ad ad

कारोबार


धितोपत्र बोर्डको अल्झनमा ‘अक्सन मार्केट’ : वर्षदिनदेखि अड्कियो कार्यविधि

धितोपत्र बोर्डको अल्झनमा ‘अक्सन मार्केट’ : वर्षदिनदेखि अड्कियो कार्यविधि

केशर बोगटी
फागुन १, २०७९ सोमबार ८:४३, काठमाडौँ

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दोस्रो बजारमा लिलामीमार्फत सेयर किन्न पाइने विधि अर्थात् अक्सन मार्केट सञ्चालनमा ल्याउन खोजे पनि नियामक निकाय धितोपत्र बोर्डले अड्काइदिएको छ।  

नेप्सेले यससम्बन्धी कार्यविधि बनाएर गत वर्ष नै बोर्डमा पठाएको थियो। तर बोर्डले अक्सन मार्केट सञ्चालनको लागि स्वीकृति दिन आनाकानी गरेको हो।  

अक्सन मार्केट सञ्चालनमा आउँदा क्लोजआउट अर्थात् बिक्री गरेको सेयर समयमा नपठाएबापत तिर्नुपर्ने जरिवानाको समस्या निराकरण हुन्छ। त्यही कारण नेप्सेले हाल बजारमा देखिएको यो समस्या समाधान गर्न कार्यविधि बनाएर बोर्डसँग स्वीकृति मागेको हो।  

सेयरबजारमा क्लोजआउट समस्या व्यापक देखिएपछि अक्सन मार्केट सञ्चालनमा ल्याउने गरी कार्यविधि तयार पारेको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुली बताउँछन्। 

‘अक्सन मार्केट सञ्चालनको लागि कार्यविधि बनाएर गत वर्ष धितोपत्र बोर्डमा पठाएका थियौँ’, उनले नेपालखबरसँग भने, ‘तर हालसम्म स्वीकृति पाएका छैनौँ।’

बोर्डले स्वीकृति दिनासाथ अक्सन मार्केट सञ्चालनमा ल्याउने नेप्सेको तयारी छ। 

संसारका धेरै मुलुकमा यो बजार सञ्चालनमा आइसकेको छ। त्यही कारण पनि नेप्सेले ‘अक्सन इन्डेक्स’ नेपालमा पहिलोपटक सञ्चालनमा ल्याउन लागेको पराजुलीले बताए। 

‘बोर्डले स्वीकृतिमा ढिलाइ गर्नुहुन्न’
पूर्वगभर्नर चिरञ्जीवी नेपाल अक्सन मार्केट सञ्चालनको स्वीकृति दिन बोर्डले ढिलाइ गर्न नहुने बताउँछन्। 

‘अक्सन मार्केट सञ्चालनमा ल्याउने कुरा राम्रो हो’, उनले भने, ‘यो पहिले नै सञ्चालनमा आइसक्नुपर्ने थियो।’ 

उनले बोर्डले स्वीकृति दिन ढिलाइ गर्नुको कारण थाहा नपाएको बताउँदै अब ढिलाइ गर्न नहुने बताए। 

बैंकमा खाता खोलेर सेयरमा लगानी गर्न पाउने भएपछि मार्केट बढेको उल्लेख गर्दै उनले अब बजारमा अक्सन मार्केटलगायत इन्डेक्स आवश्यक रहेको बताए। 

उनका अनुसार अक्सन मार्केट सञ्चालनको लागि बोर्डले निःसन्देह अनुमति दिनुपर्छ। नेप्सेले पनि बोर्डलाई नयाँ इन्डेक्सबारे खुलेर बुझाउन सक्नुपर्ने उनको भनाइ छ। 

‘अब नेपाल स्टक एक्सचेञ्जले अक्सन मार्केट सञ्चालन ल्याउन बोर्डलाई कन्भिन्स गराउनुपर्छ’, नेपालले भने। 

नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवत बहादुर कार्की पनि अक्सन मार्केट बजारको आवश्यकता रहेको बताउँछन्। 

‘धेरै अगाडि नै अक्सन मार्केट सञ्चालनमा ल्याउने कुरा थियो’, उनले भने, ‘त्यो बेलामा नेप्सेले ढिलाइ गर्यो। यो त पहिले नै सञ्चालनमा आइसक्नुपर्ने थियो।’

