इटहरी उपमहानगरपालिका - २ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो। नाताले सुवेदी नन्द र मिश्र भाउजु छन्।
सेलरोटी बनाउन जान्ने उनीहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो। उनीहरु पनि आइलागेको जिम्मेवारी झर्को नमानी पूरा गरिदिन्थे।
विसं २०७३ सालमा उनीहरु सदस्य भएको ‘मायाको घर’ संस्थाको वार्षिकोत्सवमा सहभागीलाई के खुवाउने भनि पदाधिकारीबीच छलफल हुँदा नन्द भाउजुले सेलरोटी पकाएर खुवाउने जिम्मा लिए। वार्षिकोत्सवका सहभागी सबैले उनीहरुले पकाएको सेलसोटी औधी मीठो मानी खाए। सेलरोटीको स्वादका चर्चा इटहरी बजारमा फैलियो।
वार्षिकोत्सवमा सहभागी एकले आफ्नो घरमा पूजा रहेको भन्दै सोही समयमा एक सयवटा सेलरोटीको अर्डर दिए। नन्द, भाउजुले भोलिपल्ट सय सेलरोटी पकाएर सहभागीको घरैमा पुर्याइदिए। सेलरोटीको प्रसंशा त्यहाँ पनि भयो। यो उनीहरुको व्यावसायिक सुरुवात थियो। त्यसपछि इटहरी, धरान र विराटनगरका विभिन्न ठाउँबाट पूजाआजा, व्रतबन्ध, पास्नीका लागि अवसरमा सेलरोटीको अर्डर आउन थाल्यो।
इटहरी, धरान र विराटनगरका सुपरमार्केटले पनि नन्द, भाउजुले पकाएको सेलरोटी खोज्न थाले। नन्द, भाउजुले सोखका रूपमा थालेको सेलरोटीले विस्तारै व्यवसायको रूप लियो। उनीहरुले यसका लागि कम्पनी दर्ता गरे र सेलरोटी पकाउँदै बिक्री गर्न थाले।
उनीहरुले अहिले ‘अर्गानिक चन्द्रमा कोसेली तथा मसला उद्योग’मार्फत सेलरोटी पकाइरहेका छन्। यसका लागि पाँच जनाले जागिर पाएका छन्। सेलरोटी पकाउने काममा मात्र सीमित नभएर नन्द भाउजुको जोडीले उद्योगको दायरा फराकिलो बनाउँदै लगे। हाल उनको कम्पनीमा अनर्सा, सुत्केरी मसला, बेसार, मसौरा, मकैको चामल, जौ चना मिश्रित सातुको पनि उत्पादन भइरहेको छ।
हाल विराटनगर–२ स्थित शङ्करपुरमा आयोजना गरिएको ‘सीएनआई एक्स्पो–२०७९’मा पनि उनीहरुले स्टल राखेका छन्। स्टलमा पकाएको सेलरोटी चाख्न उपभोक्ताको बाक्लो भिड देख्न सकिन्छ।
एक्स्पोमा नन्द र भाउजुले दैनिक पाँच सयदेखि आठ सय सेलरोटी बिक्री गरिरहेका छन्। एउटा सेलरोटीलाई रु ३० मा बिक्री गर्छन्। भाउजु रिता मिश्रले संस्थामा खाजाका रूपमा पकाएर बाँडिएको सेलरोटीले आफूलाई उद्यमी बनाएको बताइन्।
उनले सेलरोटीको अर्डर अत्यधिक हुन थालेपछि उद्योग खोलेर काम सुरु सुरु गरेको बताइन्। अन्य खाद्यान्न सामग्रीसँगै उत्पादनको काम पनि थालेको बताइन्। मिश्रका अनुसार उनीहरुले हाल दैनिक तीन हजार सेल पकाउने र यसबाट सबै खर्च कटाएर मासिक ५० देखि ६० हजारसम्म बचत हुन्छ।
सीमित जनशक्तिका कारण उत्पादन विस्तार गर्न अझै नसकिएको उनको भनाइ छ। मिश्रले उधारोमा सामान लिने अनि समयमै पैसा नतिर्ने कतिपयको प्रवृत्तिका कारण समस्या भएको बताए। रासस
Shares
प्रतिक्रिया