कारोबार


‘अक्सन मार्केट’ ल्याउँदै नेप्से, बोर्डले स्वीकृति दिए हट्नेछ राफसाफको समस्या

‘अक्सन मार्केट’ ल्याउँदै नेप्से, बोर्डले स्वीकृति दिए हट्नेछ राफसाफको समस्या

केशर बोगटी
माघ २५, २०७९ बुधबार ८:५५, काठमाडौँ

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अक्सन मार्केट अर्थात् लिलाममार्फत सेयर किनबेच हुने बजार सञ्चालनमा ल्याउने भएको छ। 

नेप्सेले अक्सन मार्केटको कार्यविधि बनाएर सञ्चालनको स्वीकृतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पठाएको हो। 

बोर्डले स्वीकृति दिएपछि सो अक्सन मार्केट सञ्चालनमा ल्याइने नेपाल स्टक एक्सचेञ्जका सूचना अधिकारी मुराहरी पराजुलीले बताए। 

संसारका धेरै मुलुकमा सञ्चालनमा आइसकेको अक्सन मार्केट नेपालमा पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको उनको भनाइ छ। 

‘अक्सन मार्केट सञ्चालनको लागि कार्यविधि बनाएर स्वीकृतिको लागि धितोपत्र बोर्डमा पठाएका छौँ’, पराजुलीले नेपालखबरसँग भने, ‘बोर्डले सञ्चालनको स्वीकृति दिएपछि अक्सन मार्केट सञ्चालनमा ल्याउँछौँ।’

उनका अनुसार अक्सन मार्केट सञ्चालनमा ल्याएपछि लगानीकर्ताले समयमा सेयर पाउने वातावरण बन्नेछ।

‘कुनै सेयर बिक्रेताले समयमा ईडीआईएस गर्दैनन्’, उनले भने, ‘समयमा बिक्री गरेको सेयर ट्रान्सफर नगर्दा (क्लोज आउट)मा पर्दछ।’
क्लोज आउटको व्यवस्था भए पनि लगानीकर्ताले खरिद गरेको सेयर समयमा नपाउने समस्या छ। 

उनका अनुसार अक्सन मार्केट सञ्चालनमा आएपछि लगानीकर्ताले समयमा सेयर पाउने व्यवस्था हुन्छ। 

‘कुनै सेयरधनीसँग १००० कित्ता छ, उसले १५ सय कित्ता बिक्री गर्यो भने उसले १००० कित्ता मात्र ट्रान्सफर गर्न सक्छ’, उनले भने, ‘सेयर किन्नेले त १५ सय किनेको छ र उसले १५ सय कित्ता पाउनुपर्छ। यस्तो अवस्थामा कारोबारमा समस्या नआओस् भनेर अक्सन मार्केट सञ्चालन ल्याउन लागिएको हो।’

यस्तो अवस्थामा अपुग सेयर ब्रोकरले अक्सन मार्केटबाट खरिद गरी समयमै लगानीकर्ताको डिम्याट खातामा पठाउन सक्छ। जसले गर्दा बजार सञ्चालन भइरहन्छ र यता लगानीकर्तालाई सेयर नपाउने समस्या पनि हुँदैन। 

संसारमा अन्य धेरै मुलुकमा अक्सन मार्केट सञ्चालनमा छन्। 

नेपालमा ब्रोकरहरुले क्रेताको डिम्याट खातामा हप्तौँपछि पनि सेयर जम्मा गर्ने गरेका छन्। 

‘बिक्रेताले समयमा सेयर ट्रान्सफर नगरेको भन्दै क्रेतालाई ढिलाइ गरी सेयर पठाउँछु भन्न ब्रोकरले पाउँदैन’, उनले भने, ‘लगानीकर्ताले खरिद गरेको सेयर समयमा पाउनुपर्छ।’

साथै, अक्सनविनाको बजार अपूरो हुने पराजुलीको भनाइ छ। 

त्यसो त नेपालमा पछिल्लो समय क्लोजआउट भोलुम समेत बढ्दै गइरहेको छ। 

क्लोजआउट भोलुम वृद्धि हुनु भनेको बिक्रेताले नभएको सेयर बिक्री गरेको भन्ने बुझिन्छ। 

यता ब्रोकरले समेत आफैँले सेयरधनीको सेयर बिक्री गर्ने र उधारोमा सेयर बिक्री गर्ने गरेका उदाहरण पनि छन्। 

के हो अक्सन इन्डेक्स? 
अक्सन मार्केट त्यस्तो बजार हो जहाँबाट तुरुन्त सेयर लिलामीमा खरिद सकिन्छ। यो सञ्चालनमा आउँदा बजारको राफसाफ सहज हुने नेप्सेले जनाएको छ। सेयरको राफसाफमा सहज हुने भएकाले अक्सन मार्केट आवश्यक छ। 

सेयरबजारमा सूचीकृत कम्पनीको जोड्ने काम ब्रोकर (धितोपत्र दलाल व्यवसायी)ले गर्छ। संसारभर कारोबार भएपश्चात् सेटलमेन्ट गरिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार नेपालमा पनि सेयरको कारोबार हुन्छ। संसारका अन्य मुलुक अक्सन मार्केट सञ्चालन भए पनि नेपालमा भने पहिलोपटक सुरु गर्न लागिएको हो। 

कुनै सेयरधनीले सेयर बिक्री गरेर ट्रान्सफर (ईडीआईएस) नगरे पनि ब्रोकर कम्पनीले क्रेतालाई सेयर उपलब्ध गराउनुपर्छ। त्यस्तो अवस्थामा ब्रोकरले अक्सन मार्केटबाट सेयर खरिद गरी क्रेतालाई समयमै सेयर उपलब्ध गराउन सक्छन्। 

तर, नेपालमा अक्सन मार्केट सञ्चालनमा नहुँदा ब्रोकर कम्पनीले क्रेताको डिम्याट खातामा सेयर पठाउन हप्तौँ दिन लगाइरहेका हुन्छन्। बिक्रेताले सेयर नदिएपछि ब्रोकरले त क्रेतालाई सेयर उपलब्ध गराउनुपर्छ। 

त्यस्तो अवस्थामा ब्रोकरले अक्सन मार्केटबाट सेयर खरिद गरेर क्रेतालाई उपलब्ध गराउनुपर्छ। कुनै कम्पनीको सेयरधनीले १००० कित्ता सेयर बेच्यो तर उसले सेयर ट्रान्सफर गरेन भने ब्रोकरले अक्सन मार्केटमा गएर सेयर खरिद गरेर सेटलमेन्ट गर्नसक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .