कामना सेवा विकास बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा बिहीबारका दिन काठमाडौं डिल्लीबजारस्थित अमृत भोग क्याटेरर्समा सम्पन्न भएको छ।
प्रविधिको स्तरोन्नति, नयाँ ग्राहक भित्र्याउन तथा व्यवसाय विस्तारको निमित्त बृहत् शाखा सञ्जाल एवं दक्ष तथा अनुभवी जनशक्ति प्राप्तिमा गरिएको लगानी आदिका बाबजुद यस आर्थिक वर्षको नाफाबाट ६.८ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको बैंकका अध्यक्ष सुदीप आचार्यले बताए।
उक्त साधारणसभाले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३ सय ५२ रुपैयाँको ६.८ प्रतिशतका दरले हुन आउने रकम १७ करोड २७ लाख ३३ हजार २ सय ८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ।
बैंकका अध्यक्ष्य आचार्यले उक्त साधारणसभामा बैंकको आर्थिक वर्ष २०७५÷०७६ को वासलात, नाफा÷नोक्सान हिसाब, नगदप्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गरेका थिए। साथै, बैंकले गरेका रणनीतिक लगानीबाट भविष्यमा दिगो प्रतिफल आर्जन गरी बैंकलाई अझै सवल, सक्षम र सुरक्षित बैंकको रुपमा स्थापित गर्नमा टेवा पुग्ने उक्त साधारण सभामा बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको दीर्घकालिन रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताउनु भयो ।
बैंकका अध्यक्ष्य सुदिप आचार्यको अध्यक्ष्यतामा बसेको साधारणसभामा बैंकका सञ्चालक चतुराखर अधिकारीले सेयरधनीलगायत उपस्थित सबैलाई मन्तव्यमार्फत स्वागत गरेका थिए। सञ्चालक भीम प्रसाद तुलाचनले धन्यवाद ज्ञापन गरेका थिए। सेयरधनीहरुले उठाएका विभिन्न जिज्ञासाहरुको जवाफ बैंक सञ्चालक समितिका अध्यक्ष्य आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले दिएका थिए।
काठमाडौं –३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११४ वटा शाखा तथा ६० वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सीआस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।

प्रतिक्रिया