यसले बजारलाई अगाडि बढाउन थप मद्दत मिल्ने कार्कीको भनाइ छ। 

‘अक्सन मार्केट सञ्चालनमा ल्याउँदा ब्रोकर र लगानीकर्तालाई दुवैलाई सजिलो हुन्छ’, कार्कीले थपे। 

उनका अनुसार अक्सन इन्डेक्स सञ्चालनमा ल्याएपछि लगानीकर्ताले समयमा सेयर पाउने वातावरण बन्छ।

‘कुनै सेयर बिक्रेताले समयमा सेयर ट्रान्सफर गरेन भने ब्रोकरले क्रेताको डिम्याटमा सेयर पठाउन सक्दैन’, उनले भने, ‘समयमा बिक्री गरेको सेयर ट्रान्सफर नगर्दा (क्लोज आउट)मा पर्दछ तर, उसले लगानीकर्ताको खातामा सेयर पठाउन सक्दैन। जसले ब्रोकर र लगानीकर्ता दुवैलाई समस्या भइरहेको छ।’

अक्सन इन्डेक्स सञ्चालनमा आएपछि ब्रोकरले लगानीकर्ताको डिम्याटमा समयमै सेयर पठाउनसक्ने उनले बताए। 

कसरी गर्ने दोस्रो बजारमा कारोबार? 
सामान्यतया सेयरबजारको दोस्रो बजारमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीको धितोपत्रको खरिदबिक्री हुन्छ। सेयर बेच्ने (बिक्रेता) र सेयर किन्ने (खरिदकर्ता) जोड्ने सिस्टम ब्रोकर कम्पनीले उपलब्ध गराउँछन्। 

हाल नेपालमा ५० ब्रोकर कम्पनी छन्। दोस्रो बजारमा कारोबार गर्न कुनै एक ब्रोकरमा हुनुपर्छ। खाता खोलिसकेपछि दोस्रो बजारमा सूचीकृत कम्पनीको सेयर खरिद–बिक्री गर्न पाइन्छ । ब्रोकरले उपलब्ध गराएको सिस्टममार्फत बिक्रेताले बिक्री अर्डर र खरिदकर्ताले खरिद अर्डर म्याच भएपछि कारोबार सम्पन्न हुन्छ। 

कारोबारसम्पन्नपश्चात् बिक्रेताले बिक्री गरेको सेयर कारोबार दिनको दोस्रो दिन (टी प्लस २ को १२ बजेभित्र) सेयर ट्रान्सफर (ईडीआईएस) गरिसक्नुपर्छ। कुनै बिक्रेताले ‘टी प्लस २’ को १२ बजेभित्र सेयर ट्रान्सफर नगरे क्लोजआउटमा परिन्छ अर्थात् पेनाल्टी तिर्नुपर्छ। बिक्रेतालाई पेनाल्टी तिर्नुपर्ने भए पनि लगानीकर्ताले समयमा सेयर नपाउने समस्या हुन्छ। 

अक्सन मार्केट सञ्चालनमा ल्याउँदा सो समस्याको निराकरण हुने अपेक्षा गरिएको छ । 

के हो अक्सन मार्केट? 
कारोबारमा सहभागी बिक्रेता कारोबारीले कारोबार दिनभित्र आफ्नो सेयर (धितोपत्र हस्तान्तरण) नगरेको वा गर्न नसकेको अवस्थामा ब्रोकर (धितोपत्र दलाल व्यवसायी)ले अक्सन मार्केटबाट खरिद गरी हस्तान्तरण गर्न सक्छन्। 

अक्सन मार्केटमा सामान्य लगानीकर्ता सहभागी हुँदैनन्। आफ्ना ग्राहकको दायित्व पूरा गर्ने गरी ब्रोकर (कारोबार सदस्य) मात्र अक्सन मार्केटमा सहभागी हुन पाउँछन्। अक्सन मार्केट सञ्चालनका लागि स्टक एक्सचेन्जले निश्चित समय तोक्न सक्छ। 

अक्सन मार्केटमा भएको कारोबारको राफसाफ ‘टी प्लस एक’ दिनभित्र गरिसक्नुपर्ने व्यवस्था हुन्छ । अक्सनमार्फत धितोपत्र खरिद गर्दा वास्तविक कारोबार मूल्यभन्दा बढीमा धितोपत्र खरिद गर्दा अपुग रकम ग्राहकले व्यहोर्नुपर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .