ad ad

कारोबार


बाँकेमा गुणस्तरहीन सिलिन्डर बिक्री गर्न रोक

बाँकेमा गुणस्तरहीन सिलिन्डर बिक्री गर्न रोक

बाँके जिल्ला भेरी ग्यास र मनकामना ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गर्दै। तस्बिर : राकेशकुमार मिश्र/रासस


नेपालखबर
फागुन ६, २०७९ शनिबार १०:४७, बाँके

बाँकेमा दुईवटा बिक्री वितरण गर्ने ग्याँस उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिन्डर बिक्री वितरण गर्न रोक लगाएको छ। 

पछिल्लो समय ग्याँस पड्किएर हुने दुर्घटना बढेपछि सतर्कताका लागि बाँके जिल्लामा रहेका ग्याँस उद्योगमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा कैफियत भेटिएका सिलिन्डर बजार नपठाउन निर्देशन दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए।

उनका अनुसार जिल्लास्थित मनकामना ग्याँस उद्योगमा ग्याँस लिकेज टेस्टिङमेसिनलाई यथाशीघ्र प्रयोगमा ल्याउन र म्याद समाप्त भएका एक सय ६० ग्याँस सिलिन्डर, लिकेज, बिग्रेका, कुच्चिएका जोखिमयुक्त ५० सिलिन्डर र तत्काल म्याद सकिन लागेका करिब ५०  गरी जम्मा दुई सय १० ग्याँस सिलिन्डरलाई बिक्री वितरण नगर्न निर्देशन दिइएको छ। 

यसैगरी भेरी ग्याँस उद्योगमा रहेका म्याद सकिएका करिब ३ हजार सिलिन्डर, लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब दुई हजार पाँच सय, म्याद सकिन लागेका दुई सय सिलिन्डर बिक्री वितरण नगर्न संयुक्त बजार अनुगमन समितिले निर्देशन दिएको छ।

उपभोक्ता हित संरक्षणमा सरोकारवाला सबै सचेत हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता वसन्त गौतमले बताए। उनले भने, “ज्यान जानेसम्मका दुर्घटना निम्त्याउने, स्वच्छ खाद्यान्न उपलब्धता र प्रयोगको सुनिश्चिततामा सरोकारवाला जिम्मेवार र उपभोक्ता आफै जागरुक हुनुपर्छ, सचेत भइएन भने जोखिमका घटना बढन सक्छन्।”

ग्याँस सिलिन्डरका विषयमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले सार्वजनिक महत्वको विषयको रिटमा सुनुवाइ गर्दै यसअघि नै सिलिन्डरको तौल, गुणस्तर जाँच गर्ने तथा मापदण्ड पूरा गर्न निर्देशनात्मक आदेश गरेको अधिवक्ता विश्वजित तिवारीले बताए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .