अधिक विश्वसनीय छ,’ उनले भने,‘वर्ल्डलिंकमा हाम्रो लगानी, हाम्रो साझेदारी ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टसँगसँगै रोजगारीहरुलाई थप क्षेत्रहरुमा पुग्न सक्षम बनाउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad