ad ad

कारोबार


जसले एकै वर्षमा ढुकुटीमा साढे १६ अर्ब डलर थपे

जसले एकै वर्षमा ढुकुटीमा साढे १६ अर्ब डलर थपे

नेपालखबर
पुस १२, २०७६ शनिबार ११:२५,

रिलायन्स इन्डस्ट्रिज (आरआईएल) का प्रमुख मुकेश अम्बानीको ढुकुटीमा यो वर्षमात्रै १६ अर्ब ५० करोड अमेरिकी डलर थपिएको छ। उक्त सम्पत्ति थप भएसँगै उनी कुल ६० अर्ब ८० करोड अमेरिकी डलरको सम्पत्तिका मालिक हुनपुगेका छन्। यो ब्लुमबर्ग अर्बपति सूचीको तथ्यांकले देखाएको हो।

झण्डै ६१ अर्ब डलर सम्पत्तिका मालिक उनी विश्वकै १२ औँ धनी हुन्। उनको सम्पत्ति कमाउने व्यवसाय भने पेट्रोलियमदेखि टेलिकमसम्मको रहेको छ। फोर्ब्स म्यागजिनका अनुसार नोभेम्बर २९ सम्म अम्बानी विश्वको नवौँ धनी थिए।

पछिल्लोपटक सम्पत्ति थपिनुमा उनको रिलायन्समा रहेको सेयरको पछिल्लो वर्ष भएको मूल्यवृद्धिलाई मुख्य कारण मानिएको छ। भारतको नेशनल स्टक एक्सचेन्जको तथ्यांकअनुसार आरआईएलको सेयर पछिल्लो वर्ष ४१ प्रतिशतले उच्च भएको थियो।

गत मंगलबार यो कम्पनीको सेयर १५ सय ४४ भारुमा कारोबार भएर बजार बन्द भएको थियो। अघिल्लो कारोबारको तुलनामा यो १.७१ प्रतिशतले अर्थात् २६.९० भारुले कम हो। नोभेम्बर २८ मा कम्पनी १० लाख करोड भारु बजार पुँजीकरण पुर्याउने पहिलो भारतीय कम्पनी बन्न सफल भएको थियो। भारतमा आरआईएल अहिले उच्च मूल्यवान् कम्पनी बन्न सफल भएको छ।

यो वर्षको सुरुदेखि नै कम्पनीको सेयर बढेको बढ्यै छ। अक्टोबर १८ मा ९ लाख करोड बजार पुँजीकरण पार गर्ने पहिलो भारतीय कम्पनी बनेको थियो।

विगत वर्षमा कम्पनीले आफ्नो व्यवसायको विविधीकरण गरिरहेको छ। टेलिकमतर्फ जियो गिगाफाइबरसँगै ब्रोडब्यान्ड सेवामा कम्पनीले हात हालेको छ। यसबाहेक कम्पनीले खुद्रा बजारमा बलियो उपस्थिति समेत जनाएको छ। निकट भविष्यमै कम्पनीले विश्वका चर्चित इकमर्स कम्पनीहरु अमेजन र फ्लिपकार्टलाई टक्कर दिनसक्ने आँकलन गरिएको छ।

विश्वमा सबैभन्दा धनीमा माइक्रोसफ्टका बिल गेट्स पर्छन्। उनीसँग १ खर्ब १३ अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति छ। यो वर्ष गेट्सले २२ अर्ब ४० करोड सम्पत्ति बढाएका छन्। त्यस्तै अलिबाबा समूहका ज्याक माले यो वर्ष ११ अर्ब डलर थप गर्दा अमेजन सीईओ जेफ बेजोजले भने १३ अर्ब डलर गुमाएका छन्।

भारतमा आईओसीको विरासत खोस्न सफल
रिलायन्स इन्डस्ट्रिज लिमिटेडले भारतीय सरकारी कम्पनी इण्डियन आयल कर्पोरेसनलाई पछि पार्दै यो वर्ष फर्च्युन इण्डिया ५०० सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको थियो। भारतीय मिडियाहरुका अनुसार पछिल्लो १० वर्ष उक्त स्थान आईओसीले ओगट्दै आएको थियो । खुद्रा तथा टेलिकम कम्पनीको राम्रो व्यवसायका कारण रिलायन्सले यो स्थानमा आउन सफल भएको हो।

उक्त सूचीमा सरकारी कम्पनी आयल एण्ड नेचुरल ग्यास कर्पोरेसन तेस्रो स्थानमा छ  सन् २०१८ मा पनि यो कम्पनी तेस्रो स्थानमै रहेको थियो । यसपछि चौथो स्थानमा भारतीय स्टेट बैंक (एसबीआई), पाँचौँमा टाटा मोटर्स, छैठौँमा भारत पेट्रोलियम कर्पोरेसन रहेको बताइएको छ। सन् २०१८ र २०१९ को बीच यी कम्पनीहरुको वरीयतामा कुनै परिवर्तन नआएको बताइएको छ ।

