केही समयअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच काममा तालमेल नमिलेका खबरहरु बाहिर आए।
विवाद बढ्दै जाँदा गभर्नर महाप्रसादलाई तत्कालीन सरकारले निलम्बन गर्ने निर्णय समेत गर्यो। त्यही सिलसिलमा महाप्रसाद अधिकारी नेकपा एमालेको विभागीय जिम्मेवारीमा समेत रहेको विषय बाहिर आएको थियो।
एमालेको पदीय जिम्मेवारीमा ‘एम अधिकारी’को नाम उल्लेख भएको बाहिरिएपछि यो नाम गभर्नरकै भएको भन्दै हंगामा नै भएको थियो।
त्यस बारेमा गभर्नर अधिकारीले अहिले पनि धेरै बोल्न नचाहने बताएका छन्।
‘सबैले मेरो आनीबानीदेखि प्रकृति थाहा पाएका छन्। म पेसागत हिसाबमा काम गर्छु। कसरी संस्थाको लिडरसिप लिन्छु भन्ने थाहा छ। त्यो बेला अन्य धेरै विवाद आइरहेका थिए’, उनले न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा भनेका छन्, ‘त्यही बीचमा त्यही कुरा ल्याइयो। मलाई जानकारी हुने कुरा भएन। म त्योभित्र छिर्न पनि चाहिन। मैले त्यस्तो जिम्मेवारी लिएको स्वीकारेको र सहभागी भएको अवस्था होइन।’
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग सम्बन्धको बारेमा भने उनी संस्थागत रुपले राम्रो समन्वय नै गरेको बताउँछन्।
उनले सोही अन्तर्वार्तामा भने, ‘अर्थ मन्त्रालय, अर्थमन्त्री र राष्ट्र बैंकबीच एक खालको सम्बन्ध रहन्छ। संस्थागत रुपमा समन्वयात्मक रुपमा काम गर्नुपर्छ। व्यक्तिगत रुपमा केही केसहरु परेर विवाद हुनु स्वाभाविक हो। तर संस्थागत हिसाबले मैले व्यक्तिगत रुपमा त्यस्तो अन्यथा सोचेको छैन।’
Shares

प्रतिक्रिया