सूचीमा सातौँ स्थानमा रहेको राजेश एक्सपोर्टस, आठौँमा टाटाा स्टिल, नवौँमा कोल इण्डिया, १०औँ स्थानमा टाटा कन्सल्टेन्सी सर्भिसेज, ११औँ स्थानमा लार्सन एण्ड टु्ब्रो रहेका छन् । यसबाहेक आईसीआईसीआई बैंक १२आँै स्थानमा, हिँडाल्को इन्डस्ट्रिज १३औँ र एचडीएफसी बैंक १४औँ स्थानमा रहेका छन् । फर्च्युन इण्डियाका अनुसार आर्थिक वर्ष २०१८र०१९ मा आरआईएलको आयमा ४१.५ प्रतिशत वृद्धि भएको छ । यो वृद्धिदर आईओसीको भन्दा ८.४ प्रतिशतले बढी हो ।

Related image

को हुन् अम्बानी?
सन् १९५७ अप्रिल १९ मा जन्मिएका अम्बानी एसियाकै धनी व्यवसायी हुन्। यमनको आदेनमा जन्मिएका अम्बानीको दुई दिदीबहिनी र एक जना भाइ छन्। जन्मिएको एक वर्षपछि उनका बाबु भारत फर्किएका थिए। उनी सानोमा हकी र फुटबल खेल्न औधी मन पराउँथे। सानोमा मुम्बईमा अध्ययन गरेका उनले युनिभर्सिटी अफ मुम्बईबाट केमिकल इन्जिनियरिङमा डिग्री लिएका थिए।

पछि उनले अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीमा एमबीए गर्न गए पनि सन् १९८० मा बुबा धिरुभाइ अम्बानीलाई रिलायन्स स्थापनामा सहयोग गर्न फिर्ता भए। उनले विस्तारै कक्षामा बटुलिने ज्ञानभन्दा जीवनको वास्तविक अनुभव नै महत्वपूर्ण कुरा हो भन्ने बुझ्दै गए। त्यसपछि बाबुकै पदचाप पछ्याउने क्रममा पारिवारिक व्यवसायमा भिज्दै गए। सन् १९८१ बाट सुरु भएको उनको व्यावसायिक करिअर रिलायन्स इन्डस्ट्रिजबाटै भयो। त्यतिबेला कम्पनीले पेट्रो केमिकल्स र रिफाइनिङ (प्रशोधन)को काम गथ्र्यो। खुद्रा व्यवसाय सँगसँगै थियो भने। रिलायन्स रिटेल यसकै सब्सिडरी कम्पनी हो। भारतमा यसको राम्रै पकड छ। सन् २०१६ सेप्टेम्बरमा टेलिकम्युनिकेसन क्षेत्रमा पनि कम्पनीले हात हाल्यो। छोटो समयमै दूरसञ्चार कम्पनी जियोले भारतमा प्रभाव जमाएको छ। केही वर्षयता अम्बानी फोर्ब्स म्यागजिनको अर्बपति सूचीमा पनि सुनिइरहने नाम बन्न सफल भएका छन्।

सन् २०१६ मा म्यागजिनको धनी सूचीमा ३८औँ वरीयता पाएका भारतीय यी धनी फोर्ब्सको विश्व शक्तिशाली मानिसको सूचीमा पनि पर्न सफल हुने एक मात्र भारतीय हुन्। सन् २०१८ जनवरीमा उनी फोर्ब्सको सूचीमा १८औँ वरीयतामा उक्लिएका थिए। उक्त वरीयता पाउँदा उनले चीनको चर्चित कम्पनी अलिबाबा समूहका ज्याक मालाई पछाडि पारे। उनले आईपीएलको स्वामित्व समेत लिइसकेका छन् भने केही वर्षयता भारतमा चर्चा बढिरहेको इन्डियन सुपरलिगका त उनी प्रणेता नै हुन्। उनी मुम्बाईमा १ अर्ब डलर मूल्यवान् आलीशान महलमा बस्छन्। यसबारे बेलाबखत समाचार समेत आइरहन्छ।

सन् २००२ जुलाई ६ मा उनको बुबाको मृत्यु भएपछि परिवारमा विवाद भयो। सोही विवादका कारण अनिल र मुकेशले व्यवसाय बाँडे। अम्बानीले रिलायन्स इन्डस्ट्रिजको स्वामित्व लिए। सन् १९८५ मा निता अम्बानीसँग विवाह गरेका मुकेशको दुई छोराहरु अनन्त र आकाश तथा एक छोरी ईशा छिन्।

चर्चाका पात्र
समाजमा धनी हुनु आफैँ एक चर्चाका विषय हो। मुकेशको हकमा चर्चा नहुने त कुरै भएन। १ अर्ब डलरको महलमा बस्ने अम्बानीले सन् २००७ मा श्रीमती अनितालाई ६ करोड डलरको एयरबस ए३१९ उनको ४४ औँ जन्मोत्सवमा उपहार नै दिएका थिए। उक्त विमानमा १ सय ८८ जनाले यात्रा गर्न सक्छन्। विमानभित्र स्याटेलाइट टेलिभिजन, वाईफाई, स्काई बार, कार्यालय, रुम, बेडरुमलगायतका विलासी सुविधा छन्।

सन् २००८ मा ११ करोड डलरमा आईपीएल टिम मुम्बई इन्डियन्स किन्नेबित्तिकै उनी विश्वकै धनी स्पोर्ट्स टिमका मालिक भएका थिए। अझ रोचक पक्ष त उनी शाकाहारी हुन् भने रक्सी त छुँदै छुँदैनन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .